नयाँ वर्षमा फिस्टेल ड्रिमपार्क

समाधान संवाददाता २०७६ पुष ६ गते १२:३८

समाधान संवाददाता
पोखरा

सहरी क्षेत्रभित्रै शान्त र मनोरम ठाउँ, सबै उमेरकालाई मनोरञ्जन, विरलै सम्भव हुन्छ । भिजिट नेपाल २०२० को स्वागतमा तम्तयार पोखरामा यस्तै १ गन्तव्य थपिँदै छ । पोखरा १७ सीतापाइलामा भ्रमण वर्षभित्रै फिस्टेल ड्रिम पार्क सञ्चालनमा आउने भएको हो ।

चर्चित ढुंगेसाँघु मेला लाग्ने ठाउँ नजिकै बनिरहेको ड्रिमपार्क वैशाखभित्रै सञ्चालन गर्ने तयारी छ । सीतापाइलाको ६५ रोपनीमा आयु इन्टरटेनमेन्ट्स प्रालिले नेपालकै ठूलो र सुविधासम्पन्न पार्क बनाउँदै छ । प्रालिका अध्यक्ष कदम केसीले बच्चादेखि वृद्धसम्म सबैलाई दिनभरि मनोरञ्जन दिनसक्ने पार्क बनिरहेको बताए । उनले भने, ‘हाइड्रोमा लगानी गरिरहेका युवाले पर्यटनमा पाइला चालेका छौं । पोखरामा आर्कषक गन्तव्य थपिँदै छ ।’

Advertisement

यो ड्रिमपार्क नेपालकै सबैभन्दा ठूलो र सुविध सम्पन्न भएको निर्माण कम्पनीको दाबी छ । यो पोखराकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने केसीले दाबी गरे । ड्रिमपार्क २०७५ वैशाख १ मा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले शिलान्यास गरेका थिए । भ्रमण वर्षभित्रै सुरु हुने नेपालकै सर्वाधिक लगानी र विशेष इमेन्टहरु भएको फनपार्कले भिजिट २०२० लाई सफल बनाउन विशेष योगदान गर्ने अपेक्षा गरिएको छ ।

यहाँ छुट्टै वाटर जोन हुनेछ । वाटर जोनमा पनि बच्चा, युवा र वयस्कले फरक फरक तवरले मज्जा लिन मिल्ने इभेन्टहरु हुने छन् । वाटर स्प्लास, वाटर स्लाईड यहाँ बनाइनेछ । आरम्भमा २०÷२२ करोड लगानी निर्माण हुने अनुमान भए पनि सुविधा थपिँदै जाँदा लगानी केही बढेको कम्पनीले जनाएको छ । पार्क सञ्चालनमा आएपछि करिब २ सय जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

Advertisement

२० मिटर अग्लो फ्रिफल, फेमिली रोलर कोस्टर ड्राइपार्कका मुख्य आकर्षण भएको फनपार्कका डाइरेक्टर भरत गौतमले बताए । यहाँका पुलहरु वाटर पार्क एभरेस्ट पुल निर्माण सेवा हेटौडाले बनाइरहेको छ । एभरेस्टका साइट कोअर्डिनेटर मीनराज उप्रेतीले चैत मसान्तसम्म पुलहरु निर्माण गरी हस्तान्तरण गरिने जानकारी दिए । फनपार्क परिसरमै सुविधा सम्पन्न रेष्टुरेन्ट पनि बनाइनेछ । पुल लगायतका इभेन्टका संरचना बन्दै छन् भने किड्स जोनका लागि ठाउँ तयार भइसकेको छ ।

वाटर पार्कभित्र ७ इभेन्ट हुने छन् । लेजी रिभर, फेमिली स्लाइड पुल, बच्चाको पुल, वेभ पुल यहाँ रहने छन् । वेभ पुलमा समुद्रबाट निकै टाढा रहेको नेपालभित्रै नेपालीले समुद्रको झल्को आउने छालको मजा लिन पाउने छन् ।

वयस्कका लागि बनेको स्लाइड पुल करिब १२ मिटर अग्लो हुनेछ । माथिसम्म हिडेर जाने र स्लाइडबाट तल आइपुगिनेछ । अर्काे आकर्षण हो टोर्नाडो पुल । भुमरी जस्तो यो पुलले अर्काे विशेष आनन्द दिनेछ । वाटर जोनमै पुलविहीन सोफा स्लाइड पनि बन्ने ड्रिमपार्कका मार्केटिङ डाइरेक्टर हीराबहादुर केसीले जानकारी दिए ।

३ देखि ७, ८ वर्षका बच्चाका लागि किड्स प्ले जोन बनेको छ । इन्डोर गेमका लागि आवश्यक सामान एकमुष्ठ चीनबाट ल्याउने तयारी भएको छ । सुविधा सम्पन्न किड्स इन्डोर प्लेग्राउन्डसहित किड्स इभेन्टमा ३०÷३५ जना अट्ने ८ डि सिनेमा हल, स्केटिङ जोन पनि रहने छन् । डाइरेक्टर केसीले भने, ‘हाम्रा बच्चाहरु जेमा रमाउँछन्, त्यही खालका इभेन्ट यहाँ राखिनेछ ।’

वाटर जोन हिउँदमा कम चल्छ । हिउँद याममा पनि आगन्तुकलाई मनोरञ्जन दिन ड्राइ पार्क पनि बन्दै छ । यो पार्कमा १२÷१५ थरि इभेन्ट हुनेछन् । फेमिली रोलर कोस्ट यसको विशेष आकर्षण हो । यो ९÷१० मिटर अग्लो पिङ हो । सुपर वाटर स्पास पनि जाडोमा मज्जा लिन मिल्ने अर्काे इभेन्ट हो । पानीमा तलमाथि गर्ने तर नभिजिने खालको खेल विशेष इभेन्ट हो यो ।

वाटरपार्क सकेसम्म वैशाखबाटै सञ्चालन ल्याउने तयारी छ । सम्भव भए सबै इभेन्ट तयार गर्ने नभए वाटर जोनका इमेन्टसहित फनपार्क नयाँ वर्षबाट सुरु गर्ने योजनामा कम्पनी जुटेको छ । पार्कमा आधा कास्की र आधा बाहिरका पर्यटक भित्र्याउने योजना छ । डाइरेक्टर गौतम भन्छन्, ‘रमाइलो पनि हुने, कोलाहल पनि नहुने गरी २ देखि ३ हजारलाई एकै पटक इगेज गर्न सक्छौं । फनपार्क सस्टेन हुन दैनिक ५ सय र वर्षमा करिब २ लाख मानिसको यहाँ आवागमन हुनुपर्छ ।’ फमपार्क बनिसकेपछि अनलाइन बुकिङको समेत व्यवस्था गरिनेछ । फनपार्क परिसरमै एटिएम मेसिन राखिनेछ ।

तपाईको प्रतिक्रिया