३४३ सहकारीको प्रोफाइल तयार

समाधान संवाददाता २०७६ मंसिर २४ गते १३:१२

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिकाले पोखरामा कार्यक्षेत्र भएका सहकारीको प्रोफाइल तयार गरी सार्वजनिक गरेको छ । सहकारीको आधारभूत जानकारी समेटिएको प्रोफाइल पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार विमोचन गरे ।

कार्यक्रममा प्रमुख जिसीले सहकारीलाई व्यवस्थित गर्न महानगरले पहिलो प्रयत्न स्वरुप प्रोफाइल तयार गरेको बताए । उनले सहकारीमा देखिएका विकृति, विसंगति न्यूनीकरण गर्दै व्यवस्थित बनाउन एकै ठाउँबाट सहकारीको अनुमगन गर्ने पद्धति निर्माण गर्न महानगर लागिपरेको बताए । आर्थिक समृद्धि हासिल गर्न सहकारीको महत्वपूर्ण भूमिका हुने बताउँदै प्रमुख जिसीले सहकारीले उत्पादनशील र उद्यममा लगानी गर्नुपर्ने विचार राखे ।

Advertisement

सहकारीको मात्र नभई अन्य क्षेत्रका पनि प्रोफाइल बनाउने योजना महानगरले बनाएको उनले बताए । ‘गैरसरकारी संस्थाले पोखरामै करोडौं खर्च गरेर काम गरेको सुनिन्छ,’ प्रमुख जिसीले भने, ‘तर, कति गैरसरकारी संस्थाले पोखरामा काम गरेका छन्, बजेट कति हो, त्यो थाहा पाउन सकिएको छैन । त्यस बारेमा पनि महानगरले अध्ययन गर्ने योजना बनाएको छ ।’ गैरसरकारी संस्थाको काम र बजेटलाई पारदर्शी बनाउनेतर्फ महानगरले कदम चाल्ने उनको भनाइ छ ।

पोखरा महानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सहकारी दर्ता अधिकारी गंगालाल सुवेदीले सहकारीको नाम, ठेगाना, सञ्चालक समितिको अध्यक्षको नाम, सेयर पुँजी लगायत आधारभूत जानकारी प्रोफाइलमा समेटिएको जानकारी दिए । उनका अनुसार विषयगत सहकारी र वडागत रुपमै सहकारीको विवरण यसमा राखिएको छ ।

Advertisement

पोखरा महानगर सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीले ३ सय ४३ सहकारीको विवरण प्रोफाइलनमा समेटिएको बताए । गत असारसम्म दर्ता भएका सहकारीको विवरण प्रोफाइलनमा समेटिएको हो । अधिकारीले पोखरा कार्य क्षेत्र भएका सहकारीको संख्या ३ सय ५३ भएको जानकारी दिए । सहकारी दर्ताको अधिकार स्थानीय तहमा आएपछि महानगरमा ४१सहकारी दर्ता भएका छन् ।

अध्यक्ष अधिकारीले प्रोफाइलनमा समेटिएको विवरण संक्षिप्त भएकाले आगामी दिनमा यसलाई परिमार्जित गरिने जानकारी दिए । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीको प्रोफाइलले सहकारीलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताए । प्रोफाइल तयार पारेकोमा महानगरलाई धन्यवाद दिँदै उनले महानगर र जिल्ला सहकारी संघबीच समन्वय आवश्यक भएको बताए ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले समृद्धिको यात्रालाई पूरा गर्न सहकारीको भूमिका महत्वपूर्ण हुने बताए । उनले सहकारीले व्यापार, व्यवसाय र नाफामा भन्दा पनि उत्पादन र उद्यमलाई प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रममा सहकारी शाखाका अधिकृत अर्जुन नेउपानेले शाखाले गर्दै आएका कामबारे प्रकाश पारे ।

तपाईको प्रतिक्रिया