डिएससी पुरस्कार ‘नेपाल लिटरेचर फेस्टिबल’मा घोषणा गरिने

समाधान संवाददाता २०७६ मंसिर २५ गते १३:०७

समाधान संवाददाता
पोखरा

आइएमई नेपाल लिटरेचर फेस्टिबलको ८ औं संस्करणमा दक्षिण एसियाली राष्ट्रको सर्वाधिक लोकप्रिय साहित्यिक पुरस्कार घोषणा गरिने भएको छ । पोखरा लेकसाइडमा शुक्रबारदेखि सोमबारसम्म हुन लागेको महोत्सवमा २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशी बराबरको पुरस्कार घोषणा गरिने फेस्टिबल आयोजक संस्था बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले जानकारी दिए ।

पुरस्कार दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले ८ वर्षदेखि प्रदान गर्दै आएको छ । नेपाल साहित्य महोत्सवसँग सहकार्य गरी पुरस्कार वितरण गर्न पाउँदा पुरस्कारकी सहसंस्थापक सुरिना नरुलाले खुसी व्यक्त गरेकी छन् । उनले भनेकी छिन्, ‘हामी आइएमई नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं । पोखरामा हुने ८ औं आइएमई नेपाल लिटरेचर महोत्सवमा यसपटक डिएससी पुरस्कारको विजेता घोषणा गर्दै छौं ।’

Advertisement

पुरस्कार र महोत्सव दुबैले दक्षिण एसियाली साहित्यलाई प्रर्वद्धन गर्ने हुँदा यो सहकार्यले हामी दुबैलाई फाइदा हुने विश्वास लिएको नरुलाले बताएकी छन् । ‘दक्षिण एसियली राष्ट्रमा प्रत्येक वर्ष क्रमबद्ध तरिकाले पुरस्कार घोषणा गर्ने योजना अनुसार यस वर्ष नेपाल लिटरेचर फेस्टिबलमा पुरस्कार घोषणा गर्न लागिएको हो,’ उनी भनेकी छिन् ।

आयोजक संस्था बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले फेस्टिबलका अघिल्ला संस्करणभन्दा यस पटक नयाँ वक्तालाई सहभागी गराइएको जानकारी दिए । ‘सुरुका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासा र सुझाव आयो,’ उनले भने, ‘यसपटक हामीले ९८ प्रतिशत नयाँ वक्तालाई फेस्टिबलमा ल्याउन लागेका छौं ।’

Advertisement

४ दिनसम्म चल्ने फेस्टिबलमा १ सय १० भन्दा बढी वक्ता सहभागी हुनेछन् । त्यसमध्ये १ दर्जनभन्दा बढी विदेशी लेखक सहभागी हुने बरालले जानकारी दिए । ‘फेस्टिबलमा अन्तर्राष्ट्रिय लेखकहरुलाई पनि ल्याउन लागेका छौं । त्यसले यहाँको साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न पनि सहयोग मिल्ने अपेक्षा राखेका छौं,’ उनले भने । फेस्टिबलमा ४० भन्दा बढी सेसन समावेश गरिएको छ ।

फेस्टिबलको पहिलोदेखि ४ संस्करण काठमाडौंमै गरिएको थियो । ५ औं संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको हो । फाउन्डेसन निर्देशक बरालले तत्कालीन समयमा काठमाडौंमा भूकम्प गएर पोखरामा आयोजना गर्नु परे पनि अहिले पोखराकै फेस्टिबल भएको सुनाए । उनले भने, ‘भूकम्प जाँदा साहित्यिक पर्यटनलाई जोड्न पनि पोखरा रोजेका थियौं । तर, अहिले पोखरा नै उत्तम ठाउँ भएको छ । यो पोखरेलीको पनि महोत्सव हो ।’

फेस्टिबलको अर्का आयोजक संस्था र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले फेस्टिबलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगेको दाबी गरे । ‘फेस्टिबलका सबै संस्करणमध्ये ४ वटा पोखरामै भएका छन् । त्यसले पनि हामीलाई अपन्वत्व महसुस भएको छ,’ उनले भने, ‘यस संस्करणमा २० प्रतिशतभन्दा बढी वक्ता पोखरेली बुद्धिजीविलाई नै सहभागी गराउन पाउँदा हामी पनि खुसी छौं ।’

नेपाल साहित्य महोत्सव पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकको रुपमा आएको व्हाट द बुक क्लबका उपाध्यक्ष अनिशा बराइलीले बताइन् । महोत्सवले पोखरालाई छुट्टी मनाउन आउने सहरमात्रको परिचयबाट माथि उठाएर साहित्यको केन्द्र बनाएको बताइन् । उनले भनिन्, ‘व्हाट द बुक क्लब पाठकहरुको क्लब हो । यो पोखरामामात्रै होइन, अरु धेरै सहरमा पनि हुन जरुरी छ ।’

महोत्सवको उद्घाटन सत्रमा पूर्व अर्थमन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचन दिने आयोजकले जनाएको छ । यसअघि कात्तिकमा महोत्सवको जनकपुर संस्करण भइसकेको छ ।

तपाईको प्रतिक्रिया