खिमविक्रम शाहीले खाए पद तथा गाेपनीयताकाे सपथ

समाधान संवाददाता, पाेखरा
बागलुङ प्रदेश सभा २ ‘ख’ बाट निर्वाचित जनमोर्चाका खिमविक्रम शाहीले पद तथा गोपनीयताको सपथ लिएका छन् । गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीबाट उनले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । सभामुख अधिकारीले ‘ईश्वरका नाममा’ भनेर वाचन गर्दा उनले ‘जनताका नाममा’ उच्चारण गरेका थिए ।
मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा सत्तारुढ नेकपा र राष्ट्रिय जनमोर्चाका तर्फबाट साझा उम्मेदवारको रुपमा उनी विजयी भएका हुन् । २ हजार ९७ मतान्तरमा उनले मुख्य प्रतिस्पर्धी कांग्रेसका जीतबहादुर शेरचनलाई पराजित गरेका हुन् । शाहीले ११ हजार २ सय ३५ मत पाउँदा कांग्रेस उम्मेदवार शेरचनले भने ९ हजार १ सय ३८ मत पाए ।
२०७४ को स्थानीय तह निर्वाचनमा बागलुङ निसीखोला गाउँपालिका अध्यक्षमा पराजित खिमविक्रम शाहीलाई वामगठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइएको थियो । उनी कांग्रेसका तारानाथ पौडेलसँग पराजित भएका थिए । राष्ट्रिय जनमोर्चाकै तर्फबाट २०७४ मा उक्त क्षेत्रबाट निर्वाचित टेकबहादुर घर्तीमगरको निधनपछि रिक्त पदमा जनमोर्चाकै शाहीलाई उम्मेदवार बनाइएको थियो ।
सपथपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार र प्रदेशसभाप्रति जनगुनासो बढेका बेला गरिमा बढ्ने गरी काम गर्न शुभकामना दिए । उनले भने, ‘गणतन्त्रलाई सुदृढ गराउन प्रदेश सभाले वान्छित सफलता पाउन सकेको छैन, समीक्षा गर्ने बेला भएको छ ।’ सुशासन स्थापित गर्न के कस्ता कानुन बनाइयो, सुखी नेपाली समृद्ध नेपालको अवधारणामा कति काम गर्न सकियो भनेर सोच्न उनले प्रदेशसभा सचिवालयसँग आग्रह गरे । उनले भने, ‘सबै खालका समस्या समाधानको थलो सडक र आन्दोलन होइन, संसद हो भनेर जस्टिफाइ हामीले गर्न सक्नुपर्छ ।’
कानुन निर्माणमो मुख्य दायित्वका साथ आएको सांसदले मेयर र मन्त्रीको जस्तो भूमिका नखोज्न पनि उनको आग्रह थियो । संघदेखि प्रदेशसम्मका सांसदलाई संघीयताबारे अभिमुखीकरण आवश्यक रहेको भन्दै उनले पञ्चायतको विरासत बहुदलमा, बहुदलको विरासत लोकतन्त्रमा देखिएकाले यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।
सभामुख नेत्रनाथ अधिकारीले संविधान प्रदत्त अधिकार रक्षाका लागि प्रदेश सभा सदस्यहरु लागीपर्नु आग्रह गरे । प्रदेश सभा सार्वजनिक लेखा समिति सभापति कुमार खड्काले गन्तव्यमा पुग्ने बाटोमा नवनिर्वाचित सदस्य शाहीको योगदानको अपेक्षा गरिएको बताए । राजनीति र सदन फरक पाटा भएकाले कतिपय अवस्थामा दलीय आग्रहबाट माथि उठ्दै जनताका समस्यालाई सर्वोपरी ठानेर काम गर्नुपर्ने सुझाव उनले दिए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया