लोमान्थाङमा हिउँमाथि सुटिङ

समाधान संवाददाता २०७६ मंसिर ३० गते १२:३२

एसके थकाली
जोमसोम

उपल्लो मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको पहलमा आसन्न नेपाल भ्रमण वर्ष सम्बन्धी २ वटा गीत तयार पारेका छन् । उक्त गीतको म्युजिक भिडियोका लागि शनिबारदेखि उपल्लो मुस्ताङमा हिउँमाथि छायांकन भइरहेको छ ।

सांसद बिष्टले आफ्नो १ वर्षसम्मको प्राप्त तलबभत्ताको रकम खर्चिएर गीतसँगै म्युजिक भिडियो छायांकनमा लगानी गरेका हुन् । सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्देश्यले म्युजिक भिडियो निर्माणमा सांसद बिष्टले व्यक्तिगत लगानी गरेका हुन् । आसन्न नेपाल पर्यटन वर्षलाई लक्ष्य गरी उनले प्रिज्मा रेकर्डिङ स्टुडियोमा लोकगीत र अर्को आधुनिक गीत रेकर्ड गराएका हुन् । गीतको पोस्टप्रोडक्सन साई भिजन प्रालि छ ।

Advertisement

दुबै गीतको शब्दरचना रमेश बिजीको छ । गीतको लोकभाकातर्फ चर्चित लोकदोहोरी गायक रामजी खाँड र गायिका संगीता थापामगरले स्वर दिएका छन् । आधुनिक पर्यटन वर्ष सम्बन्धी गीतमा गायिका निशा गुरुङले स्वर दिएकी छिन् । २ गीतमा बिबी अनुरागी र सुरेश अधिकारीको संगीत संयोजन छ ।

म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफर प्रकाश भट्ट छन् । छायांक राजेश घिमिरेले गरेका छन् । पर्यटन वर्षको लोकगीतमा रामजी खाँड र संगीता थापामगर स्वयंले अभिनय गर्नेछन् । आधुनिक गीतमा निशा गुरुङले अभिनय गर्ने सांसद विष्टले जानकारी दिए । उनका अनुसार पर्यटन वर्ष सम्बन्धी दुबै गीतको छायांकन उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ बजार, चराङ, मराङ र चैलेमा हुनेछ । तल्लो मुस्ताङको छुसाङ, कागबेनी, मुक्तिनाथ, धौलागिरि र नीलगिरि बेसक्याप लगायतमा समेत छायांकन हुने उनले जनाए ।

Advertisement

गत शुक्रबारदेखि परेको हिमपातले मुस्ताङका डाँडाकाँडा पुरै सेताम्मे भएको छ । यही सेताम्मे डाँडाकाँडालाई पर्यटन म्युजिक भिडियो गीतमा कैद गर्ने उद्देश्यले सांसद बिष्टसहितको छायांकन टोली उपल्लो मुस्ताङ पुगेको हो । बिष्टका अनुसार गीतको म्युजिक भिडियोमा मुुस्ताङको अनौठो प्रकारको भूगोल, स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु, मौलिक कलासंस्कृति, स्थानीय रहनसहन, भेषभुषा र धार्मिकस्थलको छायांकन हुनेछ । पर्यटन वर्षको सुरुआती दिन आउदो जनवरी १ मा म्युजिक भिडियो एक भव्य समारोहबीच सार्वजनिक गरिने भएको हो । टोलीले मुस्ताङमा एकसाता बसेर दुबै गीतको छायांकन संम्पन्न गर्ने निर्देशक प्रकाश भट्टले जानकारी दिए ।

मुस्ताङको समग्र पर्यटन समृद्धि र विकासका लागि सांसद बिष्टले गीतमा आर्थिक लगानी गरेका हुन् । गीत र म्युजिक भिडियोकै सहयोगमा विश्वमाझ मुस्ताङलाई चिनाउन सकिने सांसद बिष्टले उल्लेख गरे । सरकारले भिजिट नेपाल २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना बनाइरहेकोमा पर्यटन म्युजिक भिडियोले गण्डकी प्रदेशकै पर्यटनमा सघाउ पुर्‍याउने उनको दाबी छ । मुस्ताङमा बर्सेनि ६० हजार पर्यटक भित्रिँदा उपल्लो मुस्ताङमा ४ हजार पर्यटकमात्र पुग्ने गरेको एक्याप लोमान्थाङको रेकर्ड छ ।

तपाईको प्रतिक्रिया