समाजिक सञ्जालमा भिडियाे भाइरल भएपछि जुट्याे घाइतेलाई सहयाेग

समाधान संवाददाता २०७६ पुष ४ गते १३:४४

समाधान संवाददाता
दुलेगौंडा

बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका शिव थापा मगरलाई आर्थिक सहयोग गरिएको छ । भीमाद नगरपालिका ३ बगुवाका २९ वर्षीय थापा मगरलाई उपचारका लागि तनहुँ समाज युकेले संकलन गरेको ५ लाख ४५ हजार ३ सय रुपैयाँ प्रदान गरिएको हो । उक्त रकम युके समाजका उपाध्यक्ष केशरबहादुर रानाले भीमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालको रोहबरमा शिवकी श्रीमती संगीतालाई हस्तान्तरण गरे ।

२०७० सालमा घाइते थापा ६ वर्षदेखि दुखदायी जीवन बिताइरहेका थिए । ३ महिना अघि १ अनलाइन मिडियामा उनको भिडियो सार्वजनिक भएपछि सहयोग रकम संकलन थालेको रानाले बताए । ‘भिडियो हेरेपछि रकम संकलन अभियान चलायाैं’, रानाले भने, ‘सामाजिक सञ्जालमार्फत युकेमा सहयोगको अपिल गरेका थियौँ, ‘त्यहाँ भएका नेपालीले सक्दो सहयोग गर्नुभयो । त्यही रकम हस्तान्तरण गर्न पाउँदा सन्तुष्टि मिलेको छ ।’

Advertisement

नगरपालिकाले थापालाई आवासको व्यवस्था गरिदिने उपमेयर खनालले बताइन् । शिवलाई श्वासप्रश्वासमा समस्या भएकाले पाइप राख्नुपरेको छ । बायाँ आँखा मासुले पुरिएको छ । दायाँ आँखा भए पनि ज्योति छैन । आँखाको उपचारका लागि करिब ३० लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया