लिटरेचर फेस्टिभलः संवादमा सन्दुक, गगनदेखि, प्रकाश सपुतसम्म

समाधान संवाददाता २०७६ मंसिर २९ गते १४:३२

समाधान संवाददाता
पोखरा

नेपाल साहित्य महोत्सवको आठौं संस्करणको दोस्रो दिन शनिबार कार्यक्रमस्थल फेवा किनारमा उत्साहजनक सहभागिता रह्यो । उद्घाटनका दिन शुक्रबार दिनभर वर्षाले केही प्रभाव परे पनि दोस्रो दिन मौसम खुलेसँगै सहभागिता ह्वात्तै बढ्यो ।

शनिबार विभिन्न शीर्षकमा १२ वटा सेसन भएका छन् । पहिलो सेसन ‘लोकगीत कि लोकप्रियता’ मा गायक हरिदेवी कोइराला, प्रकाश सपुत र झुमा लिम्बूबीच छलफल भयो । कार्यक्रम सहजीकरण नारायण अमृतले गरेका थिए । अहिलेका लोकगीतमा व्याप्त विसंगतिमात्र होइन, उति बेलाका गीतको मौलिकका बारेमा खुलेरै छलफल भयो । सुरुआतमा सुन्न बनाइएको लोकगीत अहिले हेर्न बनाइएको जस्ता आरोप लागेको विषयमा पनि कार्यक्रममा बहस भयो ।

Advertisement

‘बालबालिकाको हातमा मोबाइल कि पुस्तक’ शीर्षकमा भवसागर घिमिरेले करुणा कुँवर, बिना थिङ तामाङ, वसन्त गौतमसँग छलफल गरे । उनीहरुले पछिल्लो समय प्रविधिका कारण बालबालिकाको मानसिकतामा पारेको प्रभावबारे धारणा राखे ।

दोस्रो सेसनमा फरक हलमा २ विषयमा छलफल भयो । ‘सपनाको सम्मान’ शीर्षकमा डा. रुपचन्द्र विश्वकर्मा, विमल गायक र सुभाष नेपालीसँग शिवहरि ज्ञवाली गफिए । यो सेसनमा उनीहरुले मान्छेका सपना र समय एवं परिस्थितिले कसरी मानिसलाई सपनाको दास बनाउँछ भन्ने संवाद गरे । साथै नारायण ढकालको ‘तमस’ पुस्तक विमोचनका अवसरमा खगेन्द्र संग्रौला र गनेस पौडेलसँग गफिए भूपेन्द्र खड्का । यो सेसनमा ढकालको यही पुस्तकमाथि वक्ताले चर्चा गरेका थिए । कार्यक्रममा संग्रौलाले पुस्तकसँगै नारायण ढकालको व्यक्तित्वमाथि आफ्ना धारणा राखेका थिए ।

Advertisement

कार्यक्रममा ‘अध्ययनको भोक’ शीर्षकमा अन्तक्र्रिया भयो । संवाद सहभागी थिए; शान्ता चौधरी, करिश्मा मानन्धर र सविना कार्की । यसमा उनीहरुले नेपालमा बढ्दै गएको पठन संस्कृति र शिक्षा एवं पठन अभिरुचिबारे छलफल गरे । पठन अभिरुचि बढाउन समाजमा सचेतना जगाउनुपर्नेमा उनीहरुको जोड थियो । यही सेसनको अली मियाँ कक्षमा ‘कारागारमा किताबी संसार’ शीर्षकमा संवाद चल्यो । यसमा संवाद गरे; महेशविक्रम शाह, धर्मराज विश्वकर्मा र कुमारी लामाले । उनीहरुले नेपालमा कारागारको अवस्था र त्यहाँका दूरावस्थाबारे चर्चा गरे । कारागारमा कतिपय अवस्थामा निर्दाेष मानिस पनि परेको र उनीहरुका लागि लडिदिने कोही नभएको गुनासो गरे ।

