३ पटक सिलाएको जुत्ताले साग खेलेंः तारादेवी

समाधान संवाददाता २०७६ मंसिर २३ गते १२:२४

तस्बिरः युवराज गुरुङ ‘युनिश’

विकास रोकामगर
पोखरा

उनका १ जना गुरुले ११ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जुत्ता किनेका रहेछन् । तर, प्रयोग भएन । लामो समय कुनै कुनामा थन्केर बस्यो । करिब १ वर्ष पहिले उनै गुरुबाट त्यही ११ औं सागको जुत्ता उपहार पाइछन् ।

Advertisement

नेपालकी बलवान महिला भनेर चिनिने तारादेवी पुनले अहिले त्यही ११ औं सागमा किनेको जुत्ता लगाएर १३ औं सागमा कास्य जितेकी छन् । तर, जुत्ताको कथा भने अर्कै छ । सागको जुत्ता उनले ३ पटक सिलाएर लगाएकी हुन् । ‘अन्तिममा जुत्ता पनि चिप्लियो । त्यही भएर पनि होला टार्गेट पूरा गर्न सकिनँ,’ उनी भन्छिन्, ‘त्यो जुत्ता ३ पटक सिलाएँ । ग्लुले त कति चिप्काएँ, चिप्काएँ ।’

उनका लागि जुत्ता नआएको भने होइन, आएकै हो । तर, ३८ नम्बरको जुत्ता लगाउने मान्छेलाई पर्‍यो ४५ नम्बरको । त्यसपछि लगाउने कुरै भएन । भन्छिन्, ‘सोल पनि उप्किन लागिसकेको थियो । अन्तिममा आएर अर्को लगाउने कुरा पनि भएन । अभ्यासका क्रममा लगाएको त्यही जुत्ता लगाएर प्रतिस्पर्धा गरें ।’

Advertisement

तारादेवीका अनुसार उनले लगाएको जुत्ता नेपालमा पाइँदैन । काठको बलियो सोलजडित भएकाले सामान्य पसलमा सिलाउँदैनन् । ‘अरु जुत्ता भए त एकैछिनमा सिलाउँछन् । तर, यो काठको भएकाले सिलाउन पनि महाभारतै हुन्छ,’ भन्छिन्, ‘त्यही भएर धेरैपटक ग्लु लगाएरै भए पनि काम चलाएँ ।’ शनिबार प्रतियोगितामा भिड्दै गर्दा पनि उनको जुत्ताको सोल केही उप्किएको देखिन्थ्यो ।

कास्यमा सीमित भए पनि व्यक्तिगत हिसाबमा भने सुधार भएको तारादेवी बताउँछिन् । तर, त्यही दिनसाँझ उनीसँग भेट्दा केही अन्योलमा देखिन्थन् । कारण रहेछ, ‘साग पोसाक ।’

पोखरा माटेपानीस्थित केसी क्याटरिङमा भइरहेको भारोत्तोलन अन्तर्गतका सबै खेल आइतबार सकिँदा आयोजकको उर्दी, ‘अन्तिम दिन सबै साग खेलाडी पोसाकमा आउनू ।’ ताराले उही ठूलो पोसाक सानो बनाएर गइन् ।

सागका लागि आफूलाई आएको कुनै पनि पोसाक तारादेवी पुनको शरीरसँग मिलेन । उनकै शब्दमा भन्ने हो भने, उनका लागि ठूलोमात्रै होइन्, अति ठूलो पोसाक आएको छ । कुराकानीका क्रममा लगाएको पोसाक पनि १ जना बहिनीको मागेर लगाएको खुलाउँदै उनले भनिन्, ‘कता टेलर खोेजेर कुन भाग काटेर सानो बनाउने भन्ने तनाव भइसक्यो ।’ उनको आफ्नो ट्र्याकसुट त घुँडाभन्दा मुनि आउँछ ।

‘नाप्न त ३÷३ चोटी नापेको हो । तर, खै हामीले भन्नै मिस्टेक गर्‍यौं कि उनीहरुले नाप्नै मिस्टेक गरे,’ तारादेवी पीडा पोख्छिन्, ‘कि भारोत्तोलन खेलाडी सबै मोटोघाटो हुन्छन् भन्ने अनुमान लगाएर पठाएका हुन् ?’ उनले आफूलाई आएको कुनै पनि पोसाक नमिलेको सुनाइन् ।

‘टार्गेट पूरा गर्न सकिनँ’
‘टार्गेट त रजत पदक थियो । तर, खै कहाँनेर कमजोरी गरेछु थाहा छैन,’ पुनले आत्मसमीक्षा गरिन्, ‘गुरुले दिएको टार्गेट पनि पूरा गर्न सकिनँ ।’ टार्गेट पूरा गर्न नसक्नुको पछाडि अभ्यासकै क्रममा आफू बिरामी परेको समेत खुलाइन् ।

अन्तिम समयमा आएर भार उठाउँदा केही कमजोरी भएको पनि उनी स्वीकार्छिन् । ‘यो लेबलको पर्फमेन्स मेरो होइन । बिरामी नभएको भए अझैं राम्रो गर्न सक्थें जस्तो लागिरहेको छ,’ उनी भन्छिन्, ‘हुन त लास्टको लिफ्ट मैले बिगारेकै हो, त्यो स्वीकार्नै पर्छ मैले ।’

‘आमालाई खेल देखाउन पाएँ’
म्याग्दीको विकट गाउँमा छ तारादेवीको घर । फोन टिप्दैन । गाडी जाँदैन । उनकी त्यही गाउँमा बस्छिन् । र छोरीलाई भनिरहन्छिन्, ‘धेरै नखेल अब । गाउँ फर्की । बिहे गर् ।’ कहिलेकाहीं तारादेवीलाई आमाको मायाले सताउँदा फोन गर्न खोज्दा पनि लाग्दैन । नेटवर्कका लागि कुनै अर्को डाँडा उक्लिनुपर्छ ।’

तर, यसपटकको सागमा भने तारादेवीले आमाकै सामुन्ने पदक पहिरिइन् । आँखाको समस्या भएका कारण उपचारका लागि पोखरा आएकी आमाले छोरीको सफलता आफ्नै आँखाले देख्ने मौकासमेत पाइन् । ‘मेरा लागि यो ठूलो संयोग हो । आमाले मेरो खेल हेरेको कमै क्षण छन्,’ केही भावुक बन्दै भन्छिन्, ‘संयोग मान्नुपर्छ योपटक आमामात्रै होइन, सबै परिवारले मेरो खेल हेर्नु भो । सायद त्यही भएर बढी नर्भस भएर पनि खेल राम्रो गर्न सकिनँ कि ?’

तपाईको प्रतिक्रिया