स्याउ जोनमै छैन यकीन तथ्यांक

समाधान संवाददाता २०७६ पुष ४ गते १४:१३

एसके थकाली
जोमसोस

मुस्ताङमा कति स्याउ उत्पादन हुन्छ भन्ने यकीन तथ्यांक नै छैन । देशमा संघीय व्यवस्था लागु भएपछि यससँग सम्बन्धित कार्यालय खारेजी भएको र कार्यालयको जिम्मेवारी हेरफेर भएकाले तथ्यांक संकलनमा सकस भएको छ । जसका कारण स्याउको तथ्यांक सार्वजनिक गर्न सकिएको छैन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउ जोन मुस्ताङका कार्यालय प्रमुख माधव लम्सालले संघीयतापछि जिल्लामा स्याउको तथ्यांक संकलन गर्न अप्ठेरो परेको बताए । उनका अनुसार साविक जिल्ला कृषि विकास कार्यालय खारेज भएको, साविकका कृषि सेवा केन्द्र सम्बन्धित स्थानीय तहमा हस्तान्तरण भएको, मुस्ताङ र म्याग्दीलाई जोडेर प्रदेश सरकारले संयुक्त कार्यालय म्याग्दीमा स्थापना गरेको र संघीयता अघि स्याउको पकेट र ब्लग भए पनि संघीयतापछि स्याउ जोन कार्यालय नयाँ भएकाले स्याउको तथ्यांक संकलन हुन नसकेको स्पष्ट पारे । सम्बन्धित स्थानीय तहका कृषि सेवा केन्द्रका कर्मचारीले स्याउको वार्षिक उत्पादित तथ्यांक संकलन गर्न चासो नदिएको स्याउ जोन कार्यालय प्रमुख लम्सालले जानकारी दिए ।

Advertisement

स्याउ जोन कार्यालय मुस्ताङले विगत वर्षमा उत्पादित स्याउको तथ्यांक अद्यावधिक गरी यस वर्ष अनुमानित वार्षिक स्याउ उत्पादन तथ्यांक सार्वजनिक गरेको छ । कार्यालयका अनुसार यस वर्ष मुस्ताङमा ६ हजार ५ सय टन स्याउ फलेको अनुमान छ । जिल्लाका ५ स्थानीय तहमध्ये ४ स्थानीय तहको ५ सय हेक्टर जमीनमा लगाइएको स्याउ बोटबाट ६५ करोड रुपैयाँ मुस्ताङ भित्रिएको कार्यालय प्रमुख लम्सालले जनाए । उनका अनुसार उत्पादित स्याउ ८५ प्रतिशत जिल्ला बाहिरिएको र १५ प्रतिशत स्याउ जिल्लामै खपत भएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा मुस्ताङमा ५ हजार ३ सय टन स्याउ फलेको थियो भने आर्थिक वर्ष ०७५÷०७६ मा ५ हजार ८ सय टन स्याउ फलेको स्याउ जोन कार्यालयले जनाएको छ ।

गत वर्ष मुस्ताङमा १ हजार २ सय हेक्टरमा स्याउ खेती गरिएकोमा पछिल्लो समय थप १ सय हेक्टरमा थप विस्तार भएकाले अहिले १ हजार ३ सय हेक्टरमा स्याउ खेती गरिएको स्याउ जोन कार्यालयले बताएको छ । चालु वर्ष उच्च घनत्वको ४० हेक्टर जमीनमा १० हजार बिरुवा र ६० हेक्टर जमीनमा १२ हजार स्थानीय स्याउ बेर्ना विस्तार भएको हो । यसअघि जिल्लाको घरपझोङ गाउँपालिकामा २५ सय बेर्ना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १४ हजार ६ सय ५० बेर्ना लगाइएको थियो ।

Advertisement

मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकाको १ सय ९६ हेक्टरमा १ हजार ६ सय टन, घरपझोङको ५ सय १ हेक्टरमा २ हजार ८ सय ९७ टन, वारागुङ मुक्तिक्षेत्रको ४ सय ८२ हेक्टरमा १ हजार ४ सय ११ टन र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको १ सय २ हेक्टरमा ८६ टन स्याउ उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउ जोन मुस्ताङले जनाएको छ । यस वर्ष सबै पालिकालाई जोडेर ७ सय टन बढी स्याउ फलेको हो ।

मुस्ताङमा सडक सञ्जाल विस्तार भएसँगै स्याउ खेतीतर्फ किसान आकर्षित भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए । उनका अनुसार मुस्ताङ आउने पर्यटकलाई स्थानीय स्याउ नयाँ ब्रान्ड बनेको र स्याउको बजारीकण सहज भएकाले स्याउ खेती गर्न किसान उत्साहित भएका हुन् । मुस्ताङमा रेड डेलिसियस, रेड रोयल डेलिसियस, गोल्डेन डेलिसियस र फुजी जातका स्याउ रोपिएको छ । यस पटक किसानले गाला र जापानिज फुजी स्याउ लगाएको स्याउ जोन कार्यालयले उल्लेख गरेको छ । छिटो उत्पादन दिने भएकाले नयाँ जातका बिरुवामा किसानको आर्कषण बढेको हो ।

धमाधम स्याउ कटिङ
मुस्ताङका स्याउ किसान स्याउ कटिङमा जुटेका छन् । स्याउ कटिङ गरेपछि बोटले राम्रो फल दिने भएकाले बर्सेनि जाडो समय स्याउ बोटको अव्यवस्थित हाँगालाई कटिङ गरिन्छ । स्याउ जोन कार्यालयका अनुसार स्याउ कटिङ गर्नाले चोर हाँगा हट्ने, धेरै र गुणस्तरको फल दिने, बोटको आकार समान र आकर्षक देखिने, हावा र घाम बोटको सबै भागमा फैलिने भएकाले स्याउ कटिङ गर्नु अपरिहार्य हुन्छ । स्याउ कटिङसँगै स्याउ बोट र बिरुवामा बोडो पेस्ट र मिक्चर लगाउँछन् । बोडो र मिक्चरको प्रयोगले स्याउ बोटमा हुने संक्रमण न्यूनीकरण गर्ने र बोटमा ढुसी नलाग्ने हुन्छ । स्याउ कटिङका लागि स्याउ जोन कार्यालय र शीतोष्ण बागवानी विकास कार्यालय तालिम र गोष्ठी सञ्चालन गर्दै आएको वरिष्ठ बागवानी विकास अधिकृत बालकृष्ण अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया