सरकारी अस्पतालकै एम्बुलेन्स ठेक्कामा

समाधान संवाददाता २०७६ मंसिर २९ गते १२:२७

मोहसिन अली मियाँ
गोरखा

गोरखा अस्पतालले सञ्चालन गरेका २ मध्ये १ एम्बुलेन्स व्यक्तिलाई ठेक्कामा दिएर सञ्चालन भएको खुलेको छ । केही महिनादेखि मासिक ५ हजार भाडा लिने गरी अस्पताल व्यवस्थापन समितिले व्यक्तिलाई एम्बुलेन्स भाडामा दिएको हो ।

सरकारी साधन भाडामा दिन नपाउने कानुनमा उल्लेख भए पनि त्यसको उल्लंघन गर्दै समितिले व्यक्तिलाई ठेक्कामा दिएको हो । केही महिनाअघि प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला एम्बुलेन्स समन्वय समितिले जिल्लाका कुनै पनि संघ, संस्थाले एम्बुलेन्स भाडामा दिन नपाउने गरी रोक लगाएको थियो ।

Advertisement

१५ वर्षअघि जापानको सिनोन नामक संस्थाबाट सहयोग प्राप्त ग१च २४०६ नम्बरको एम्बुलेन्स समितिले यसअघि चालकसमेत रहेका हरिशरण गोदार थापालाई भाडामा दिएको हो । ‘यो म आउनुअघि नै भएको निर्णय रहेछ । मासिक ५ हजार आम्दानी देखिएपछि मैले स्रोत खोज्दापछि मात्रै थाहा भयाे’ अस्पतालका निमित्त प्रमुख नवीन थापाले भने ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अर्याल भने यस विषयमा आफूलाई जानकारी नै नभएको बताउँछन् । ‘बिग्रिएर धेरै समय पार्किङमा थन्कियो, मर्मत गर्ने कि लिलामी गर्ने भनेर बैठकमा छलफल भएको हो’, अध्यक्ष अर्यालले भने, ‘निर्णय के भएको छ मलाई जानकारी छैन ।’

Advertisement

सोही व्यवस्थापन समिति अन्तर्गत नै रहेको एम्बुलेन्स सञ्चालन उपसमिति संयोजक भाइचन्द्र श्रेष्ठ भने एम्बुलेन्स आफूहरुकै मातहतमा चलेको दाबी गर्छन् । ‘एम्बुलेन्स हाम्रै मातहतमा छ । व्यक्तिलाई चलाउनमात्र जिम्मा दिएका हौं,’ उनले भने, ‘अस्पतालसँग मर्मत गर्ने रकम नभएर प्यक्तिलाई मर्मत गरेर चलाउन भनेका हौं ।’

जिल्ला एम्बुलेन्स समन्वय समिति भने एम्बुलेन्स भाडामा चलाउन नपाइने बताउँछ । एम्बुलेन्स सञ्चलन निर्देशिका २०७३ अनुसार सम्बन्धित निकायले दोस्रो व्यक्तिलाई ठेक्कामा दिन मिल्दैन । ‘जसले किनेको हो त्यै संस्थाले चलाउनुपर्ने हुन्छ । ठेक्का दिनु गैरकानुनी हो’, समन्वय समितिका सदस्य सचिवसमेत रहेकी स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विद्या तामाङले भनिन् ।

एम्बुलेन्स ठेक्कामा लिएर चलाउँदै आएका थापा भने अस्पतालले केही समयका लागि आफूलाई जिम्मा दिएको स्वीकार्छन् । २ लाख ४० हजार रुपैयाँ लगानी गरेर एम्बुलेन्स मर्मत गरेको उनी बताउँछन् । ‘मर्मत गरेर चलाउनुस् भनेर समितिले मलाई जिम्मा दिएको हो’, थापाले भने । भदौसम्म जिम्मा पाएका उनलाई अस्पताल समितिले असोजबाट करारमा चालक राख्ने आश्वासनसमेत दिएको थियो । तर मंसिर सकिन लाग्दासमेत समितिले एम्बुलेन्स जिम्मा नलिएपछि उनले नै चलाउँदै आएका हुन् । जिल्ला अस्पतालसँगै केही प्रतिष्ठान तथा सहकारीले सञ्चालनमा ल्याएका करिब आधा दर्जन एम्बुलेन्स पनि हाल ठेक्कामा चलिरहेको स्रोत बताउँछ ।

तपाईको प्रतिक्रिया