स्याबास् ! साम्बा

समाधान संवाददाता २०७६ मंसिर २० गते १२:४५

तस्बिरः युनिश गुरुङ

विकास रोकामगर
पोखरा

जारी १३ औं दक्षिण एसियाली अन्तर्गत पोखरामा भइरहेको महिला फुटबल खेलमा नेपालले माल्दिभ्सलाई ३–० गोलले पराजित गरेको छ । नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ३ गोल प्रहार गर्दै ह्याट्रिक गरिन् । योसँगै नेपालले पाइनल यात्रा तय गरेको छ ।

Advertisement

साम्बाले खेलको १६ औं मिनेटमा पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएकी थिइन् । उनले नीता बस्नेतको पासमा उनले हेड गोलमार्फत् सुन्दर गोल गरेकी हुन् । लगत्तै २० औं मिनेटमा दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर पारिन् । खेलमा नेपालले माल्दिभ्समाथि एकलौटी दबाब राख्न सफल भएको थियो । तर, पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा तेस्रो गोलका लागि अन्तिम समयसम्म पर्खिनु प¥यो ।

खेलको पहिलो हापमा २–० ले पछि परेको माल्दिभ्सले दोस्रो हापमा पनि राम्रो सुरुआत गर्न सकेन । तर, नेपालले पनि मौकाको फाइदा उठाउन सकेन । खेलको अतिरिक्त समयमा भने नेपालकै सावित्रा भण्डारीले तस्रो गोल गर्न गरिन् । अतिरिक्त समय ९१ औं मिनेटमा गरेको गोलसँगै जारी प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेकी छिन् ।

Advertisement

अतिरिक्त समयमा विपक्षी खेलाडीले साम्बालाई डिबक्स एरियाभित्र लडाएपछि नेपालले पेनाल्टीको मौका पाएको थियो । नेपालकी स्ट्राइकर भण्डारीले उक्त मौका छाडिनन्, र बललाई जाली चुमाइन् । योसँगै माल्दिभ्सले जारी प्रतियोगितामा दोस्रो हार व्यहोेरेको छ । यसअघिको खेलमा माल्दिभ्स भारतसँग ५–० ले स्तब्ध बनेको थियो ।

खेलपछि माल्दिभ्सका राष्ट्रिय महिला प्रशिक्षक बहमेद नासिदले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिए । उनले भने, ‘नेपाली टिम हामीभन्दा राम्रो छ भन्ने थाहा छ । तर, पनि हाम्रा खेलाडीले पनि उत्कृष्ट खेल देखाउन भने छाडेनन् ।’ उनीहरुले राम्रो रक्षात्मक खेल खेलेको प्रतिक्रिया दिए ।

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पहिलो हाफ सोचजस्तै भए पनि दोस्रो हाफमा केही कमजोरी देखिएको स्वीकारे । तर, फाइनलसम्म पुग्न ३ अंक चाहिएकाले त्यही अनुरुप नै खेलेको उनले बताए । ‘अवसर धेरै पायौं तर त्यो अवसर हामीले अर्को खेलमा इन्डियाका लागि साँचेर राखेका हौं,’ उनले भने ।

फाइनल यात्रा पक्का !
राउन्ड रोबिन आधारमा भएको खेलमा नेपाल र इन्डिया ६÷६ अंकसहित शीर्षस्थानमा छन् । दुवै टिमले श्रीलंका र माल्दिभ्सलाई हराउँदै समान अंकमा उभिएका हुन् । यससँगै दुवै टिम फाइनलमा भिड्ने पक्का भएको छ ।

तर, त्यसभन्दा अघि शनिबार समूह चरणको अन्तिम खेलमा इन्डिया र नेपाल भिड्नेछन् । श्रीलंका र माल्दिभ्स जीतविहीन भएकाले समूह चरणको अन्तिम खेलमा जसले जिते पनि दुवै टिम फाइनलमा पुग्ने पक्का गरेका हुन् ।

मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई १–० र भारतले माल्दिभ्सलाई ५–० गोल अन्तरले पराजित गरेका थिए । बिहीबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा इन्डियाले श्रीलंका माथि ६–० को फराकिलो गोलअन्तरले जितेको हो ।

नेपाल र इन्डिया दुवै देशले आफूहरु फाइनलमा पुगिसकेको भए पनि शनिबार हुने खेल महत्वपूर्ण हुने प्रतिक्रिया दिएका छन् । ‘समूहमा हाम्रो प्रतिस्पर्धी भनेकै नेपाल हो,’ टिम इन्डियाका प्रशिक्षक अहमद् नसिदले भने, ‘फाइनलमा के हुन्छ भन्ने थाहा पाउन पनि शनिबारको खेल महत्वपूर्ण छ ।’

नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक हरि खड्काले पनि शनिबार इन्डियासँग हुने स्पर्धा महत्वपूर्ण हुने बताए । ‘इन्डिया हाम्रो सधैंको बलियो प्रतिद्वन्द्वी हो । यसअघिका साग इतिहासलाई ब्रेक गर्न पनि यो खेल महत्वपूर्ण छ,’ उनले भने ।

सावित्रा भण्डारीको नयाँ कीर्तिमान
नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले जारी १३ औं सागमा नयाँ कीर्तिमान कायम गरेकी छिन् । उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने महिला बनेकी छिन् । कीर्तिमानपछि उनले भनिन्, ‘श्रीलंकाविरुद्ध खेल्दा नै तोड्छु भनेकी थिएँ तर पूरा हुन हुन सकेन, बल्ल आज पूरा भयो ।’

तपाईको प्रतिक्रिया