संघीयता आए पनि स्वयंसेविका पीडत

समाधान संवाददाता २०७६ मंसिर २० गते १३:०५

राजन उपाध्याय
दुलेगौंडा

Advertisement

संघीयता कार्यान्वयनसँगै महिला स्वास्थ्य स्वयंसेविकाहरु राज्यको आखाँमा नपरेको गुनासो बढेको छ । शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखाले बिहीबार आयोजना गरेको १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसमा बोल्ने स्वयंसेविहरुले गुनासो गरेका हुन् । तल्लो तहबाट स्थास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याए पनि वडा तहले कुनै मूल्यांकन नगरेको उनीहरुको भनाई छ ।

महिला स्वास्थ्य स्वयंसेविका सरस्वती सिग्देलले राज्यको निर्णयलाई निशुल्क कार्यान्वयन गर्ने सेवीकालाई हेर्ने दृष्टिकोण फरक रहेको दुखेसो गरिन् । ‘हामी निस्वार्थ खटिएका हुन्छौं’ उनले भनिन, ‘तर तलब खाएर हिँडेका छन् भन्ने बुझाई धेरैमा छ ।’ हाम्रै प्रयास स्वरुप नेपालमा मातृ मृत्युदर र शिशु मृत्युदर घटेको छ,’ उनले थपिन्, तर यसको योगदानको कदर माथिल्लो तहले मात्र लिने गरेको छ ।’ उनले जनप्रतिनिधि आएपछि महिला स्वास्थ्य स्वयंसेविका को सिकाई र तालिममा कुनै सहयोग नभएको बताइन् ।

स्वयंसेविका सूर्यकुमारी सिग्देलले वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएपछि आफूहरुको भूमिका हुन छाडेको बताइन् । ‘वर्षौंदेखि हामी स्वयंसेविको रुपमा काम गर्‍यौं, स्वास्थ्यसँग जोडिएका कुनै पनि कार्यक्रममा हामीलाई सम्पर्क हुँदैन, उनले भनिन्, ‘तलब खाएकाहरुले काम पाउँदैनन्, हामी गाउँगाउँमा पुग्नुपर्छ, वडालेसमेत हामीलाई बेवास्ता गर्छ ।’

शुक्लागण्डकी नगरपालिकाकी मेयर किसान गुरुङले नगरपालिकाले स्वयंसेवीहरुको सम्मानमा कन्जुस्याई नगर्ने बताए । उनले स्वयंसेवीहरुको मेहनेतका कारण नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर घटेको उल्लेख गरे । ‘आधारभूत स्वास्थ्यका कारणले नगरमा ठूलो नोक्सानी हुनुहुँदैन,’ उनले थपे, ‘हामीसबैको समन्वय र सहकार्यले स्वास्थ्व नगरबासी बनाउने हो ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवबहादुर अधिकारीले स्वास्थ्यका विभिन्न अभियानका साथै प्राथमिक स्वास्थ्य उपचार र जनचेतना जगाउनमा महिला स्ययंसेवीको महत्वपूर्ण योगदान रहेकोे स्मरण गरे ।

Advertisement

शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले विगतको तुलनामा स्वयंसेवीलाई हेर्ने दृष्टिकोण राम्रो हुँदै गएको बताए । कार्यक्रममा नगरका १२ वटै वडाका १÷१ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो ।नगरमा कुल ५८ जना महिला स्वयंसेविका छन् । यसअघि दुलेगौंडाका विभिन्न भागमा प्लेकार्डसहित सचेतनामूलक र्‍याली निकालिएको थियो ।

नेपालमा ५१ हजारमहिला स्वास्थ्य स्वयंसेवीहरु छन् । सरकारले यो कार्यक्रम विसं २०४५ बाट सुरु गरेपनि दिवसको रुपमा विसं २०६० सालमा सुरु गरेको हो । ‘गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भूमिका’ भन्ने नाराका साथ देशभर दिवस मनाइएको छ ।

तपाईको प्रतिक्रिया