बुटिक व्यवसायमा जनशक्ति अभाव छः चिनु गुरुङ

समाधान संवाददाता २०७६ पुष १ गते ११:५२

समाधान संवाददाता, पाेखरा

पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चिनु गुरुङले बुटिक व्यवसायमा जनशक्ति अभाव रहेको बताउनुभएको छ ।

पोखरा–८, सुन्दरमार्गस्थित ग्लोरी फेशन होमको सातौं वार्षिकोत्सवका अवसरमा बोल्दै उपमहासचिव गुरुङले बुटिक व्यवसायमा आवश्यक जनशक्ति पोखरा बाहिर त्यसमा पनि अझ देश बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो । स्वदेशमै जनशक्ति उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले स्वदेशी जनशक्ति उत्पादन भएको खण्डमा बुटिक व्यवसाय अघि बढाउन अझै सहज हुने धारणा व्यक्त गर्नुभयो ।

Advertisement

पछिल्लो समय बुटिक व्यवसाय फस्टाउँदै जान थालेको बताउँदै वरिष्ठ सौन्दर्यकर्मी समेत रहनुभएकी गुरुङले उचित लगानी र सो अनुसारको बजारीकरणको आवश्यकता रहेकोमा जोड दिनुभयो । व्यवसायमैत्री वातावरण निर्माणका लागि पोखरा उद्योग वाणिज्य संघले सधैं लडिरहेको उल्लेख गर्दै उहाँले उद्योगी, व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायसम्म पुर्‍याउने कुरामा आफूहरूले अगुवाइ गर्ने भनाइ राख्नुभयो ।

बुटिक एशोसिएसन नेपाल, पोखराकी अध्यक्ष सुष्मा पाण्डे थापाले बुटिक व्यवसायमा अवसरसँगै चुनौती समेत बढेको बताउँदै लगानी सुरक्षा व्यवसायीका लागि मुख्य चुनौती भएको उल्लेख गर्नुभयो । ग्लोरी फेशन होमकी सञ्चालिका शान्ति श्रीसले चाहेको खण्डमा व्यवसाय गर्न सकिन्छ भन्ने प्रमाणित गर्न खोजेको बताउनुभयो । दुई जना कर्मचारीबाट सुरु गरेको व्यवसायमा सातौं वर्ष पूरा गर्दासम्म आठ जना कर्मचारी कार्यरत रहेको बताउँदै ग्राहकको विश्वास र शुभेच्छुकको साथले आफू सफल भएको उल्लेख गर्नुभयो ।

Advertisement

कार्यक्रममा रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष विनोदप्रसाद हेजू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी ‘आस्था’ मगर, सबिता बराललगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया