उपल्लो मुस्ताङका कर्मचारी जाडो छल्न बेशी

समाधान संवाददाता २०७६ मंसिर २२ गते १६:०९

चिसो बढेपछि बन्द र रहेको लोघेकर दामोदरकुण्ड गाउपालिकाका कार्यालय । तस्विरः मनोहर ढुङ्गाना ।

एसके थकाली, जोमसोम

उपल्लो मुस्ताङका २ पालिका गत हप्तादेखि बन्द भएको छ । अत्यधिक मात्रामा चिसो बढेको र उपल्लो मुस्ताङीहरु जाडो छल्न बेशी झरेकाले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका दुवै बन्द भएको छ ।

Advertisement

हिउँदयामको चिसो बढेसंगै उपल्लो मुस्ताङका ९० प्रतिशत स्थानीयबासी बेशी झरिसकेका छन् । लोमान्थाङको छोसेर, छोनुप, समजुङ र चुमजुङ, न्याम्डो लगायतका स्थानीयबासी कार्तिक अगावै बेशी झरिसकेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिए । उनका अनुसार माटोको सहर लोमान्थाङ बजारका एकाध होटलहरु खुल्ला रहेपनि सबै स्थानीयबासी बेशी झरेका हुन् । यस्तै, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका यारा, घारा, ढि, सुर्खाङ, घमी, चराङ र मराङ लगायतका ७० प्रतिशत स्थानीयबासी बेशी झरिसकेका छन् । उपल्लो मुस्ताङमा केही घरकुरुवा बृद्धबृद्धा र पशुचौपाया रेखदेखमा खटिने गोठालाहरु मात्र बसेका छन् ।

उपल्लो मुस्ताङमा कार्तिकमै हिँउ परेको थियो । हिउदयामको मौसममा उपल्लो मुस्ताङीहरु जाडो छल्न बेशी झर्ने पूख्यौली परम्परा छ । पालिका भित्र बस्ने सबै स्थानीय बेशी झरेपछि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका गुमनाम भएको हो । पालिका मानवविहिन भएकाले कर्मचारी र जनप्रतिनिधि समेत बेशी झरेको लोमान्थाङ गाउपालिकाका अध्यक्ष सुवर्णकुमार बिष्टले जानकारी दिए । लोमान्थाङ र लोघेकर गाउँपालिकाका कर्मचारी जाडो छल्न मुस्ताङ सदरमुकाम जोमसोम, पोखरा र काठमाडाैं झरेका छन् । झरेका कर्मचारीले जनतालाई पुर्‍याउने आधारभुत सेवाहरु घुम्ती पालिकाको रुपमा सेवा प्रवाह गर्ने अध्यक्ष बिष्टले खुलाए ।

Advertisement

चिसोकै कारण उपल्लो मुस्ताङका २ पालिकामा संघ, प्रदेश र स्थानीयतहका विकास योजनाका काम ठप्पै भएको छ । उपल्लो मुस्ताङमा दिउँसो ० डिग्री र रातको समय माईनस १५ डिग्री पुग्ने गरेको छ । धारा र खोल्साखोल्सीको पानी समत बिहान उठ्दा बरफ बन्ने गरेको वाङ्चेन लोहाले जानकारी दिए । उपल्लो मुस्ताङका स्थानीयतहका अलवा अन्य सेवाप्रदायक संस्थाका कर्मचारी उपस्थिती न्युन भएको लोमान्थाङका स्थानीय लोहाले जानकारी दिए । उपल्लो मुस्ताङको साविक छोसेर, छोनुप र लोमान्थाङका स्वास्थ्य चौकीमा जम्मा ४ जना मात्र स्थानीय कर्मचारी रहेको लोमान्थाङका स्वास्थ्य संयोजक तेन्जिङ नर्वु गुरुङले बताए । लोघेरकका स्वास्थ्यकर्मी समेत बेशी झरेका छन् भने केही स्थानीयकर्मीले स्वास्थ्य चौकी धानेका छन् । यस्तै, चिसो बढेपछि छोसेर प्रहरी चौकी, छोनुप प्रहरी चौकी, सुर्खाङ प्रहरी चौकी र घमी प्रहरी चौकीका सुरक्षाकर्मीलाई समेत बेशी झारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिकामा संञ्चालित १० सामुदायिक विद्यालय र ४ वटा गुम्बा विद्यालय हिउदयामको जाडो छल्न पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा संञ्चालन गरेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख टंकराज बरालले जानकारी दिए । उनका अनुसार लोघेकरका ८ सामुदायिक विद्यालय मध्ये ६ वटा बेशी झरेको र २ विद्यालय एकसातापछि झर्नेछन् । घुम्तीमा झरेका विद्यालयले आपसमा विद्यार्थी मर्ज गरी कक्षा संञ्चालन गर्नै ईकाई प्रमुख बरालले उल्लेख गरे ।

परम्परागत रुपमा हिँउदयामको जाडो छल्न बेशी झरेका मुस्ताङीहरु पोखरा ,काठमाडाैं र भारतमा विभिन्न स्थानमा व्यापार गर्छन् । जाडो छल्न झरेका मुस्ताङी, सुरक्षाकर्मी, शैक्षिक संस्था र अन्य कर्मचारीमा चैत्र लागेका पछि साविक स्थानमा फर्किने गर्छन् ।

तपाईको प्रतिक्रिया