ज्ञानेन्द्रको विस्फोटक सतक

समाधान संवाददाता २०७६ पुष ३ गते १२:३९

ईश्वर देवकोटा
पोखरा

पोखरा रंगशालामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट खेलमा कप्तान ज्ञानेन्द्र मल्लको विस्फोटक सतकपछि काठमाडौं गोल्डेन वारियर्सले धनगढीमाथि जित हात पारेको छ । बुधबारको पहिलो खेलमा काठमाडौंले धनगढीलाई १ सय ६ रनले पराजित गरेको हो ।

५ विकेट गुमाएर काठमाडौंले बनाएको १ सय ८५ रनको विशाल लक्ष्य पछ्याउन धनगढीलाई हम्मे प¥यो । निर्धारित १७ ओभरमध्येका अन्तिममा अलआउट हुँदै धनगढी ७९ रनमा सीमित भयो । मौसम खराबका कारण खेल १७ ओभरमा छोट्याइएको थियो । टस जितेको धनगढीले काठमाडौंलाई ब्याटिङको निम्तो दिँदै चुनौती सामना गर्न तयार भएपनि खेलमा उत्कृष्ट प्रतिस्पर्धा गर्न सकेन ।

Advertisement

जितका लागि काठमाडौंका कप्तान ज्ञानेन्द्रले ३७ बलमा ९ छक्का र ८ चौकाको सहायताबाट एक्लैले सतक बनाए । जयकिसन कोल्सावालासँग १ सय ३१ रनको साझेदारी गर्दै धनगढीमाथि काठमाडौंले दबाब बढायो । ज्ञानेन्द्र अन्तिम ओभरमा धनगढीका कमलसिंह ऐरीको बलिङमा सन्दीप जोराको हातबाट क्याचआउट भएका थिए ।

फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा ज्ञानेन्द्रले पहिलोपटक सतक दर्ता गराएका हुन् । यसअघि सन् २०१६ को एभरेस्ट प्रिमियर लिग (इपिएल)मा आसिफ शेखले पञ्चकन्या तेजका लागि तथा अघिल्लो संस्करणको इपिएलमा रविइन्दर सिंहले भैरहवा ग्ल्याडिएटर्सका लागि सतकीय पारी खेलेका थिए । पिपिएलको इतिहासमा भने ज्ञानेन्द्रले बनाएको सतक पहिलो हो । उनले प्लेयर अफ द म्याचको उपाधि पनि हात पारे । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रले १५ दिन भित्रमा दोस्रो सतक प्रहार गरेका हुन् । यसअघि उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध सतक हिर्काएका थिए । त्यस्तै, प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ विरुद्धसमेत उनले सतक बनाएका थिए ।

Advertisement

काठमाडौंले ओपनर ब्याट्सम्यान गौरव तमोर पहिलो आभेरमै गुमाउनु परेको थियो । धनगढीका कमलसिंह ऐरीको बलिङमा कप्तान दीपेन्द्रसिंह ऐरीको हातबाट तमोर क्याचआउट भए । उनको रिप्लेसमा क्रिजमा उत्रिएका काठमाडौंका अमित श्रेष्ठले पहिलो ओभरमै १ छक्का र १ चौकाको प्रहारबाट खेललाई लयमा फर्काएका थिए ।

ब्याट्सम्यान अमितले काठमाडौंका लागि ३४ रन दिलाए । उनले २१ बलमा ६ चौका र एक चौका प्रहार गरे । चोथौं ओभरमा मात्रै कमलसिंह ऐरीको बलिङमा अमितले काठमाडौंका लागि ३ चौका हानेका थिए ।

अमितलाई बलर सागर ढकालले विक्रम ठगुन्नाले हातबाट उत्कृष्ट क्याचआउट गराए थिए । जयकिसन र अमितको साझेदारीमा काठमाडौंले ५१ रनको जोड्न सफल भयो । जयकिसनले ३७ बलमा ४६ रन जोडे । धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा ३९ रन खर्चिए । उनले अन्तिम ओभरमा कोल्सावाला, ज्ञानेन्द्र र सुवोध भाटीलाई आउट गरेका हुन् । सागर ढकालले १ विकेट लिए ।

विशाल लक्ष्य पछ्याएको धनगढीले खेलको सुरुआतमै राम्रो प्रदर्शन गर्न सकेन । ओपनर ब्याट्सम्यान सन्दीप सुनार पहिलो ओभरमा शून्य रनमै सीमित रहँदै आउट भए । उनलाई अमृत भट्टराईले अमित श्रेष्ठको हातबाट क्याचआउट गराए ।

धनगढीका श्रीमन्था विजयरत्ने १५ रन बनाए । पवन शराफले उनलाई आउट गराएका थिए । १२ बल खेल्दा श्रीमन्थाले १ चौका र १ छक्का प्रहार गरे । उनको रिप्लेसमा कप्तान दीपेन्द्र सिंह ऐरी क्रिजमा आएका थिए । तर उनले पनि उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उनलाई बलर बसन्त रेग्मीले आउट गराए । कप्तान दीपेन्द्रले ९ बलमा ८ रनको मात्रै जोड्न सके ।

रोड्रिगो थोमस १४ बलमा १० रन बनाएर आउट भए । उनलाई पनि वसन्त रेग्मीले पवन शराफको हातबाट क्याचआउट गराए । धनगढीका सन्दीप जोरा ६ बलमा ७ रन बनाएर आउट भए । सुशन भारीले पवन शराफकै हातबाट जोरालाई उत्कृष्ट क्याचआउट गराए ।

धनगढीका लागि सौरभ खनाल ९, विक्रम ठगुन्ना ९, अमित यादव ३, कमलसिंह ऐरी २ रनको योगफल बनाए । अन्तिम ओभरमा सागर ढकालसहित धनगढी अलआउट भएको थियो । सागरले ९ बलमा ६ रन मात्रै बनाए ।

काठमाडौंका लागि वसन्त रेग्मीले ३ विकेट लिए । पवन शराफ र सुवोध भाटीले समान २÷२ विकेट लिए भने, अमृत भट्टराई र सुशान भारीले १÷१ विकेट हात पारे ।

जित्नै पर्ने दबाबका कारण आफू र आफ्ना ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको कप्तान ज्ञानेन्द्र मल्लले सुनाए । कम बाउन्ड्रीका कारण धेरै रन बनाउनुपर्ने दबाब आफ्नो काँधमा आएको मल्लले बताए । उनले भने, ‘१७ ओभरमा छोट्याइएको खेल र सानो बाउन्ड्रीका कारण जतिसक्दो धेरै रन ल्याउनुपथ्र्याे ।’ यसअघिका २ खेलमा टोलीले पिच बुझ्दै खेल्दा आक्रामक खेल्न नसकेको कप्तान मल्लले सुनाए ।

यसअघि काठमाडौं प्रतियोगिताको २ खेलमा लगातार हार भोगेको थियो । उद्घाटन खेलमा साविक विजेता पोखरा पल्टनसँग काठमाडौं ९ विकेटले पराजित भएको थियो । बुटवल ब्लास्टरसँगको खेलमा भने सुपर ओभरमा हार बेहोरेको थियो । धनगढीले भने यसअघिको विराटनगर टाइटन्ससँगको खेलमा ५ रनले जित हात पारेको थियो ।

तपाईको प्रतिक्रिया