हिमपातका कारण पोखरा–जोमसोम हवाई सेवा प्रभावित

समाधान संवाददाता २०७६ मंसिर ३० गते १६:३०

एसके थकाली, जोमसोम

मौसम प्रतिकुलका कारण गत बिहिबार देखि पोखरा–जोमसोम हवाई सेवा प्रभावित भएको छ । हिमपातपछि मुस्ताङको मौसम खुलेपनि उत्तरी हावाको प्रभावले उडान प्रभावित भएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

हिमपातले पोखरा–जोमसोम प्रभावित भएपनि सोमबार पोखराको मौसममा सुधार नभएकाले जोमसोममा जहाज आउन नसकेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दिपक बिकले बताए । उनले हिउदयामसंगै उडान घटेको उल्लेख गरे ।

Advertisement

पोखरा–जोमसोम हवाई सेवा अन्र्तगत तारा एअरलाईन्स र सुमित एअरलाईन्सले मुस्ताङमा नियमित हवाई सेवा दिईरहेकोमा हिउदयामसंगै सुमित एअरले हवाई उडान केही महिनाका लागि बन्द गरेको छ । अत्यधिक चिसो र हिमपात पर्ने भएकाले सुमित एअरले उडान स्थगित गरेको जनाएको छ । तारा एअरले भने पोेखरा–जोमसोम हवाई सेवालाई १२ महिना निरन्तरता दिईरहेको छ । अहिले पर्यटक नभएकाले दैनिक एक देखि दुई वटा उडानमा हुने गरेको तारा एअरका जोमसोम प्रतिनिधि सुचन लालचनले जानकारी दिए ।

शुक्रबार परेको हिउले कागबेनी देखि मुक्तिनाथ सडक समेत प्रभावित भएको छ । मुक्तिनाथ जाने कालोपत्रे सडक माथि हिउ परेकाले ठुला सवारी साधन मुक्तिनाथ जान नसकेको र हलुका फोरह्विील सवारी मात्र जान सक्ने अवस्था रहेको वारागुङ मुक्तिक्षेत्र पालिकाका सूचना अधिकारी सुर्य तिमिल्सिनाले जानकारी दिए । यस्तै ,हिमपातले उपल्लो मुस्ताङ सडक समेत अवरुद्ध भएको छ । सडक माथि बाक्लो हिउ जमेकाले उपल्लो मुस्ताङको यातायात सेवा अवरुद्ध बनेको घिलिङका स्थानीय निमा विवशले जानकारी दिए ।

Advertisement

मुस्ताङमा दिउँसोको तापक्रम माईनस ५ छ भने साँझको समय माईनस १५ पुग्ने गरेको छ । चिसोकै कारण खर्कको गोठमा राखिएका याकचौरी र भेडाच्याङग्रा बस्ती नजिक सार्नु परेको पशुपालक किसान भुपिन शेरचनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया