गोरखा ४ मा भीमसेनको शालिक

समाधान संवाददाता २०७६ पुष ३ गते १३:२४

मोहसिन अली मियाँ
गोरखा

गोरखा नगरपालिका ४ भीमसेन पार्कमा भीमसेनको शालिक निर्माण गरिएको छ । गोरखा नगरपालिकाले निर्माण गरेको शालिक आउँदो शानिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनवरण गर्ने भएका छन् ।

राष्ट्रिय विभूती थापाले नेपाल राज्यको एकीकरण र रक्षाका निम्ति महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनको सम्मानमा नगरपालिकाले पार्कभित्र पूर्ण कदको शालिक निर्माण गरेको हो । ‘गोरखाको मुख्य चिनारी भनेको इतिहास हो’, नगर प्रमुख राजनराज पन्तले भने, ‘नेपाल एकीकरणदेखिका इतिहास हामीसँग छन् । अब यसैको संरक्षण र प्रचार गरेर पर्यटक भित्रयाउने हाम्रो लक्ष्य हो ।’

Advertisement

ऐतिहासिक धरोहरको संरक्षणमा विशेष कार्ययोजनासहित अघि बढेको नगरपालिकाले जनाएको छ । करिब २० लाख लागतमा निर्माण भएको ५ फिट १० इन्च अग्लो शालिक नवीन आर्टसले तयार पारेको हो । आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा शालिक स्थापना र संरचना निर्माणका लागि भन्दै लागि २२ लाख ८४ हजार बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ । गोरखा दरबार आएका पर्यटकलाई भीमसेन पार्कसम्म पु¥याउने लक्ष्यसहित पार्कमा शालिक निर्माण गरिएको पन्तले बताए । ‘पार्कको सालिकले थप पर्यटक आकर्षित गर्ने हाम्रो अपेक्षा हो’, उनले भने, ‘कम्तीमा गोरखा बजार र दरबार आएका पर्यटकलाई भीमसेन पार्कसम्म लैजाने योजना हो ।’

यता, गोरखा नगरपालिकाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले पृथ्वीनारायण शाहको जन्मोत्सवका अवसरमा आगामी पुस २७ गते नगर क्षेत्रमा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीक अधिकृत कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् । ‘पुस २७ गते पर्ने पृथ्वी जयन्ती मनाउने निर्णय भएको छ’, उनले भनिन् ‘गोरखा नगरपालिका र मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने प्रस्ताव कार्यपालिकाले स्वीकृत गरेको छ ।’

Advertisement

शाहको योगदानको कदर गर्दै अहिलेको समयमा राष्ट्रिय एकताको भावना विकास गराउन दिवस मनाउन लागिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गोरखा नगरपालिकाले पर्यटन समिति निर्माण गरेको छ । नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा नगर पर्यटन समिति गठन भएको हो ।

तपाईको प्रतिक्रिया