मुस्ताङमा फलफुल बेच्नेलाई जाडोको सकस

समाधान संवाददाता २०७६ मंसिर २३ गते १३:४६

जोमसोममा चिसो सहदै फुटपाथमा फलफुल बिक्री गर्न बसेका साना व्यापारीहरु ।

एसके थकाली, जोमसोम

हिमालीपारीको जिल्ला मुस्ताङमा हिउँयामसंगै चिसो ह्वात्तै बढेको छ । चिसो मौसम र शित लहरले स्थानीयको दैनिक दिनचर्यामा समेत प्रतिकुल असर पर्न पुर्‍याउने गरेको छ । मुस्ताङको उपल्लो भेकमा दिउसो माईनस जिरो र साँझ माईनस १५ डिग्री र तल्लो भेकमा दिउँसो २ डिग्री र साँझ माईनस ११ डिग्री तापक्रम पुग्छ ।

Advertisement

सधैंजसो गुल्जार हुने सदरमुकाम जोमसोम हिउँदसंगै पर्यटकको चाप पातलिदै गएको हो । खेतीपाती सकेर फुर्सदमा बसेका किसान यतिखेर स्याउ कटिङमा व्यस्त छन् । पर्यटकको चाप न्युन हुँदै गएपनि जोमसोममा मुस्ताङको कोशेली बेच्ने साना व्यापारीलाई भने चिसोले पटक्कै छोएको छैन । उनीहरु बिहानै चिसो सिरेटोको परवाह नगरी स्याउ बेच्न सडक छेउको फुटपाथमा लामबद्ध रहन्छन् । कहिले आगो ताप्छन् भने कहिले बाक्लो कपडा पहिरिएर पर्यटक पर्खाईमा रहन्छ । यसरी सडक छेउ मुस्ताङ उत्पादित कोशेली बिक्री गर्ने समुह जोमसोममा करिव डेढ दर्जन जती छन् ।

हिउँदयाममा कम पर्यटक आउने भएकाले उस्तो व्यापार पनि हुँदैन तर घर व्यवहार चलाउन चिसो सहेर फुटपाथमा व्यापार गर्न बसेको कुसुम नेपालीले बताईन् । सिजनको समय ५ –६ हजारको व्यापार गर्ने गरेकी उनले अफ सिजनले व्यापार घटेको सुनाईन् । सडक छेउ फलफुल बेच्ने व्यवसायीलाई स्थानीय तहले दैनिक २० रुपैयाका दरले कर उठाउने गरेको छ । उनीहरुले मासिक ६ सय र वर्षमा ७ हजार २ सय रुपैया कर स्थानीय सरकारलाई बुझाउने गरेको फुटपाथ समुहकी अध्यक्ष होमकुमारी छन्त्यालले जानकारी दिईन् ।

Advertisement

स्थानीय तहलाई दैनिक कर तिर्ने गरेका उनीहरुलाई सो अनुसार सुविधा दिन नसकेको अध्यक्ष छन्त्यालको भनाई थियो ।‘ हामी फुटपाथे बिक्रेतालाई स्थानीय सरकारले सेवासुविधा दिनुपर्‍याे । दैनिक २० रुपैया मात्र होईन ५० रुपैया कर बुझाउन तयार छौं ’छन्त्यालले भनीन् ,‘ हामीलाई पालिकाले व्यवस्थित गरिदेओस । हामी त्यही बसेर व्यापार गछौं ।’ अर्की फुटपाथ पसल गरेकी कल्पना नेपालीले चिसो ,हावाहुरी र धुलो पचाएर सडकमा पसल गर्नुपर्ने रहर नभई कहर भएको सुनाईन् । उनले पालिकाले साना व्यापारीलाई एक ठाउमा कटेज बनाईदिए उपयुक्त हुने भनाई राखिन् । उनले स्थानीय सरकारले साना व्यापारीलाई उपेक्षा गरेको दुखेसो सुनाईन् ।

स्थानीय सरकारले फलफुल बिक्री केन्द्रको पूर्वाधार निर्माण गर्ने जनाएपनि त्यो अझै बन्न सकेको छैन । सडक छेउ फलफुल बेच्न बस्ने स्थानीय भन्दा बाहिर जिल्लाका बेशी छन् । उनीहरुले मुस्ताङमा उत्पादित स्याउ, स्याउको सकुटी, आरु, खुर्पानी, ब्रान्डी लगायतका सामाग्री राखेका हुन्छन् । यस्तै, फटपाथे बिक्रेता जिना श्रेष्ठले अरु व्यवयासी भन्दा फुटपाथे व्यवसायीले तुलनात्मक रुपमा चर्को कर तिर्ने गरेको तर सो अनुसारको सुविधा नपाएको गुनासो गरिन् । उनले स्तरिय होटलको भन्दा फुटपाथको कर महङ्गो भएको बताईन् । जोमसोममा लाखौं रुपैंया लगानी गरेको होटल तथा पसलेलाई वार्षिक १५ सय कर भएको र फुटपाथेले चौगुणा बढी कर तिर्ने गरेको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया