चलन चल्तीबाहेकका लोकगीत लोपोन्मुख

समाधान संवाददाता २०७६ पुष ६ गते १२:३३

समाधान संवाददाता
पोखरा

लोक संस्कृतिका विज्ञले नेपाली मौलिक लोकगीत जोगाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले चलनचल्तीबाहेकका लोकदोहोरी लोपोन्मुख अवस्थामा रहेको उल्लेख गरेका छन् ।

लोक संस्कृतिविद् प्राडा कुसुमाकर न्यौपानेले लोकगीतका सबै विधालाई जोगाउनुपर्ने बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति तथा कास्की जिल्ला समितिको सहआयोजनामा भएको नेपाली लोक तथा दोहोरी गीतको अवस्था एवं परम्परा विषयक सङ्गोष्ठीमा प्राडा न्यौपानेले बाह्रमासे तथा चलन चल्तीका दोहोरीको तुलनामा संस्कार दोहोरी गीत जोगाउन कठिन भएको उल्लेख गरे ।

Advertisement

लमजुङे भाका, सालैजो, खेली, कौरा, देउडा, तीजे दोहोरी चलन चल्तीका तथा विकसित दोहोरी गीत भएको उल्लेख गर्दे उनले दोहोरी रेष्टुरेन्टले चलनचल्तीका दोहोरी जोगाएका छन् । बाह्रमासेको तुलनामा पर्व दोहोरी र कर्म दोहोरी कम चलेको जानकारी दिँदै उनले अरु प्रकारका दोहोरीको तुलनामा संस्कार दोहोरी गीत कम भएको उनको तर्क थियो ।

‘लोकगीतलाई लोकप्रिय र विकसित बनाउन व्यक्ति र संस्थाले योगदान गरे तापनि नेपाली दोहोरी गीतका सबै विधा फस्टाउन सकेका छैनन्,’ उनले भने, ‘चलन चल्तीबाहेकका गीत विकसित हुने मौका पाएका छैनन् । ती गीतमध्ये केही सामान्य अवस्थामा बाँचेका छन् । केही लोपोन्मुख अवस्थामा छन् ।’ उनले सिलोक हालेर गाइने संस्कार दोहोरी गीतको संरक्षण गर्नुपर्ने बताए ।

Advertisement

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले प्रदेश स्तरका लोक संस्कृति संरक्षण, अध्ययन तथा अनुसन्धानका लागि बजेटको व्यवस्था गर्न माग गरे । प्रतिष्ठानका लोकगीत विभागका प्रमुख हरिदेवी कोइरालाले प्रतिष्ठानको वार्षिक कार्यक्रम अन्तर्गत सङ्गोष्ठी गरेको बताइन् । नेपाली लोकगीतका अनुसन्धानकर्ता तुलसी प्रभासले परम्परालाई नमासीकन आधुनिकतालाई स्वीकार्दै लोकगीत विकास गर्नुपर्ने बताए । उनले समयानुकूल परिमार्जन र परिष्कृत गरेमा नेपाली लोकगीतले नेपाल र नेपालीको शिर उच्च राख्न सक्षम हुने उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजी, प्रतिष्ठानका गण्डकी प्रदेश समिति अध्यक्ष सुरेन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष पूर्ण परियार, कास्कीका अध्यक्ष टेक क्षेत्री, लोक गायक पदमराज ढकाल लगायतले लोकगीतबारे बोेलेका थिए ।

तपाईको प्रतिक्रिया