सादा पोसाकले बदनाम प्रहरी

समाधान संवाददाता २०७६ मंसिर २० गते १४:४३

सुरक्षाकर्मीको काम कानुन कार्यान्वयन गराई शान्ति सुरक्षा कायम गराउनु हो । यसैका लागि नेपाल सरकारले भिन्न स्वभाव र प्रकृतिका सुरक्षा निकाय स्थापना गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सैन्य प्रकृतिका फौज हुन् । ती वाहेक विशेष सूचना निगरानीका लागि राष्ट्रिय अनुसन्धान विभाग पनि छ । त्यसले पनि शान्ति सुरक्षासँग सम्बन्धित सूचना संकलन गरी गृह मन्त्रालयमा पठाउने गर्छ ।

हो, सुरक्षा निकायको उपस्थितिले आम सर्वसाधारणले शान्ति सुरक्षा महसुस गर्छन् । अनि आपराधिक कृयाकलापमा संलग्नलाई पनि उनीहरुको उपस्थितिले मात्रै पनि मनोवैज्ञानिक असर पारेको हुन्छ । अनि स्वभाविक रुपमा उनीहरुका गतिविधि कमजोर हुँदै जान्छन् । तर शान्ति सुरक्षा र कानुन कार्यान्वयनको जिम्मा पाएको आधिकारिक निकायका कर्मचारी नै गलत धन्दामा लाग्छन्, त्यति बेला व्यक्तिमाथि मात्र होइन पूरै संगठनमाथि दोष आइलाग्छ ।

यस्तै गतिविधिमा नेपाल प्रहरी पनि विवादित बन्दै आएको छ । सतही रुपमा कारवाही गरिएको भनेर प्रचार गरिए पनि भित्री रुपमा भने प्रहरी संगठनका उच्च अधिकारीले नै गलत काम गर्ने तल्लो तहका कर्मचारीलाई प्रश्रय दिँदै आएका घटना छिपेका छैनन् ।

Advertisement

सादा पोसाकमा खटिने प्रहरीले व्यवसायीबाट धम्क्याउँदै रकम असुली गर्ने घटना नौलो होइन । एकातिर प्रहरी नेतृत्व नागरिकमैत्री सेवाका लागि ‘मौसमी नारा’ लगाउँछ । अर्कोतिर बजारमा उनकै संगठनका कर्मचारी नियमित रुपमा हप्ता र महिनावारी असुली गरिरहन्छन् । यसबाट नेतृत्वकै कथनी र करणीमा एकरुपता नभएको प्रस्ट हुन्छ ।

अहिले कास्कीमा यस्तै १ घटना सार्वजनिक भएको छ । वडा प्रहरी कार्यालय बैदाममा कार्यरत असई कुलबहादुर रोकाले लेकसाइडको १ डान्सबारका कर्मचारीसँग रकम मागेको अडियो र रकम लिएको भिडियो बाहिर आयो । रोकालाई जिल्ला प्रहरी कार्यालयले विभागीय कारवाही थालिसकेको पनि दाबी गरेको छ । हुन त यसमा व्यवसायीहरु पनि निर्दोष छन् भन्न सकिन्न ।

Advertisement

प्रहरी प्रशासनबाट विभिन्न खालका फाइदा लिनकै लागि र आफ्ना प्रतिष्पर्धीलाई तुजुक देखाउनकै लागि व्यवसायी प्रहरीको तल्लो देखि माथिल्लो तहका कर्मचारीलाई प्रभावमा पार्न चाहन्छन् । प्रभावमा पार्ने मुख्य ‘मन्त्र’ नै पैसा हो । त्यही पैसाको लोभमा प्रहरी व्यक्तिगत र सांगठनिक रुपमा बदनाम हुँदै आएको छ ।

तिहारका बेला पनि कास्कीमै कार्यरत १ जुनियर प्रहरी अधिकृत र २ जवान जुवाखालबाट रकम लिएको आरोपमा निलम्बनमा परे । यसले के देखाउँछ भने प्रहरी संगठनमा कुलबहादुर प्रवृत्तिका धेरै व्यक्ति छन् र संगठनलाई स्वच्छ बनाउन उनीहरुलाई कारवाहीको विकल्प छैन । तर यहाँ त के सुनिन्छ भने जब चाडबाड आउँछ तब प्रहरी संगठनका प्रमुखमा प्रतिस्पर्धा हुन्छ रकम उठाउन । अनि उनीहरुको प्रतिस्पर्धाको घानमा तल्लो तहका कर्मचारी पर्छन् ।

प्रहरीको यो प्रवृत्तिलाई रोक्ने कसले ? अनि अचम्म त के छ भने यसरी सादा पोसाकमा खटिने प्रहरीका बारेमा गुनासो बारम्बार आइरहन्छ । अनि उसलाई कारवाही स्वरुप भन्दै आम्दानी कम हुने ठाउँमा पठाइन्छ । अनि अर्को हाकिम आउनेबित्तिकै त्यो प्रहरी फेरि पहिलाकै कार्यालयमा फर्किहाल्छ । किन भने त्यो ठाउँको सबै विवरण उहीसँग मात्र हुन्छ । शान्ति सुरक्षा र घटनाको अनुसन्धानमा नेपाल प्रहरी अब्बलमै दरिए पनि यस्ता घटनाहरुले पूरै संगठनलाई कमजोर बनाएको छ । यसमा नेतृत्वले बेलैमा विचार पुर्‍याउन जरुरी छ ।

तपाईको प्रतिक्रिया