—सम्पादकीय— न्यायालयको छवि

समाधान संवाददाता २०७६ मंसिर २४ गते १४:३१

भनिन्छ कानुनका ९ सिङ हुन्छन् । आफ्नो अनुकुल अनुसार तिनै सिङ समातेर कानुन व्याख्या र अपव्याख्या हुन्छ । कानुन व्यवसायी र स्वयं न्यायालयले कानुनी व्याख्या अनुकूलतामा गर्ने गरेको भनेर आलोचना हुन्छ । त्यस्ता उदाहरण पनि छन् थुप्रै । मान्छे मारेको आरोपमा जेल परेको मान्छे निस्किएर आउँदा जो मारिएको भनिएको थियो ऊ जिउँदो भेटिएका उदाहरण पनि छन् । भारतमा त झन् यस्तो विषयमा एउटा फिल्म नै बनेको छ—अन्धा कानुन । कहिले कानुनकै अपव्याख्या गर्ने र कहिले विभिन्न प्रलोभनमा न्यायाधीश नै फस्ने गर्दा न्यायालयप्रतिको विश्वास बेलाबेला प्रश्नको घेरामा पर्न जान्छ ।

भाषिक जटिलता र त्यसको अपव्याख्याको लाभ उठाउन न्यायाधीशले नै गरेको गलत प्रयाससम्बन्धी एउटा घटनाको पोखरा उच्च अदालतको एउटा इजलासले आइतबार पटाक्षेप गरेको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले तोकेको कर पुनरावलोकन माग्दै गोर्खा बु्रअरी नेपाल नवलपुरबाट दायर रिटलाई उच्च अदालतका न्यायाधीश विनोदमोहन आचार्य र डालकुमार खड्काले आइतबार खारेज गरिदिए ।

उक्त रिट क्षेत्राधिकार बाहिर रहेको न्यायाधीशको ठहर स्वागतयोग्य छ । राजस्व कार्यालयमै पुनरावलोकन गर्ने अवसरलाई नाघेर मदिरा उद्योग पोखरा उच्च अदालत आइपुगेको थियो । त्यसमा न्यायाधीशद्वय रामचन्द्र यादव, जीवनहरि अधिकारी र नरबहादुर शाहीको नियतमा खोट देखिएको थियो । सर्वाेच्च अदालतले नै उनीहरुमाथि छानबिन गरेको थियो । छानबिनकै क्रममा अधिकारी र यादवले राजीनामा गरेर आफूलाई जोगाए अनि पेन्सन पक्का गरे । भने शाही बर्खास्तीमा परे । न्यायालय नागरिकको आस्थाको केन्द्र हो र राज्यको महत्वपूर्ण अंग हो । यसमाथिकै विश्वास खास व्यक्ति विशेषको चरित्र र दुर्नियतबाट डगमगाउनु हुँदैन । यस्ता दुष्प्रयास रोक्ने कायम पनि न्यायालयकै हो । यस मामलामा क्षेत्राधिकार मिचिएको रिट खारेज गरी उच्च अदालले र न्यायाधीशमाथि कारबाही गरी त्यही कर्तव्य सर्वाेच्च अदालतले पूरा गरेको छ ।

एक त कानुनको भाषा सर्वसाधारण नागरिकले बुझ्ने खालको हुँदैन । त्यसमाथि न्यायाधीशले गर्ने आदेश, फैसला, ठहर वा निर्णयको भाषा त झन् न्यायको याचक स्वयंले बुझ्ने त परै जाओस् नेपाली भाषामा स्नातकोत्तर वा विद्यावारिधि नै गरेकाले समेत सजिलै बुझ्न कठिन पर्ने खालको हुन्छ । नागबेली बाटो जस्तो घुमाउरो भाषाका वाक्यमा सयौं शब्द हुन्छन् । जटिल वाक्य संरचनाको सुरुआतदेखि अन्त्यसम्मको सम्बन्ध र बुनोट बुझ्न हतपति सकिन्न । तर भाषा सरल भयो भने कमजोर देखिन्छ वा आफ्नो भाउ नरहला भन्ने सामन्ती मनोविज्ञान यसरी न्यायालय र कानुन व्यवसायमा जकडिएको छ कि यसमाथि अनेक तर्कवितर्क यो क्षेत्रका मानिससँग हुन्छ ।

तर कुरा प्रष्ट छ, भाषा जति जटिल र घुमाउरो भयो त्यति नै त्यसको अनेक व्याख्या गर्न पाइने छुट जो हुन्छ । तर यसबारे सम्बन्धितले अरु सरोकारवालासँग पनि परामर्श लिऊन् । न्यायालयको भाषा र सरल बनाउन् । न्याय निष्पादन निष्पक्ष गरुन् । न्यायालयको शिर सधैं उचो होस् । कुनै खास व्यक्ति विशेषले गरेका गल्ती र कमजोरी यसरी नै सच्चिऊन् । अनि न्याय र न्यायालयप्रति नागरिकको विश्वास कहिल्यै नडगमगाओस् ।

तपाईको प्रतिक्रिया