पोखरा पल्टनको जित सुरुवात

समाधान संवाददाता २०७६ मंसिर ३० गते १२:३८

समाधान संवाददाता
पोखरा

Advertisement

पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले काठमाडौ गोल्डेन्स वारियार्सलाई ९ विकेटले पराजित जित सुरु गरेको छ ।

आइतबार भएको उदघाटन खेलमा टस जितेर फिल्डिङ रोजेको पोखरा पल्टनले काठमाडौं गोल्डेन्स वारियार्सलाई ८ विकेटको क्षतिमा १ सय १५ रनमा रोक्न सफल भयो । १ सय १६ को लक्ष्य पछ्याएको पोखराले १४.१ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै काठमाडौं गोल्डेन्समाथि जित हासिल गरेको छ ।

Advertisement

पोखरा पल्टनको तर्फबाट रवि इन्दर सिंहले १५ औं ओभरको पहिलो बलमा वसन्त रेग्मीलाई छक्का हान्दै खेलको जितको नजिक पुर्‍याए । पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशलले ४.२ ओभरमा ३१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका हुन् ।

पोखरा पल्टनलाई सजिले जित दिलाउन कुशल भुर्तेलको अर्धशतकीय पारि पोखरा प्रिमियर लिगमा रेकर्ड राखे । ओपनिङमा आएका भुर्तेलले ४३ बलमा ६५ रनको अविजित पारि खेले । उनले ४३ बलको सामना गर्दा ५ छक्का र ४ चौकासमेत आफ्नो नाममा लेखाए । तेस्रो ब्याट्स्मयानका रुपमा मैदानमा उत्रिएका रवि इन्दर सिंहले ३२ बलमा ३८ रन बनाउँदै अविजित रहे भने आशिफ शेखले १४ रन बनाएर शुसन भारीको बलमा एलविडब्लु हुँदै पेभिलियन फर्केका थिए ।

Advertisement

खेलेको सुरुमै व्याटिङमा उत्रिएको काठमाडौं गोल्डेन्स वारियार्सको ब्याटिङलाइन अपले खासै चमत्कार देखाउन सकेन । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं वारियर्सका ३ जना खेलाडीबाहेक अन्यले दोहोरो अंक जोडन सकेनन् । भारतीय खेलाडी सुबोध भाटीले २९ बलमा ४ छक्का र ४ चौकाको मद्दतले ४५ रन जोडे । उनी आशिफको बलमा सर्वाजित लड्डाको हातबाट क्याच आउट भए ।

गौरव तोमरले १३ रन बनाउँदा शुसन भारीले १० रनमात्रै जोड्न सके । कप्तान ज्ञानेन्द्र मल्ल १, जय किसन ९, सुभाष खकुरेल ६, पवन सरार्फ ६ रनमात्र जोडे । काठमाडौं वारियार्सलाई १ सय १५ रनमा रोक्न पोखरा पल्टनका लागि भारतीय बलर राशिद खान, ललित राजवंशी र कुशल मल्लले समान २–२ विकेट हात पारे भने प्रथमेश डाके र सर्वाजित लड्डाले समान १–१ विकेट हात पारे ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पोखरा प्रिमियर लिगले पोखरालाई चिनाउन भूमिका खेलेको भन्दै प्रशंसा गरे । खेलकुद व्यावसायीकरण नभएसम्म खेलकुदको विकास सम्भव नहुने गुरुङले बताए । मुख्यमन्त्री गुरुङले खेलकुदको विकासका लागि विभिन्न खेलकुद पूर्वाधार आवश्यक रहेको कुरा औल्याउँदै पोखरालाई खेलकुद, शिक्षा, स्वास्थ्य र पर्यटनसँगै खेलकुदको केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको कुरा राखे ।

पोखराको पूर्वाधार विकासका लागि संघीय सरकार, प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद र पोखरा महानगरपालिकाको संयुक्त लगानी हुनुपर्ने बताए । गण्डकी प्रदेश सांसद तथा अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले पोखरा पर्यटकीय सहरमात्रै नभई खेलकुदको सहर पनि रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालाको क्रिकेट खेल मैदानलाई छिटै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा परिणत गर्ने बताए । रंगशालाका लागि २ वटा डिपियार तयार भइसकेको बताउँदै अबको ३ वर्षमा पोखराको क्रिकेट रंगशाला निर्माणको काम सकिने बताए । कार्यक्रममा पिपिएल आयोजक संस्थाका क्वीन्स इभेन्ट मेनेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले सबैलाई दोस्रो संस्करणको पिपिएिल सफल पार्न आह्वान गरे ।

तपाईको प्रतिक्रिया