स्मार्ट पोखरा बनाउन हुवाबेको प्रस्ताव

समाधान संवाददाता २०७६ पुष ७ गते १३:०२

फडिन्द्र अकिञ्चन
पोखरा

प्राकृतिक विविधता नै पोखराको मुख्य सुन्दरता हो । सेतीको खोंच, सहरभित्रैका ८ ताल, आँखैनजिक हिमाल देखिने पोखरालाई कस्तो बनाउने, बहस जारी छ । यो बहसको शीर्ष स्थानमै पर्छः स्मार्ट पोखरा । यही मुद्दा उठाएका मानबहादुर जिसी अहिले मेयर छन् ।

स्थानीय तहमा नेतृत्व चुनिएको साढे २ वर्षपछि स्मार्ट पोखरा बनाउन पोखरा महानगरले पहल थालेको छ । आइतबार हुवाबे टेक्निोलोजिज कम्पनी लिमिटेडका प्रतिनिधिले मेयर जिसीलाई भेटेर स्मार्ट महानगर बनाउने प्रस्ताव गरे । शनिबार हुवाबेका उपाध्यक्ष केभिज चेङ नेतृत्वको टोलीले मेयर जिसीसँग भेटवार्ता गरेको हो । यसअघि चीन भ्रमणका बेला जिसी नेतृत्वको टोलीले हुवाबे कम्पनी अवलोकन र भेटवार्ता गरेको थियो ।

Advertisement

हुवाबेका निक लुले महानगरको टोलीलाई विश्वका विभिन्न स्मार्ट सिटीका नमुना देखाए । उनले स्मार्ट पोखराका लागि केही सुझाव पनि दिए । हुवाबे स्मार्ट सिटी प्लानिङ गर्ने चिनिया अर्धसरकारी कम्पनी हो । य कम्पनीले ४० देशका १ सय ६० सहरलाई स्मार्ट बनाउने योजना बनाइसकेको छ ।

हुवाबेका विज्ञ लुले स्मार्ट सहर बनाउन ठूलो लगानी आवश्यक पर्ने उल्लेख गर्दै बजेट अनुसार चरणवद्ध रुपमा काम गर्न सुझाए । उनले भने, ‘पहिलो चरणमा स्मार्ट प्रदर्शनी केन्द्र बनाउनुहोस् । सहरका धेरैजसो कुरा त्यही हलबाट नियन्त्रण, अनुगमन गर्न मिलोस् ।’ स्मार्ट सिटी बनाएपछि अर्थतन्त्रमा उल्लेख्य सुधार देखिएको आँकडा उनले पेश गरे । स्मार्ट सहरका लागि स्मार्ट लाइट, सिसी क्यामेर सुपरभिजन, पब्लिक वाइफाइ, डिजिटल सिटी सेन्टर आदि आधारभूत पक्ष हुन् । लुले बजेट र आवश्यकताका आधारमा स्मार्ट सिटीको योजना बनाउनुपर्ने जनाए ।

Advertisement

मेयर जिसी पोखरा महानगर विश्वका विभिन्न सहरको अनुभव उपयोग गर्दै मौलिक तवरले काम गर्ने बताउँछन् । उनले स्मार्ट पोखरा बनाउन छुट्टै विभाग बनाएर सार्वजनिक निजी साझेदारीमा काम गर्ने सोच सुनाए । हुवाबेको प्रस्ताव हुबहु पोखरामा लागु नहुन पनि सक्ने भएकाले महानगर छलफलकै क्रममा रहेको उनको भनाइ छ । मेयर जिसीले भने, ‘यहाँका आइटी विज्ञहरुसँगको छलफल र विदेशी विज्ञको अनुभव दुवैलाई मिलाएर स्मार्ट सिटीको खाका कोर्छाैं ।’

स्मार्ट सिटीका लागि आवश्यक पूर्वाधार र कानुनका लागि संघीय सरकारको पनि सहयोग जरुरी हुन्छ । महानगरको आफ्नै सर्भर, ट्राफिक व्यवस्थापन, स्मार्ट बत्ती लगायतका काम महानगरले नै गर्न सके पनि सहरको सुरक्षा, कर संकलन, सूचना प्रणाली आदिबारे प्रदेश र संघको पनि समन्वय आवश्यक पर्ने देखिन्छ । जिसी भन्छन्, ‘सक्ने काम हामी सुरु गर्छाैं, अरु व्यवस्था र बजेटका लागि प्रदेश र संघसँग समन्वय गर्छाैं ।’ प्रविधि विदेशी भए पनि नियन्त्रण र सञ्चालन महानगरले नै गर्ने मोडलमा स्मार्ट सिटीको डिपिआर बनाइने उनले सुनाए ।

पोखरा महानगरले यो वर्ष जिरो किमीदेखि हल्लनचोकसम्मको क्लस्टरमा स्मार्ट डिजाइन बनाउन २ करोड विनियोजन गरेको छ । यो बजेटबाट सडकका घरमा एउटै रंग वा डिजाइनमध्ये १ काम गरिने महानगर स्रोत बनाउँछ । डिजिटल सिटीको मास्टर प्लान बनाउन पनि १ करोड बजेट छ । पोखराका धेरै व्यस्त २ चोक महेन्द्रपुल र हल्लनचोकमा ट्राफिक लाइट लाग्ने तयारी भइसकेको छ । २ करोड खर्चेर चाडै ट्राफिक लाइट राखिने भएको छ । स्मार्ट सिटीका प्रविधि र कार्यक्रम लागु गरी सिंगापुर, भारत, दुबइ, चीन, अमेरिका र युरोपियन मुलुकका केही सहर नमुना बनेका छन् ।

तपाईको प्रतिक्रिया