पिपिएलः चितवन र बुटवल प्लेअफमा

समाधान संवाददाता २०७६ पुष ७ गते १३:०८

चितवनका भुवन कार्की र बुटवलका अविनाश बोहरा म्यान अफ द म्याचको उपाधि लिँदै ।

ईश्वर देवकोटा
पोखरा

नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेटमा ४ खेलमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै आएको चितवन राइनोज र ३ खेल जितेको बुटवल ब्लास्टर्स प्लेअफमा पुगेका छन् । पारस खड्का कप्तानी रहेको चितवनले आइतबारको खेलमा विराटनगर टाइटन्सलाई १८ रनले हराएसँगै प्लेअफमा सहज स्थान बनाएको छ ।

Advertisement

आइतबारकै खेलमा धनगढीमाथि ७ विकेटको जित हात पारेसँगै बुटवल पनि प्लेअफमा सुरक्षित अवतरण गरेको हो । फ्रेन्चाइज ६ टिमबीच १५ खेलमा १ टिमले ५ खेल खेल्नुपर्नेछ । तर रनरेटको आधारमा दुबै टिम अंक तालिकाको अग्रस्थानमा रहँदै १ खेल खेल्न अगावै प्लेअफमा स्थान बनाउन सफल भएका हुन् ।

शीर्ष स्थानका लागि चितवनले पूर्ववत् विजय यात्रा कायम राख्यो । विराटनगरले टस जितेर ब्याटिङको निम्तो दिएको चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रनको योगफल बनाएको थियो । लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा १ ओभर नखेल्दै सबै विकेट गुमाएर १ सय २८ रनमै समेटियो । इनिङ्सको ओपनिङ नै सुधार गर्न नसकेको विराटनगरका ८ ब्याट्सम्यानले दोहोरो अंकको रन लिन नसक्नु चितवनको जितको कारण बन्यो ।

Advertisement

पछिल्लो ४ ओभरमा आरिफ शेख र सन्नी पटेलले चितवनका लागि स्कोर बढाएका थिए । आरिफले २२ बलमा अविजित ३९ रन बनाए । सन्नीले ८ बलमा ३ छक्का र १ चौकाको सहायतामा अविजित २७ रन बनाए । आरिफ र सन्नीले ५४ रनको साझेदारी गर्दै लक्ष्य बढाए ।

कप्तान पारस खड्काले ३८ बलमा ५ चौकाको सहायताले ३५ रन बनाएर मोहम्मद जियाद आलमको बलमा आउट भए । पारस आउट हुनुअघि बाबर हायतसँग ४७ रनको पार्टनरसिप रह्यो । बाबर २५ रन बनाएर किशोर महतोको बलमा आउट भएका थिए ।

ओपनर ब्याट्सम्यान रोहन मुस्ताफा १० बल सामना गर्दा ७ रनमै सीमित भए । अनिलकुमार साहले ३ रन बनाएर आउट भए ।

बलिङतर्फ जितेन्द्र मुखियाले ४ ओभरमा ५४ रन खर्चिएर १ विकेट लिए । मोहम्मद जियाद आलमले ४ ओभरमा ३० रन खर्चिदा १ विकेट लिए । पुनित मेहराले ४ ओभरमा १३ रन दिँदा १ विकेट झार्न सफल भए । साहब आलमले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिंदा विकेट भने झार्न सकेनन् । किशोर महतो ४ ओभरमा ३४ रन खर्चिदै १ विकेट लिन सफल भए ।

विराटनगरका लागि उत्कृष्ट अर्धसकीय पारि खेल्दै स्कोर उकासेका लोकेस बम ६२ रन बनाएर आउट भए । उनले ३६ बलमा ५ छक्का र ५ चौका प्रहार गरे । पुनित मेहरा र उनको साझेदारीमा विराटनगर चितनवसँग प्रतिस्पर्धी देखिए पनि प्रयास सफल भएन । सातौं विकेटका लागि लोकेश र पुनितले ७७ रनको साझेदारी गरे । पुनितले व्यक्तिगत २४ रन बनाएर आउट भए । नोमान खान १८ रनमा आउट भए ।

बलिङतर्फ चितवनका करण केसी र भुवन कार्कीले समान ३÷३ विकेट लिए । रोहन मुस्ताफा २ र सन्नी पटेलले १ विकेट लिए । म्यान अफ द म्याच भुवन कार्की चुनिए ।

दीपेन्द्रको अर्धसतकले धनगढीलाई जिताएन
टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा १ बल खेल्नुअघि सबै विकेट गुमाएर १ सय ४० रनको योगफल खडा गरेको थियो । बुटवलले १६.४ ओभरमा ३ विकेट गुमाएर उक्त लक्ष्य पूरा ग¥यो । ४ खेल खेलेको बुटवल ३ खेलमा जित हात पार्दै प्लेअफमा स्थान बनाउन सफल भयो ।

बुटवलका लागि ओपनर ब्याट्सम्यान अफ्ताबउद्दिन अहमदले अर्धसकतीय पारि खेले । उनले २३ बलमा ७ छक्का र १ चौकाको सहयोगमा ५२ रन बनाएर आउट भए । उनलाई दीपक पुनियाले विकेटकिपर सुबेन्दु पाण्डेको हातबाट क्याचआउट गराए । शंकर रानासँग अफ्ताबउद्दिनले ५३ रनको साझेदारीमा ओपनिङ इनिङ्स उकासेका थिए । शंकर व्यक्तिगत २५ रन बनाएर आउट भए ।

हर्ष टंकले २१ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा ४० रन बनाए । उनी ९.३ ओभरमा अनिल खरेलको बलमा दीपक पुनियाको हातबाट क्याचआउट भए । शिवम् सिंह र भीम सार्की क्रमशः १५ र ७ रनमा अविजित रहे । बलिङतर्फ धनगढीका अनिल खरेल २ र दीपक पुनियाले १ विकेट लिए ।

यसअघि धनगढीले कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धसतकीय पारीमा सर्वाधिक ६१ रनको सहयोगमा १ सय ४० रनको योगफल बनाएको थियो । तेस्रो ब्याट्सम्यानको रुपमा क्रिजमा उत्रिएका दीपेन्द्रले ४५ बलको सामना गर्दा २ छक्का र ६ चौका प्रहार गरे । उनी १७.३ ओभरमा अविनाश बोहराको बलमा शंकर रानाको हातबाट क्याचआउट भए ।

सन्दीप जोरा आउट हुनुअघि दीपेन्द्रसँग ८७ रनको साझेदारीमा धनगढीका लागि स्कोर बढाएका थिए । सन्दीपले ३९ बलमा व्यक्तिगत ३२ रन बनाएर रनआउट हुन पुगे । सौरभ खनाल १० रनमा आउट भए । धनगढीका ८ ब्याट्सम्यानले दोहोरो अंकको रन लिन सकेनन् ।

बलिङतर्फ बुटवलका अविनाश बोहराले ३.५ ओभरमा २६ रन खर्चिंदै ४ विकेट लिए । ललितसिंह भण्डारीले ३ विकेट झारे । सोमपाल कामीले १ विकेट झारे । नितेश थापा र हर्ष टंकले ४÷४ ओभरमा क्रमशः ३७ र २७ रन खर्चिएपनि विकेट लिन सकेनन् । म्यान अफ द म्याच अविनाश बोहरा चुनिए । पिपिएल अन्तर्गत सोमबार धनगढी र पोखराबीचको खेल साढे ११ बजे हुनेछ ।

तपाईको प्रतिक्रिया