दमौलीमा एनप्याब्सानको खेलकुद महोत्सव

समाधान संवाददाता २०७६ मंसिर २६ गते १४:००

कृष्ण न्यौपाने, दमौली

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सान) तनहुँको आयोजनामा बुधबारदेखि दमौलीमा नवौं खेलकुद महोत्सव सुरु भएको छ । विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित खेलकुद महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा २० विधामा विद्यार्थीले प्रतिस्पर्धा गर्ने एनप्याब्सान तनहुँका सचिव ईश्वरराज पन्थले जानकारी दिए । खेलकुद महोत्सवमा जिल्लाका ३९ निजी विद्यालयबाट ६ सय ६५ खेलाडी सहभागी छन् । महोत्सवमा भलिबल, १ सय मिटर दौड, २ सय मिटर दौड, ४ सय मिटर दौड, ८ सय मिटर दौड, हाइ जम्प, सटपुट, लङजम्प, टेबलटेनिस लगायत खेल खेलाइनेछ ।

Advertisement

रनिङसिल्डका आधारमा सञ्चालन गरिने खेलमा ३ वर्ष लगातार प्रथम हुने विद्यालयले सधैंका लागि सिल्ड प्राप्त गर्नेछ । गत वर्ष आयोजित खेलकुद महोत्सवमा व्यास नगरपालिका ५ स्थित ग्रिनस्टार बोर्डिङ स्कुल ७८ अंकका साथ पहिलो स्थानमा थियो । गत वर्ष ग्रिनस्टारले प्राप्त गरेको सिल्ड आयोजकलाई फिर्ता गरिएको छ ।

महोत्सव मंसिर २७ गतेसम्म सञ्चालन हुने एनप्याब्सान तनहुँका अध्यक्ष रामकृष्ण विकले बताए । महोत्सव उद्घाटनपूर्व विभिन्न विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए ।

Advertisement

एनप्याब्सानका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले प्रतियोगिता उद्घाटन गर्दै खेलकुद प्रतियोगिताले अनुशासन सँगसँगै विद्यार्थीको शारीरिक विकासमा सहयोग पुग्ने बताए । कार्यक्रममा एनप्याब्सानका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, गण्डकी प्रदेश अध्यक्ष यम खड्का, केन्द्रीय सदस्य सन्त तामाङ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया