धौवादीको फलाम खानी सञ्चालन तयारी

समाधान संवाददाता २०७६ मंसिर १९ गते १५:१०

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको नवलपुरको धौवादी फलाम खानी छिट्टै सञ्चालनमा आउने भएको छ । फलामखानीबाट फलामे छड र स्टिलका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थ बिलेट उत्पादन गर्ने योजना खानी तथा भूगर्भ विभागले अघि सारेको छ ।

उक्त खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादनका लागि मंसिर पहिलो साता कम्पनी रजिस्ट्रारको कार्यालयमा धौवादी फलाम खानी कम्पनी दर्ता भइसकेको छ । कम्पनीको ४ सदस्यीय सञ्चालक समितिसमेत गठन भइसकेको छ । सञ्चालक समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ र विभागका १÷१ प्रतिनिधि रहनेछन् भने सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा सञ्चालनमा आउने कम्पनीमा निजी क्षेत्रको प्रतिनिधित्व भने खोजिँदै छ । संघ, प्रदेश र स्थानीय तह गरी ३ तहका सरकारको ५५ प्रतिशत र बाँकी निजी क्षेत्रको लगानी रहनेगरी कम्पनी सञ्चालन हुने गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. गिरिधारि शर्मा पौडेलले बताए ।

Advertisement

कम्पनीको कामलाई अघि बढाउन समितिले अर्थ मन्त्रालयसँग २ अर्ब बजेट माग गरेको विभागले जनाएको छ । कम्पनीले फलाम कारखाना, फलामको प्रशोधन केन्द्र, कारखाना राख्ने स्थान, ऋण व्यवस्थापन, फलामको बजार मूल्य, फलामको सम्भाव्यता अध्ययन लगायत कार्यअघि बढाउने कामका लागि उक्त बजेट माग गरेको हो ।

नेपाल फलामे छड तथा स्टिलमा आत्मनिर्भर उन्मुख भए पनि अहिले बिलेट भारतबाटै आयात हुने गर्छ । हाल भारतबाट वार्षिक १२ देखि १३ लाख मेट्रिक टन बिलेट आयात हुँदै आएको छ । विभाग स्रोतका अनुसार फलाम उत्पादनबाट बिलेट बनाउने योजनाअघि बढेको छ । यसका साथसाथै त्यसबाट कुन कुन वस्तु बनाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । विभागका सूचना अधिकारी कृष्णदेव झाले चीन परीक्षणका लागि पठाइएको ५ हजार केजी फलामको रिपोर्ट आएपछि मात्रै सम्भाव्यता अध्ययनअघि बढाउने जानकारी दिए । अहिले चीनमा भइरहेको परीक्षणको प्रतिवेदन माघसम्ममा आउने र त्यसपछि सम्भाव्यता अध्ययन गरिने उनले बताए ।

Advertisement

धौवादीमा १० किलोमिटर लामो फलामखानी (फलामको मात्रा धेरै रहेको पहाड) छ । धौवादीको फलाम खानी १० किलोमिटर लम्बाइ, १५ देखि ३० मिटर चौडाइ र १ सय मिटर गहिरो छ । देशको सबैभन्दा ठूलो यो फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलाम रहेको अध्ययनबाट देखिएको छ । सामान्यतया ३ मेट्रिक टन ढुंगा पेल्दा १ मेट्रिक टन फलाम उत्पादन हुनुपर्ने भूगर्भविद् बताउँछन् ।

धौवादीको फलाम खानीमा २०६७÷६८ देखि नै अन्वेषण थालिएको हो । तर, २०७२÷७३ देखि मात्रै यसमा नियमित काम सुरु भएको छ भने सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमै उक्त खानीबाट व्यावसायिक फलाम उत्पादन गर्ने योजना पनि घोषणा गरेको छ ।

नेपालमै बिलेट उत्पादन भएमा अर्बौ रुपैयाँ विदेशिनबाट बच्ने स्टील उद्यमीहरूको धारणा छ । साखः ग्रुपका उपाध्यक्ष किरणभक्त साखःले अहिले फलामे छडको कच्चा पदार्थ बिलेट नेपालका केही उद्योगले उत्पादन सुरु गरे पनि अधिकांश भारतबाट आउने जानकारी दिए । नेपालमै बिलेट उत्पादनले उत्साहित बनाउने भन्दै उनले यसको प्रकृति, गुणस्तर लगायत विषयलाई हेरेर निजीक्षेत्रले उपयोगमा ल्याउन सक्ने उल्लेख गरे ।

‘देशमै भएको कच्चा पदार्थ उपयोग गर्दा लागत कम हुन्छ र उपभोक्तालाई सस्तोमा उपलब्ध गराउन सकिन्छ,’ उनले भने, ‘फलामे छडमा आत्मनिर्भर भएको अवस्थामा बिलेट उत्पादन गर्ने योजनाअघि आउनु निजी क्षेत्र तथा देशकै लागि लाभको विषय हो ।’

तपाईको प्रतिक्रिया