—सम्पादकीय— डा. रुइतलाई राजनीतिको भय

समाधान संवाददाता २०७६ मंसिर ३० गते १४:४४

डा. सन्दुक रुइत नेतृत्वको तिलगंगा आँखा अस्पतालले देशविदेशमा प्रख्याति कमाएको छ । आँखाको उपचारका लागि संसारभरमै सबैभन्दा उत्तम र सबैभन्दा सस्तो उपचार पद्दति विकास गरेर डा. रुइतले नेपालको शीर उचो पारेका छन् । आँखाका लागि आवश्यक लेन्स र अरु उपचार पद्दति पनि निर्यात भइरहनु नेपाल र नेपालीका लागि निकै ठूलो गर्वको विषय हो । डा. रुइत एक्लैले मात्रै १ लाख २५ हजार जनालाई दृष्टिदान गर्न सफल भएका छन् भने उनको टिमसमेतको हिसाब गर्दा यो संख्या निकै ठूलो हुन्छ । अफ्रिकादेखि उत्तर कोरियासम्म रुइत आफैं पुगेर अन्धोपनको निवारणमा योगदान गरेका छन् । विकसित देशमा मानिस पनि नेपालमा आएर आँखाको उपचार गर्न लोभिएका छन् । यसका लागि डा रुइतलाई सलाम गर्नैपर्छ । यतिका सफलताको पहेली के हो भनी सोध्दा उनी भन्छन्, ‘प्रतिबद्धता र इमान्दारी ।’ उनले अझै थपेको वाक्यले भने झसंग बनाउँछ । शुक्रबारदेखि पोखरामा सुरु भएको नेपाल लिटरेचर फेस्टिभलमा शनिबार दृष्टिदान सेसनमा उनले भने, ‘हाम्रो जस्तो संस्था राजनीतिबाट टाढै बस्नुपर्छ ।’ उनले यो पनि पुकारा गरे कि हे भगवान राजनीति नपसोस् ।

उनको पुकारा निकै संवेदनशील र गम्भीर छ । प्रष्टै बुझिन्छ कि नेपालमा कुनै संस्था ध्वस्त पार्नुप¥यो भने त्यहाँ राजनीति घुसाइदिए पुग्छ । आज यो देशमा जसले देश र नागरिकका लागि आफ्नो पेसाबाट अन्तरआत्मादेखि सेवा गरिरहेको छ, उसलाई राजनीतिको भय हुनु ठूलो बिडम्वना हो । राजनीति नीतिहरुको पनि नीति हो । यसैले नै हो देश कता लैजाने र नागरिकहरुको स्थिति कहाँ पु¥याउने भन्ने निर्धारण गर्ने । आज संसारमा जति पनि देश विकसित बनेका छन्, जहाँका नागरिक सुखी र खुसी छन्, त्यहाँ कुनै एउटा गैरसरकारी संस्था वा निजी संस्थाको करामतबाट त्यो उपलब्धि भएको होइन । त्यो सबै कुशल र असल राजनीतिक संस्कारको प्रतिफल हो । असल र कुशल राजनीतिले नै निजी र गैरसरकारी क्षेत्रसँग पनि हातेमालो गरेर देशलाई उचाइमा पु¥याइरहेको हुन्छ । तर हाम्रो देशमा एकाध व्यक्तिका प्रयासमा भएका सामाजिक उपलब्धिहरुलाई पनि राजनीतिको बुरी नजर लाग्ने गरेको छ । व्यक्तिगत, दलगत स्वार्थका लागि सिंगो संस्थामाथि तरबार प्रहार हुने गरेको छ ।

डा. रुइतलाई भयमुक्त बनाउने कर्तव्य पनि राजनीतिकै हो । यहाँका नेताहरुको हो । दलहरुको हो । कि उनीहरु डा रुइत र तिलगंगा जस्तो अस्पताललाई हौस्याउन् । जसरी आँखा उपचारमा फड्को मार्ने पद्दती डा रुइतले विकास गरेका छन्, त्यसमा थप उपलब्धिका लागि अनुसन्धान र अध्ययनका लागि सरकारले सघाओस् । यस्तामा मुद्दामा सबै दलहरुको एउटै धारणा बनोस् । तर बिडम्वना तिलगंगा अस्पताल विस्तारका लागि जग्गा खोजी हुँदा पनि सरकारले सघाउन सकेको छैन । बरु दलहरु, तिनका नेता र सरकारका उच्चपदाधिकारीहरु स्वास्थ्य क्षेत्रका लागि खलनायकै बनेका छन् । खलनायक यसमानेमा कि उनीहरु च्याउसरी निजी अस्पताल खुल्ने वातावरण बनाइरहेका छन् । मेडिकल शिक्षा पूर्ण सरकारी बनाउनु साटो निजी क्षेत्रलाई सुम्पन्न उद्यत छन् । आज एउटा रुइतलाई भयमुक्त बनाउन सकिएन भने अनेक क्षेत्रका हजारौं रुइतहरुको देशप्रेम मर्न सक्छ ।

Advertisement

तपाईको प्रतिक्रिया