समाधान पोखरा महोत्सवको मिडिया पार्टनर

समाधान संवाददाता २०७६ मंसिर ३० गते १२:५९

समाधान संवाददाता
पोखरा

समाधान राष्ट्रिय दैनिक दशौं पोखरा महोत्सवको मिडिया पार्टनर बनेको छ । यससम्बन्धी सम्झौतामा समाधानका व्यवस्थापक श्रीप्रसाद पोखरेल र दशौं पोखरा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शान्तबहादुर थापाले आइतबार हस्ताक्षर गरे ।

युनाइटेड क्लब पोखराले आयोजना गरेको महोत्सव पुस २९ देखि माघ १२ गतेसम्म अमरसिंह चौरमा हुनेछ । स्थापना कालदेखि नै पोखराको अमरसिंह चौरमा पोखरा महोत्सव गरी क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद पर्यटन प्रवद्र्धनका लागि योगदान गर्दै आएको छ । क्लबका महसचिव एवं महोत्सव प्रचारप्रसार उपसमिति संयोजक थापाले ‘प्रदेशको शान, पोखरेलीको पहिचान’को रुपमा चिडियाखाना निर्माणलाई अघि बढाइएको बताए ।

Advertisement

उनले महोत्सवमा राष्ट्रिय महिला भलिबल र विद्यालय स्तरीय खुला लोकनृत्य प्रतियोगिता आकर्षणका रुपमा रहने जानकारी दिए । सामाजिक संस्थाले यस क्षेत्रको पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, खेलकुदको विकासका लागि गरेको महोत्सवमा सबैको सहयोग मिल्ने थापाले अपेक्षा गरे । उनले भने, ‘पर्यटन प्रवद्र्धन, सामाजिक दायित्व निर्वाह गर्दै आएको महोत्सवलाई सबैको साथ मिल्ने अपेक्षा गरेका छौं ।’

पोखरामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणमा पहलकदमीका साथै सेती नदी संरक्षण र लोडसेडिङका वेला विभिन्न टोलमा सौर्य बत्ति जडान क्लबले गरेको अध्यक्ष लालकाजी गुरुङले बताए । यसपालि महोत्सवलाई हिमश्री फुड्स प्रालिको रारा चाउचाउले मुख्य प्रायोजन गरेको छ । क्लबले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि विभिन्न विद्यालयमा छात्रवृत्ति कोषसमेत स्थापना गरेको छ । क्लबले हालसम्म ५५ लाख ८५ हजार चिडियाखाना निर्माणका लागि प्रदान गरिसकेको छ ।

Advertisement

पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१, र ३२ मा रहेका पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रको १ सय ३४ हेक्टरमा चिडियाखाना निर्माण भइरहेको छ । महोत्सवका ९५ प्रतिशत स्टल बुकिङ भइसकेका छन् । पर्यटन प्रवद्र्धन र पर्यटकीय स्थानका बारेमा जानकारी दिने स्टल निःशुल्क उपलब्ध गराइएको छ भने कृषि तथा हस्तकलाका स्टललाई विशेष छुट दिइएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभूषा संरक्षणमा टेवा पु¥याई शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितर्फ लैजाने अपेक्षा गरिएको छ ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारको दोहोरी गीत प्रस्तुति, लाइभ कन्सर्ट, हांस्य व्यंग्य प्रस्तुति, नेपाली संस्कृति झल्कने प्रस्तुति, बाल उद्यान, झाँकी प्रतियोगिताका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछन् ।

तपाईको प्रतिक्रिया