सागका स्वर्ण विजेतालाई ९ लाख

समाधान संवाददाता २०७६ मंसिर २६ गते १३:३४

समाधान संवाददाता, काठमाडौं

Advertisement

सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण विजेतालाई जनही ९ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गरिने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले बुधबार बालुवाटारमा सागमा सहभागी खेलाडीलाई भेट्दै एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रूपैयाँ र एउटा स्वर्ण जित्ने खेलाडीलाई ९ लाख रूपैयाँ दिने घोषणा गरेका हुन् ।

Advertisement

‘टिम इभेन्टमा’ स्वर्ण पदक जित्नेलाई प्रतिखेलाडी जनही ५ लाख र प्रशिक्षकलाई पनि ५लाख रूपैयाँ पुरस्कारको घोषणा गरेका प्रधानमन्त्री ओलीले रजत पदक जित्नेलाई ६ लाख र कांस्य पदक जित्ने खेलाडीलाई ३ लाख रूपैयाँ पुरस्कार घोषणा गरे । ‘हाम्रो जस्तो गरीब देशमा सरकारले खेलाडीलाई उचित सम्मान गरेको छ,’ उनले भने ।

२४ मंसीरको साग समापनमा भिडिओ कन्फ्रेन्समार्फत् सम्बोधन गरेका प्रधानमन्त्री ओलीले खेलाडीलाई बालुवाटारमा निम्तो दिएका थिए । मंगलबार सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको थियो ।

Advertisement

अंक तालिकामा दोस्रो भएको नेपालको सागमा यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि, २०७२ मा सागका स्वर्ण विजेतालाई ५ लाख रुपैयाँ दिने उल्लेख छ । यस्तै रजतलाई ३ लाख र कास्य विजेतालाई २ लाख दिने उल्लेख छ ।

प्रधानमन्त्रीले कुनै बेला ५१ खेलाडी सहभागिता जनाउने हैसियत नभएको देशले आज ५१ स्वर्ण पदक जितेको स्मरण गरे । प्रधानमन्त्री ओलीले भने, ‘हामी सातै प्रदेशमा नयाँ रंगशाला बनाउने छौं ।’ आफू गम्भीर अप्रेसनका कारण सागमा उपस्थित हुन नसकेको भन्दै उनले भने, ‘तथापि मैले अस्पतालबाटै भए पनि युट्युब र टिभीमार्फत् तपाईंहरूको खेल हेरें । समापनका दिन म प्रत्यक्ष उपस्थित हुन चाहे पनि सकिनँ ।’

पुर्खाले बहादुरीका साथ देशको रक्षा गरेकाले नेपाली खेलाडीले मैदानमा खेल्दा दर्शकले गोर्खा–गोर्खा भन्दै चिच्चाइरहेको ओलीले बताए । ‘हामी कहिल्यै उपनिवेश बनेर बस्नु परेन। बिना अक्सिजन सगरमाथा चढ्ने नेपाली मात्र हो । त्यसैले नेपालीले चाहनु मात्र पर्छ ।’

प्रधानमन्त्री ओलीले आफूलाई पनि खेल्न मन पर्ने बताए । ‘म पनि राम्रो स्विमर हुँ । हाम्रो समयमा स्विमिङ पुल चाहिँदैनथ्यो । म खोलासँग परिचित भैसकेका थिएँ । बगाउँदा बगाउँदै पनि बाँचेको छु ।’

तपाईको प्रतिक्रिया