भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक

समाधान संवाददाता २०७६ मंसिर २४ गते १३:५९

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार न्यूनीनकरणका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा कार्यरत निकायको संस्थागत सुदृढीकरण र कानुन संशोधनसमेत आवश्यक रहेको उल्लेख गरे ।

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले नेपालमा भ्रष्टाचार बढ्नुमा राजनीतिक क्षेत्रको समेत भूमिका रहेको धारणा राखे । ‘भ्रष्टाचार नियन्त्रणको लागि नीतिगत र पद्धतिगत सुधार आवश्यक छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘अहिलेको संरचना र र संरचनालाई बदल्न नसके भ्रष्टाचार निवारण गर्न सकिन्न ।’

Advertisement

उनले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन बनाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री गुरुङले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारको कार्यक्षेत्र बढाउनुपर्ने उल्लेख गरे । न्यायालय र नेपाली सेनाभित्रको भ्रष्टाचारको चर्चा नहुने उल्लेख गर्दै उनले निजी क्षेत्र, न्याय, सेना लगायतलाई अख्तियारको कार्य क्षेत्रमा ल्याउनुपर्ने बताए ।

राज्यले उपलब्ध गराउने सेवा प्रवाहलाई विद्युतीय प्रणालीमा लगेको खण्डमा भ्रष्टाचारलाई ह्वात्तै घटाउन सकिने दाबी गर्दै मुख्यमन्त्री गुरुङले सुशासन कायम गर्न इगभर्नेन्समा जानुपर्ने धारणा राखे । उनले अनलाइन, मेसिनबाट काम गरे व्यक्तिले बार्गेनिङ गर्न नपाउने बताए । अख्तियारले प्रदेश तथा स्थानीय सरकारलाई पठाएको ६१ बुँदे निर्देशनप्रति संकेत गर्दै मुख्यमन्त्री गुरुङले संघीय सरकारको अनुमति बिना विदेश भ्रमण तथा बाह्य अनुदान नलिएको जिकिर गरे ।

Advertisement

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्व उपाध्यक्ष आनन्दराज मुल्मीले प्रदेश सरकारको मन्त्री परिषदले गरेको निर्णयसमेत अख्तियारले हेर्न नपाउने व्यवस्था गर्न लागेकोमा असन्तुष्टि जनाए । सबै स्थानीय तहको कार्यपालिका बैठकले गरेको निर्णय अख्तियारले हेर्न नमिल्ने व्यवस्था भए नीतिगत भ्रष्टाचार बढ्ने उनले दाबी गरे ।

कार्यक्रममा सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले स्थापना गरेको सुशासन पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार दीपक परियारलाई सम्मान गरिएको छ । उक्त पुरस्कारका राशि नगद ११ हजार १ सय ११ र सम्मानपत्र रहेको छ । सुनासका सदस्य इञ्जिनियर लेखबहादुर गुरुङले स्थापना गरेको १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोषको ब्याजबाट सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा कलम चलाउने पत्रकारलाई बर्सेनि पुरस्कृत गरिँदै आएको छ ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका निमित्त प्रमुख शम्भु मिश्र, उपसचिव मेघनाथ रिजाल, भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्थाका (सिटीजन जुरी) अध्यक्ष तिलक पराजुली, सुनास कास्कीका अध्यक्ष प्राडा वेदनाथ शर्मा, सुनास कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, अख्तियारका लेखापाल देवेन्द्र पाण्डे लगायतले बोलेका थिए । ‘भ्रष्टाचारविरुद्धको सहकार्य, सुशासनका लागि अपरिहायर्’ भन्ने नाराका साथ भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार मनाइएको हो । भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा स्थानीय रत्नचोकबाट प्रभात फेरी सुरु भएर राष्ट्रबैंक चोक हँुदै जिल्ला समन्वय समिति कास्कीमा पुगी कार्यक्रममा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया