विद्यालयभित्रै मिलाइयो यौन हिंसाको घटना

समाधान संवाददाता २०७६ पुष ४ गते १४:३६
Students padlocking the gate of Amarsingh Namuna Higher Secondary School after their study was halted due to a dispute over the appointment of the head teacher, in Pokhara, on Wednesday. Photo:THT

सुरेशराज अधिकारी
पोखरा

Advertisement

विद्यालय दोस्रो घर हो । गुरु, गुरुआमा अभिभावकसरह हुन् । विद्यार्थीले शिक्षकलाई त्यही अनुसार आदर र सम्मान गर्छन् । अनि शिक्षबाट पनि त्यस्तै व्यवहार अपेक्षा गर्छन् । आफ्नै विद्यार्थीलाई शिक्षकले गलत धारणले हेर्छ भनेर कल्पना पनि गरिंदैन ।

पोखराको अमरसिंह माविका १ शिक्षक आफ्नै छात्रामाथि यौनजन्य दुव्र्यवहार गरेपछि कारवाहीमा परेका छन् । कक्षा १० सम्मलाई पढाउने गरी स्थायी नियुक्ति पाएका शिक्षक उदयराज पोखरेलले बिहानी शत्रमा ११÷१२ कक्षामा समेत पढाउँथे । उनै पोखरेलले शिक्षा संकाय अन्तर्गत कक्षा ११ की छात्रामाथि यस्तै दुव्र्यवहार गरेका छन् । विद्यार्थीको चर्को विरोधपछि विद्यालय प्रशासन र व्यवस्थापन समितिले पेडागोजी विषय शिक्षक पोखरेललाई बिहीबार कारवाही गरेको छ । बिहानी शत्रको ११÷१२ कक्षामा शिक्षक पोखरेलले पढाउन नपाउने गरी कारवाही गरिएको प्रधानाध्यापक तेजस्वी बरालले बताए ।

ती छात्राको फेसबुक आइडी मागेर शिक्षक पोखरेलले अश्लील फोटो र चित्रहरु पठाउने गरेको आरोप छ । तिमीलाई राम्रोसँग लेख्न पनि आउँदैन भन्दै हात समाउने, एक्लै भएका बेला गलत मनसाय राखेर दोहोरो अर्थ लाग्ने कुरा गर्ने गरेको पीडित छात्राको भनाइ छ । सोमबार बिहान बिहानी शत्रका संयोजक इन्द्र भुसाललाई पीडित छात्रासहितको समूहले यो विषयमा जानकारी गराएको थियो । तर यो विषयलाई गम्भीररुपमा विद्यालय प्रशासनले नलिएपछि विद्यार्थी आक्रोशित हुँदै बिहीबार बिहान कक्षा बाहिर समेत निस्केका थिए । प्रधानाध्यापक तेजस्वी बरालले विद्यार्थीको धेरै गुनासो आएको र प्रदर्शनमै उत्रेपछि व्यवस्थापन समिति, विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीबीच बिहीबारै वार्ता भएको बताए ।

आरोपित शिक्षक पोखरेलले वार्ताका क्रममा आफू माफी माग्न तयार रहेको बताए पनि विद्यार्थीले उनीसँग आफूहरु पढ्नै नसक्ने भनेर अडान लिएका थिए । त्यही अनुसार पोखरेललाई बिहानी शत्रको जिम्मेवारीबाट मुक्त गरिएको प्रअ बरालले बताए । शिक्षक पोखरेलले यस अघि पनि छात्रामाथि दुव्र्यवहार गरेको गुनासो विद्यालय प्रशासनमा पुगेको थियो । तर उनी कारवाहीमा परेका थिएनन् ।

Advertisement

पोखरा महानगरपालिका शिक्षा महाशाखाप्रमुख गंगाबहादुर गुरुङ
विद्यालयमा हुने यौनजन्य हिंसाका घटनाका बारेमा अहिलेसम्म कुनै उजुरी नपरेको बताउँछन् । विद्यालयको वातावरण, कक्षाकोठाको भौतिक अवस्था लगायत निरीक्षण हुने तर यस्ता विषयमा चासो नपुग्ने उनको भनाइ छ । उनले भने, ‘विद्यालयमा हुने हिंसा लगायत घटनामा विद्यार्थीसँग सोधपुछ गर्ने चलन नै छैन, पीडितले उजुरी दिएमा भने शिक्षक र विद्यालयलाई कारवाही गर्न सकिन्छ ।’

तपाईको प्रतिक्रिया