मुर्झाएको निबन्ध

समाधान संवाददाता २०७६ मंसिर ३० गते १२:४२

विकास रोकामगर
पोखरा

कस्तो छ निबन्धको खास अनुहार ? कुन प्रकारको लेखिन्छ ? कुनलाई निबन्ध मान्ने र कुनलाई नमान्ने ? नेपाली निबन्धको परिचय के छ ? अहिले नेपाली निबन्ध विधा दुविधामा छ । पत्रपत्रिकामा ‘लेख’ का रुपमा आएका विषयवस्तुपछि कृतिका रुपमा आउँदा ‘निबन्ध’ भइरहेका छन् ।

पछिल्लो समय लेखकले लेखेका आत्मसंस्मरण, यात्रा, नियात्रा, भूमिका सबैलाई निबन्धकै विधामा अटाउन थालेका छन् । पछिल्लो समय निबन्धलाई त झन् कुन्ठा पोख्ने शैलीका रुपमा परिभाषित हुँदै आएको छ । समकालीन निबन्धमाथि आरोप छ, ‘पछिल्लो समय निबन्धमा विचार र तथ्य कम हुन्छ । आत्मरुझान बढी हुन्छ । कुन्ठामात्रै पोखिन्छन् ।’

Advertisement

पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिबलको तेस्रो दिन ‘मुर्झाएको निबन्ध’ विषयक सेसनमा बहस भयो । पत्रकार विमल आचार्यले सहजीकरणमा गरेको बहसमा कवि तथा आख्यानकार रमेश सायन, रोशन शेरचन र समालोचक गीता त्रिपाठी सहभागी थिए ।

सेसनमा आचार्यले सबै वक्ताले निबन्धबारे सोधेपछि सबैले सहमति जनाए, ‘निबन्ध अब बन्द छैन । विराट विधामा प्रवेश गरिसक्यो । निबन्ध निर्बन्द भइसक्यो ।’ तर, रमेश सायन आत्मरुझानमात्रै लेखिन्छ भन्ने विषयमा सहमति भएनन् । सायनले अघि भने, ‘निबन्ध विराट भइसक्यो । यसमा आफ्नो रुचि के हो भन्ने कुरा पाठकले छुटयाउन पनि जान्नु पर्छ । के पढेने भन्ने विषय पाठकको रुचि र चेतनामा भर पर्छ ।’

Advertisement

अर्का वक्ता रोशन शेरचन कविताभन्दा निबन्धमा आफूलाई पाठकसँग तत्काल संवाद हुन पाउने दाबी गरे । ‘मेरो पनि पहिलो २ कृति कविता कै हो । तर, ती संग्रहबाट पाठकसँग संवाद हुन नसकेको जस्तो लागिसकेपछि म निबन्धमा आएँ,’ उनले भने, ‘निबन्धमा आइसकेपछि पाठकसँग सजिलै संवाद हुन थाल्यो ।’ उनले पनि निबन्ध पछिल्लो समय ठूलो क्षेत्रमा फैलिइसकेको सुनाए ।

शेरचनले आफूले निबन्धमा विचारलाई प्राथमिकता दिने बताए । उनले भने, ‘चेताप्रवाहशैली अलिक गाहो ट । त्यसमा भाषा, शैली, शील्पबारे गहन अध्ययन गर्न जरुरी छ । त्यसैले मचाहिँ मचाहिँ विचारलाई प्राथमिकता दिन्छु ।’ उनले लेखकका लेखहरु सरल र पाठकले बुझ्ने खालको हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनले अतिशय भावुकताबाट पन्छिन नसक्दा सम्म निबन्ध कहिले माथि नजाने दाबी गरे ।

निबन्ध समालोचक गीता त्रिपाठीले निबन्धमा पछिल्लो समय वैचारिकता हराउँदै गएको सुनाइन् । उनले भनिन्, ‘अहिलेको समयमा निबन्धमा विविधता आइसक्यो । तर, सबै कुन्ठा पोख्ने बाटोमात्रै भयो । वैचारिकता आएन ।’ उनले निबन्धमा हास्यव्यंग्य शैली पछिल्लो समय हराइसकेको र चलचित्रमा सीमित हुन गएको दाबी गरिन् ।’

‘पछिल्लो केही वर्षमा पाठक र लेखक आफैं अलमलमा छन् । आफ्नो परिवेश अनुसारको लेखन भइरहेको छ,’ त्रिपाठीले भनिन्, ‘अहिले धेरै आत्मकथा र यात्रासंस्मरण लेखिन थालेको छ । तर वास्तवमा यति छिट्टै मुझायो नै भन्ने होइन । निबन्ध कतातिर जाँदैछ भन्ने अन्यौल त छ ।’ उनले निबन्ध चिन्तन र विचार बिना निबन्ध नहुने बताइन् ।

त्रिपाठीले अघि भनिन्, ‘पछिल्लो समय निबन्धलाई मुर्झाउँदै गएको भनिएको छ । यसका पछाडि धेरै कारण छन् । हामी झुन्डझुन्डमा छौं । निबन्ध भनेको चिन्तन हो । विचार हो । बिना चिन्तन र विचार निबन्ध हुँदैन ।’ उनले लेखक निबन्धमा प्रवेश गरिसकेपछि कुन वर्गका लागि लेख्ने र सोही अनुसारको साधना पनि चाहिने सुनाइन् ।

तपाईको प्रतिक्रिया