‘सेतीखोला हाइड्रो २ वर्षभित्रै’

समाधान संवाददाता २०७६ पुष ८ गते १२:३२

समाधान संवाददाता
पोखरा

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भराभुरीमा निर्माण हुने सेती खोला जलविद्युत आयोजनाको सिभिल निर्माणतर्फको ठेक्का सम्झौता भएको छ । २५ मेगावाट क्षमताको आयोजना बनाउन बुटवलको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण कम्पनी रसुवा–लुना जेभीबीच काठमाडौमा ठेक्का सम्झौता भएको हो ।

सम्झौताामा भिजन लुम्बिनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण कम्पनीका कार्यकारी निर्देशक माधव आचार्यले हस्ताक्षर गरेका छन् । आयोजनामा स्थानीयवलाई पनि सेयर दिइने भएको छ । रसुवा–लुना जेभीले सिभिल निर्माणतर्फको ठेक्का १ अर्ब २० करोड रुपैयाँमा लिएको हो । २७ महिना सम्झौतामा उल्लेख भए पनि २ वर्षभित्रै निर्माण सम्पन्न गर्ने जनाएको छ ।

Advertisement

आयोजनाको लागत करिब ५ अर्ब छ । नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७५ मंसिर ६ गते विद्युत खरीद सम्झौता भइसकेको छ । आयोजनाबाट उत्पादित विद्युत् वर्षा याममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले किन्ने सम्झौता छ । १ हजारभन्दाको सामूहिक लगानीमा लुम्बिनी भिजनले आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड स्थापना गरेको हो । कम्पनीका अध्यक्ष पोखरेलले आयोजनाको नाफा बढीभन्दा बढी नागरिकलाई दिन यसो गरिएको बताए ।

आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिने योजना छ । उत्पादित विद्युत ६ किलोमिटर लामो प्रसारण लाइन बनाएर कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सबस्टेसनमा जोडिने योजना छ ।

Advertisement

रसुवा–लुना जेभीका कार्यकारी निर्देशक आचार्यले तोकिएको समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए । उनले अनुकरणीय आयोजना बनाउने उल्लेख गरे । इन्जिनियरिङको काम गरिरहेको हाइड्रो कन्सल्टका प्रमुख कार्यकारी अधिकृत मनोहरलाल श्रेष्ठले प्राविधिक तयारीमा कुनै कन्जुस्याइँ नगरिएको बताए । आयोजनाका प्रवद्र्धक बमबहादुर गुरुङले स्थानीयलाई विश्वासमा लिएर काम गराइने जनाए ।

तपाईको प्रतिक्रिया