यससँगै अर्काे सेसन रह्यो, ‘दृष्टिदान’ । यो शीर्षकमा संवादमा थिए; नेत्र चिकित्सक सन्दुक रुइत र टेलिभिजन प्रस्तोता रवि लामिछाने । यसमा उनीहरुले नेपालमा अन्धोपनको समस्या मात्र केलाएनन्, त्यसमा भइरहेका पहलबारे पनि छलफल गरे । डा. रुइतले पुर्‍याएको योगदानबारे प्रस्तोता लामिछानेले केही सन्दर्भ उजिल्याए । रुइतले आफूले नेपालमा नेत्र चिकित्साको क्षेत्रमा गरेका र गर्न खोजेका विषयबारे आफ्ना धारणा राखे । नेपालमा कम शुल्कमा मोतियाबिन्दुको शल्यक्रिया हुने गरे पनि त्यसकै लागि औद्योगिक राष्ट्र एवं विकसित मुलुकमा ५ हजार डलर लाग्ने गरेको डा. रुइतले बताए । त्यसैले मोतियाबिन्दुको शल्यक्रिया नेपालका लागि वरदान सावित भएको उनको भनाइ छ । आफ्नो कर्ममा प्रतिबद्ध डा. रुइतले यसैमा आफू रमाएको बताए । साथै अहिलेको अवस्थामा आफूलाई राष्ट्रपति बन्न अफर आए पनि त्यसलाई स्वीकार नगर्ने उनको भनाइ छ । आफ्नो कर्म आफ्ना लागि सबथोक भएको र सर्वसाधारणको सेवा गर्न पाउँदा त्यसले आफूलाई सर्वस्व दिएको उनले बताए ।

महोत्सवको अर्काे सेसन थियो, ‘बतासमा बारुदको गन्ध’ । यसमा सहभागी भए, मनोरञ्जन व्यापारी र दिनेश काफ्ले । रोचक किसिमको यो सेसनमा मनोरञ्जन व्यापारीले आफूले जीवनमा घटाएका वा घटाउनु परेका अनौठा घटनाबारे रोचक प्रसंग सुनाए । साथै आफ्नो अध्ययन एवं बाल्यकालका कठिन र रोचक प्रसंगबारे पनि व्यापारीले आफ्ना अभिव्यक्ति दिए ।

यही समयमा ‘राजनीतिको आपराधीकरण, अपराधको राजनीतिकरण’ शीर्षक सेसन रह्यो । यसमा गफिए; देवेन्द्र सुवेदी, हरिबहादुर थापा र जनकराज सापकोटा । उनीहरुले नेपालमा बढ्दै गएको आपराधिक गतिविधि र नियन्त्रणका उपायमात्र सुझाएनन्, राजनीतिक वृत्तमा पनि हाबी भएको आपराधीकरणले कसरी समस्या निम्तिँदै गएका छन् भन्नेबारे छलफल गरे । नेपालमा कसरी आपराधीकरण हाबी भइरहेको छ भन्नेमा वक्ताले अन्तर्राष्ट्रिय उदाहरणसमेत प्रस्तुत गरे । निर्वाचनताका जीतका लागि उम्मेदवारले कसरी गुन्डाको सहारा लिन्छन् भनेर समेत यो सेसनमा छलफल भयो । भ्रष्टाचारलगायत अभियोगमा बन्ने गरेका छानबिन आयोग पनि जनताको आँखामा छारो हाल्नमात्र गर्ने गरिएको वक्ताको भनाइ थियो ।

महोत्सवको अर्काे सेसन थियो, ‘जाग लम्क, चम्क हे खेलकुदका बदलिँदा आदर्श’ । यसमा मीरा राई, ननीता बज्राचार्यसँग छलफलमा जुटिन् शिवानी सिंह थारु । उनले नेपालमा खेलकुदको अवस्था र समस्यामात्र केलाएनन्, यसमा जम्न, अघि बढ्न र जित्न कति कठिन छ भन्नेबारे पनि चर्चा गरे । साथै यस क्रममा आफूहरुले भोग्नुपरेका समस्या पनि उनीहरुले सुनाए ।

यसै समयमा अर्काे सेसन पनि चल्यो, ‘राइटिङ होम एन्ड होमल्यान्ड’ । यसमा गफिए; जमिल जन कोचाई र इतिशा गिरी । उनीहरुले आफ्नो जन्मस्थान र देशका बारेमा गरिने सिर्जना एवं साहित्यबारे चर्चा परिचर्चा गरे ।

यसैगरी ‘नेपाल नेक्ससः राजनीतिमा भूराजनीति’ सेसन पनि महोत्सवको आकर्षणका रुपमा रह्यो । यसमा युवा नेता गगन थापा, पत्रकार सुधीर शर्मा र यादव देवकोटाले छलफल गरे । उक्त अवसरमा शर्माद्वारा लिखित अंग्रेजी पुस्तक नेपाल नेक्सस सार्वजनिकीकरण पनि गरियो । सेसनका अवसरमा नेपालमा बढ्दै गएको राजनीतिक हस्तक्षेप एवं सीमा समस्या, राजनीतिक नेतृत्वमा देखिएको अदूरदर्शीपन, त्यसले निम्त्याएका समस्या, सीमा समस्या समाधानमा नदेखिएको पहल आदि विषयमा छलफल गरे । साथै भूराजनीतिमाथि भइरहेको राजनीतिबारे उनीहरुले विशद् व्याख्या विश्लेषण पनि गरे ।

तपाईको प्रतिक्रिया