गल्याङमा मसलाबाली प्राथमिकतामा

समाधान संवाददाता २०७६ पुष २ गते ११:३७

समाधान संवाददाता
स्याङ्जा

गल्याङ नगरपालिकामा मसलाबाली जोन कार्यक्रम कार्यान्वयनका लागि सञ्चालक समिति गठन भएको छ । नगरपालिकामा मसलाबाली कार्यक्रम कार्यान्वयन गर्नका लागि ९ सदस्यीय सञ्चालक समिति गठन भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपर जोन कार्यान्वयन इकाइ स्याङ्जाले गल्याङमा मंगलबार कार्यक्रम गरी सञ्चालक समिति तथा सल्लाहकार समिति सर्वसम्मत चयन गरिएको छ ।

जोन सञ्चालक समितिको संयोजकमा वडा नम्बर ३ का हिमलाल भण्डारी चयन भएका छन् । यस्तै उप संयोजकमा वडा नम्बर ११ बाट सपना अधिकारी र सचिवमा वडा नम्बर ९ बाट कोपिला कोइराला चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा वडा नम्बर ७ बाट अग्नी न्यौपाने छन् भने सदस्यमा वडा नम्बर ४ बाट मनोज थापा, वडा नम्बर १० बाट शालिकराम थापा, वडा नम्बर २ बाट दिलु थापा र वडा नम्बर ८ बाट शेरबहादुर सार्की चयन भएका छन् ।

Advertisement

मसलाबाली जोनमा ७ सदस्यीय सल्लाहकार समिति चयन भएका छन् । सल्लाहकार संयोजकमा वडा नम्बर ३ का चिन्तामणी अर्याल छन् भने सदस्यमा वडा नम्बर १ बाट पम्फा तिवारी र खुमकान्त बस्याल, वडा नम्बर ४ बाट रुक्मागत न्यौपाने, वडा नम्बर ५ बाट धनबहादुर दर्लामी र टोकराज पाण्डेय तथा वडा नम्बर ६ बाट सीता चापागार्इँ छन् ।

समिति गठन कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले किसानले लगाएको अदुवा बिक्रीको ग्यारेन्टी नगरपालिकाले लिने बताए । उनले अन्य सबै क्षेत्रको बजेट कटाएर भए पनि किसानले लगाएको अदुवाको लागतको दोब्बर मूल्यमा नगरपालिकाले खरिद गर्ने बताए । नगरप्रमुख अधिकारीले भने, ‘सकेसम्म धेरै मूल्यमा बिक्री गर्नुहोस्, बिक्री भएन भने नगरपालिकाले लागत मूल्यको दोब्बर रकममा खरिद गर्नेछ ।’

Advertisement

ठूलो कसरत गरेर मसलाबाली जोन कार्यक्रम ल्याउन सफल भएको भन्दै उनले यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न किसानलाई जागरुक बन्न आग्रह गरे । नगरप्रमुख अधिकारीले अनुदानको नाममा फाइल मिलाउनेले मात्रै फाइदा लिने गरेको भन्दै अब वास्तविक काम गर्ने किसानले मात्रै अनुदान पाउने बताए । नेपालमै नभएको दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था गल्याङ नगरपालिकाका किसानका लागि गरेको भन्दै उनले ३०÷४० हजार रुपैयाँ मासिक कमाउन अब विदेश जानु नपर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपर जोन कार्यान्वयन इकाई स्याङ्जाका प्रमुख कृषि अधिकृत मदनकुमार श्रेष्ठले गल्याङमा मसलाबाली जोनका लागि अब छिट्टै कर्मचारीको व्यवस्थापन गरी काम सुरु हुने बताए । यो वर्ष इकाईबाट ४५ लाख रुपैयाँ बराबरको कार्यक्रम रहेको जानकारी दिदै उनले वीऊमा ५० प्रतिशत अनुदान, सिंचाई, कृषि औजार लगायतका क्षेत्रमा पनि कार्यक्रम रहेको स्पष्ट पारे ।

कार्यक्रममा गल्याङ नगर कार्यपालिका सचिवालय प्रमुख दलबहादुर सिंजालीले मसलाबाली कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्ने बताए । कार्यक्रमको सञ्चालन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपर जोन कार्यान्वयन इकाई स्याङ्जाका कृषि प्राविधिक इन्द्र सुवेदीले गरेका थिए ।

तपाईको प्रतिक्रिया