आज योमरी पूर्णिमा र उधौली, पर्व मनाउनेहरुकालागि मात्र बिदा

समाधान संवाददाता २०७६ मंसिर २६ गते १२:४८

समाधान संवाददाता, काठमाडाैं

आज मार्ग शुक्लपक्ष थिंलाथ्व अर्थात ‘योमरी पुन्ही’ (पूर्णिमा) मा नेवार समुदायले घरघरमा योमरी चढाएर देवीदेवताको पूजा गर्ने चलन छ ।

योमरी पूर्णिमा नेवार समुदायले मनाउने एक महत्वपूर्ण चाड हो । यस उपलक्ष्यमा छोरी तथा ज्वाइँलाई बोलाएर नखत्याको रुपमा योमरी खुवाउने प्रचलन नेवार समुदायमा पाइन्छ । त्यस्तै योमरी पुन्हीको अवसर बाहेक छोराछोरीको उमेर दुई र चार वर्षको जन्मदिनमा योमरी र लोंचा मरीको माला लगाइदिने चलन नेवार समुदायमा अझै कायम छ ।

Advertisement

योमरीसँग सम्बन्धित एक जनश्रुती पनि छ । जनश्रुतीअनुसार धनका देवता कुवेर मगन्तेको भेषमा एउटा घरमा खानेकुरा माग्न जाँदा आजकै दिन घरबेटीले कुवेरलाई सन्तुष्ट हुने गरी योमरी खुवाएको र कुवेर खुशी भई धनधान्य होस् भनी आशिर्वाद दिएकाले यो दिनलाई धान्यपूर्णिमा पनि भन्ने गरिएको जनश्रुती छ ।

पर्व मनाउनेहरूका लागि मात्रै बिदा

Advertisement

सरकारले नेवार र किराँती समुदायलाई बिहीबार बिदा दिएको छ।

य:मरि पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका लागि बिहीबार बिदा दिइएको हो।

सार्वजनिक बिदा घोषणा नगरे पनि सरकारले ती पर्व मनाउनेका लागि मात्रै बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले जानकारी दिए।

‘पर्व मनाउनेहरूका लागि मात्रै बिदा दिइएको हो’ उनले भने, ‘क्याबिनेटले सार्वजनिक बिदा तोकेको छैन।’

क्यालेन्डर अनुसार नै सम्बन्धित जात, धर्म भूगोल भएकालाई मात्रै बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया