१३ औं सागः आर्चरीमा बंगालदेशलाई १० वटा स्वर्ण

समाधान संवाददाता २०७६ मंसिर २४ गते १३:१०

समाधान संवाददाता, पोखरा २३

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ । १० वटा स्वर्ण पदकका लागि पोखरा रंगशालाको आर्चरी खेल मैदानमा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिमतर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।

सोमबार भएको रिकर्भ महिला तथा पुरुषतर्फ बंगलादेशले स्वर्ण पदक हात पार्न सफल भयो भने कम्पाउन्डतर्फको महिला तथा पुरुषतर्फ पनि स्वर्ण पदक हात पार्न सफल भयो । सोमबारको खेलमा रिकर्भ पुरुषतर्फको खेलमा बंगलादेशका विश्व र्‍याङकिङ १० औं भित्र पर्ने उत्कृष्ट खेलाडी एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्ण हात पारे सोही इभेन्टको महिलातर्फ बंगलादेशकी १४ वर्षकी उदयमान खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।

Advertisement

रिकर्भ एकल पुरुषतर्फ श्रीलंकाले कास्य पदक हात पार्न सफल भयो । श्रीलंकाका डिई शिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कास्य पदक जित्दा सोही इभेन्टको महिलातर्फ बंगलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कास्य पदक जितेकी हुन् । कर्मा ओलम्पिकमा छनोट भएकी खेलाडी हुन् ।

त्यसैगरी कम्पाउन्ड एकल पुरुषतर्फ बंगलादेशका राना एमडी सोहीलले दोर्जे तेन्डिङलाई पराजित गर्दै स्वर्ण पदक जिते । कास्य पदकका लागि भएको खेलमा बंगलादेशका दास असिम कुमारले श्रीलंकाका वासान्त कुमारलाई पराजित गरी कास्य पदक जिते । सोही इभेन्टको महिलातर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण पदक जितिन् । श्रीलंकाले यस विधामा कास्य पदक हात पार्‍यो । श्रीलंकाकी दमयन्तीले बंगलादशेकी बनिक सुस्मितालाई पराजित गर्दै कास्य पदक जितिन् ।

Advertisement

आइतबार ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा ६ वटा स्वर्ण पदक माथि बंगलादेशले एक्लौटी बर्चश्व जमाएको थियो । बंगलादेशले कम्पाउन्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्स तर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो । बंगलादशेका प्रमुख प्रशिक्षक मार्टिनले आफूहरुले सागका लागि ६ महिना देखि बन्द प्रशिक्षण गरेको धेरै मेहनत गरेकोले उत्कृष्ट नतिजा आएको बताए ।

दुई बर्ष देखि बंगालादेशको टिम प्रशिक्षण गराउदै आएको बताएका उनले आफुहरुसंग वल्र्ड च्याम्पियनशिपमा कास्य पदक विजेता साना, कक्षा ८ मा अध्यनरत १४ वर्षकी खातुन जस्ता उदयमान खेलाडीले आफूहरुले प्रशिक्षण गराए अनुसार उत्कृष्ट प्रदर्शन गरेको जनाए ।

१२ औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो । सागमा सहभागि राष्ट्र मध्य प्रमुख दाबेदारको रुपमा भारतलाई मानिए पनि यस पटक भारत सहभागि नहुदा अधिकांश पदक बंगलादेशले हात पार्न सफल भयो । नेपालले आर्चरीको खेल सामाग्रि समयमै उपलब्ध हुन नसक्दा सोचे अनुरुप स्वर्ण पदक ल्याउन नसकिएको आर्चरी प्रशिक्षक वसन्त थकालीले बताए ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशका सांसदद्वय मोहन रेग्मी, दीपक कोइराला, राखेप सदस्य राजेश गुरुङ, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । नेपालले एक रजत, २ कास्यसहित ३ पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउन्ड (५० मिटर) मिक्सतर्फ रजत पदक प्राप्त गरेको हो । नेपालसहित ४ देश सहभागी भएको खेलमा अन्तिम समयमा पाकिस्तान सहभागी नभएको हो ।

तपाईको प्रतिक्रिया