न्युरोडको पूर्वकिनारमा गाडी र मोटरसाइकल पार्किङ गर्न दिइने

समाधान संवाददाता २०७६ पुष ४ गते १४:०२

विकास रोकामगर
पोखरा

पोखरा महानगरले पुस १ गतेदेखि न्युरोड क्षेत्रका सडकमा ४ पांग्रे गाडी पार्किङ गर्न पूर्ण निषेध ग¥यो । तर, पार्किङस्थल नतोकेरै योजना लागु गर्न लागेको भन्दै चर्को विरोध भएपछि बुधबारबाट सडकको पूर्वी भागमा पार्किङ गर्न दिएको छ ।

मंसिरको दोस्रो साता सूचना प्रकाशित गरी महानगरले पुस १ गतेबाट लागु हुने गरी सडक पार्किङ निषेध गरेको थियो । मंगलबार र बुधबार महानगरले ट्राफिक प्रहरीको सहयोगमा गाडी चालक र धनीलाई हटाइएको पनि थियो । तर, सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि दिउँसोबाट १ भागमा पार्किङ गर्न दिइएको हो ।

Advertisement

‘न्युरोडमा व्यवसायी, स्वास्थ्यकर्मी र शिक्षक पनि छन् । तत्काल नियम लागु गर्दा उनीहरुलाई समस्या पर्ने देखियो,’ महानगर यातायात व्यवस्थापन समिति प्रमुख इन्जिनियर सुरेन्द्र पौडेलले भने, ‘अहिलेलाई अर्को व्यवस्था नगर्दासम्मका लागि १ भागमा मात्रै पार्किङ गर्न दिने भएका हौं ।’

पार्किङस्थल बिना सडकमा पार्किङ गर्न नपाइने नियम लागु गर्दा ‘पार्किङ व्यवसायी’सँग मिलेमतोमा भएको आरोप लागेको छ । तर, महानगरले यस आरोपप्रति आपत्ति जनाएको छ । इन्जिनियर पौडेलले भने, ‘यो एउटा कम्पनीलाई जिम्मा दिएका होइनौं । यसमा अरु निजी कम्पनी इच्छुक भए हामी सम्झौता गर्न तयार छौं । तर २ वर्षको सम्झौता हुनैपर्छ ।’

Advertisement

महानगरले २ वर्षका लागि पार्किङ शुल्क उठाउन सडक नै ठेक्कामा दिने टेन्डर आह्वान गरेको थियो । पहिलोपटक ७ करोड रुपैयाँमा टेन्डर आह्वान गरेको महानगले सातौंपटकमा टेन्डर मूल्य घटाएर ३ करोड कायम गरेको थियो । तर, मूल्य घटाउँदा पनि सडक पार्किङ शुल्क उठाउन कुनै व्यवसायी इच्छुक नभएपछि निजी कम्पनीलाई ‘कुनै पनि कर तिर्नु नपर्ने’ गरी जिम्मा लगाउन लागेको हो ।

पार्किङका लागि ट्राफिक प्रहरीले फिस्टेल प्रिपेड पार्किङ नामक कम्पनीले तोकेको ठाउँमा जान ‘सुझाव’ दिइरहेका छन् । तर कम्पनीले भने आफ्नो व्यवसायसँग महानगरको कुनै सम्बन्ध नभएको दाबी गर्दै आइरहेको छ । पार्किङका लागि महानगरले ४ पांग्रे गाडीलाई प्रतिघन्टा २० रुपैयाँ र २ पांग्रे गाडीलाई प्रतिघन्टा १० रुपैयाँ तोकेको छ ।

तपाईको प्रतिक्रिया