—सम्पादकीय— सभामुखका गुनासा

समाधान संवाददाता २०७६ मंसिर २२ गते १३:५१

७ वटै प्रदेशका सभामुख पोखरामा भेला भएका छन् । अनुभव साटासाट गरे उनीहरुले । संघीय व्यवस्थामा मुलुक गइसकेको अवस्थामा प्रदेशमा भएका अभ्यासमा समानुभूति गरेको देखियो । मुलतः प्रदेशले अधिकार नपाएको, संघले बेलामा कानुन नबनाइदिँदा प्रदेशले कानुन बनाउन नपाएको लगायत गुनासा सभामुख छन् । गुनासो र समस्या नभएका संस्था बिरलै होलान्, सभामुखहरुका गुनासा नौला होइनन्, किन भने प्रदेश सरकारहरुले संघसँग यसअघिदेखि नै गुनासा गर्दै आएका छन् । ढिलै भए पनि सभामुखहरु भेला भएर अनुभाव साटासाट गर्नु आफैंमा स्वागतयोग्य कदम हो । मुख्यमन्त्रीहरुको यस्तै भेला पोखरामै भएको थियो, वर्ष दिनअघि नै । मुख्य न्यायाधिवक्ताहरुको भेला पनि पोखरामै भइसकेको छ । भेला हुनु, छलफल गर्नु, बहस गर्नु, र अनुभव साटेर निष्कर्ष निकाल्नु, उपाय खोजी गर्नु नै प्रजातान्त्रिक विशेषता हुन् ।

प्रदेश २ मा बाहेक सत्तारुढ दल नेकपाका सांसदहरुबाटै सभामुख चुनिएका छन् । प्रदेश २ मा भने राष्ट्रिय जनता पार्टीले सभामुख पाएको छ । पार्टी पृष्ठभूमि अलग भए पनि सभामुख आफैंमा तटस्थ अर्थात पार्टीविहीन पद हो । जिम्मेवारी पनि तटस्थ भएरै निर्वाह गर्नुपर्ने हो । प्रदेशको अनुभव पहिलोचोटि नेपालमा भएको छ, त्यसैले सभामुखहरुका लागि पनि यो नौलो हुनु स्वाभाविकै हो । तर नेपालमा प्रदेश सभा नभए पनि प्रतिनिधि सभा थियो, संविधान सभा थियो । त्यसका अनुभवी सभामुखहरु सबै जीवितै छन् । संघीय भए पनि प्रादेशिक भए पनि जिम्मेवारीका हिसाबले सभामुखको भूमिका उस्तै उस्तै हो । तसर्थ संघका पुराना तथा नयाँ सभामुखहरुसँगको अनुभव प्रदेशका लागि हितकर हुनसक्थ्यो । त्यसका लागि प्रशिक्षण र अनुभव साटासाटको चाँजो सरकारले पहिल्यै मिलाएको भए बेस हुन्थ्यो । हाला कि पोखरा भेलामा भने संविधान सभा अध्यक्ष सुवास नेम्बाङ आएर अनुभव सुनाएका छन् ।

सबै कुरा मानिसले जानेर आउँदैन । जीवन भनेको नै सिक्ने प्रक्रिया हो । अनुभव लिने प्रक्रिया हो । ज्ञान आर्जनको प्रक्रिया हो । सिक्ने सिकाउने व्यवस्था सरकारबाट मिलाइनु एउटा कुरा तर व्यक्ति आफैं जागरुक भए अझै बढी उपलब्धि हाँसिल हुन्छ । सभामुखहरुका हकमा पनि लागु हुने कुरा त्यही हो । सिक्ने र बुझ्ने कुरामा आफैं जागरुक हुँदा उपलब्धि हुन्छ । प्रदेश सभाहरुले कतिपय अवस्थामा थुप्रै त्रुटिपूर्ण कानुन पारित गराए । यसमा प्रदेश सांसदहरुलाई मात्रै दोषी करार गर्न सकिन्न । आखिर प्रदेश सभाको माउ भनेको सभामुख हो । सभामुखले प्रदेश सभाका विधेयक र त्यसलाई पारित गर्दाका प्रक्रियामा भाँती पुगे नपुगेको विचार गर्नैपर्छ । प्रदेश सभामा सभामुखको ठूलो भूमिका हुन्छ । सभामुख आफैंमा ज्ञानीमानीलाई दिइने प्रतिष्ठापूर्ण जिम्मेवारी हो । तर नेपाली राजनीतिकर्मी सबै पैसा चलाउन पाउने, अधिकार प्रयोग गर्न पाउने कार्यकारी भूमिकाको मात्रै खोजी गर्छन् । खासमा विद्वान राजनीतिकर्मीले त्यसो गर्दैनन् । सभामुख पदको गरिमा बुझ्ने र त्यसको सानमान राख्ने जिम्मेवारी अहिलेका सभामुखहरुको हो । जसलाई परम्परा बसाउने सुखद अवसर छ ।

तपाईको प्रतिक्रिया