साग महिला फुटबलः भारतलाई स्वर्ण नेपाललाई रजत

समाधान संवाददाता २०७६ मंसिर २४ गते १३:०५

समाधान संवाददाता, पोखरा

Advertisement

दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको महिला फुटबलमा भारतलाई हराउने नेपालको धोको फेरि अधुरै रह्यो । यसपालिको १३ औं सागमा भारतसँग अघिल्ला संस्करणको साटो फेर्ने अवसर पनि नेपालले चुकाएको छ । १२ औं र ११ औं सागमा पनि नेपाल भारतसँगै फाइनलमा पराजित भएको थियो । यसपालि त्यही इतिहास दोहोरियो । फाइनलमा भारतले जित्यो र नेपाल हार्‍यो ।

आयोजक नेपाललाई हराउँदै भारतले १३ औं दक्षिण एसियाली महिला फुटबलमा स्वर्ण पदक हात पारेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भारतले नेपाललाई २ –० ले पराजित ग¥यो ।

भारतलाई उपाधि जिताउन स्ट्राइकर एनजी बाला देवीले नायकत्व प्रदर्शन गरिन् । दुवै गोल उनैले गरेकी थिइन् । उनले खेलको १८ औं मिनेटमा खाता खोल्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपालको डिफेन्सले मिस गरेको बल क्याच गर्न पुगेकी गोलकिपर एन्जिला थुम्बापो अगाडि बढेकाले एनजी बाला देवीलाई गोल गर्न सजिलो भयो । दोस्रो हाफको १० औं मिनेटमा एनजी बाला देवीले नै गोल गर्दै भारतका लागि गोल दोब्बर पारेकी थिइन् । नेपालकी गोलकिपर एन्जिला सोमबारको खेलमा अगाडि बढेर खेलेकी थिइन् । त्यसको फाइदा लिँदै एनजी बाला देवीले दोस्रो गोल गर्न सफल भइन् ।

खेलको ६ औं मिनेटमा नेपालका स्ट्राइकर सावित्रा भणडरी ‘साम्बा’ले विपक्षीको डिबक्सभित्रबाट दिएको पासलाई सदुपयोग गर्न नसक्दा नेपालले गोलको मौका चुकाएको थियो । घरेलु मैदानमा दर्शकको साथ पाएको नेपालले खेलमा तरक्की देखाउन सकेन । खेलको २१ औं मिनेटमा नेपालकी डिफेन्डर अस्मिताले सेन्टर नजिकबाट गरेको प्रहार क्रसबारबाट बाहिरिएको थियो । उक्त बलले बाहिरबाट जालीमा लाग्दा दर्शकहरु गोल भएको भनेर झुक्किए । बलले जाली चुमे पनि बल भुइँमा झरेपछि गोल नभएको थाहा पाए । उत्साहित दर्शक तुरुन्तै निराश हुँदा रंगशालामा एकछिन सन्नाटा छायो ।

Advertisement

सावित्रा भण्डारीको भरमा नेपालले पूरा खेल खेलेको स्पष्ट देखिन्थ्यो । भारतका खेलाडीमा भने निकै तालमेल मिलेको थियो । १ गोलले पछि परेको नेपालले दोस्रो हाफको केही मिनेट भारतलाई प्रेसरमा राखे पनि बराबरीमा फर्कन सकेन । उल्टै दोस्रो हाफमा भारतले गोल थप्यो, नेपाल झनै पछाडि पर्‍यो र भारतले बाजी मार्‍यो ।

दोस्रो हाफको ४ औं मिनेटमा भारतका क्याप्टेन अस्हल्ता देवीले सावित्रालाई डिबक्सभित्र लडाउँदा पेनाल्टीको अपिल गरेको थियो । तर त्यसलाई रेफ्रीले फल मानेनन् । ५ र ६ औं मिनेटमा नेपालले पाएको अर्को अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको ३१ औं मिनेट नेपालका मिडफिल्डर अनीता बस्तेतका ठाउँमा मञ्जलीकुमारी योन्जोनलाई मैदानमा उतारे पनि उनले सन्तुष्ट हुने खेल देखाउन सकिनन् । सोमबारको खेलमा भारतीय महिलाहरु निकै फिट देखिन्थे भने नेपाली खेलाडी शारीरिक रुपमा अलि थाकेको भान भएको थियो । आयोजक राष्ट्र नेपालले घरेलु दर्शक, मैदान र हावापानी सबैको साथ पाए पनि खेलमा गोल गर्न नसक्दा भारतलाई उपाधि सुम्पन्न बाध्य भयो । नेपालले रजतमा चित्त बुझाउन पर्‍यो । खेलको अन्तिमसम्म रंगशालामा भरिएका दर्शकले लगातार नेपालको हौसला बढाइरहेका थिए । तर नतिजा उनीहरुको निम्ति अमिलो नै रह्यो । २ दिनअघि सम्पन्न खेलमा मालदिभ्सले कास्य पदक प्राप्त गरेको थियो । भारतसँगको हारसँगै प्रशिक्षक हरि खड्काले राजीनामा गरेका छन् भने टिम क्याप्टेन निरु थापा र मनमाया लिम्बुले पनि अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन् ।

प्रशिक्षक खड्काको राजीनामा
साग महिला फुटबलको फाइनलमा भारतसँग २–० ले हार बेहोरेसँगै नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा गरेका छन् । साग सुरु हुनुभन्दा अघि भारतलाई हराएर इतिहास रच्ने दाबा गरेका उनले फाइनलमा फितलो प्रदर्शन गरेपछि ‘नैतिकता’का आधारमा राजीनामा दिएको बताएका हुन् ।

‘हाम्रो टार्गेट नै गोल्ड थियो । तर, आफ्नै टार्गेट पूरा गर्न सकिनँ,’ खेलपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले भने, ‘अब यो भूमिकामा अब निभाउदिनँ । नैतिकताका आधारमा राजीनामा घोषणा गर्दैछु ।’ उनको प्रशिक्षणमा साफ च्याम्पियनसिप र नाजेदा गोल्डकपमा पनि भारतसँगै हार व्यहोर्नुपरेको थियो ।

खड्काले फाइनलका सबै गोल आफ्नै कमजोरीले भएको पनि स्वीकारेका छन् । उनले भनेका छन्, ‘गोलकिपरलाई जुन इन्स्ट्रक गरेको थिएँ । पहिलो गोलमा डिफेन्स र गोलकिपरबीच कम्युनिकेसन ग्याप हुन पुग्यो,’ उनले भने, ‘दोस्रो गोल पनि आफ्नै कारणले हुन पुगेको हो ।’

१३ औं साग अन्तर्गतको महिला फुटबल प्रतियोगितामा हार व्यहोरेसँगै नेपाली महिला टिम क्याप्टेन निरु थापा र मनमाया लिम्बुले पनि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । नेपाल प्रहरीमा आबद्ध थापाले मैत्रीपूर्ण खेलका लागि गत वर्ष नेपाली महिला फुटबल टोली चीन जाँदा पहिलोपटक कप्तानी सम्हालेकी थिइन् ।

भारतीय राष्ट्रिय टिमका प्रशिक्षक म्यामल रक्कीले इतिहास दोहोर्‍याउन पाएकोमा खुसी व्यक्त गरिन् । ‘जसरी हामीले सोचेका थियौं, खेल त्यही अनुसार भयो । हामी अत्यन्तै खुसी छौं,’ उनले भनिन्, ‘नेपाल पनि धेरै राम्रो देश हो । तर, फाइनलमा जित निकाल्न पाउँदा खुसी छौं ।’

तपाईको प्रतिक्रिया