राइड टु ताङतिङ

समाधान संवाददाता २०७६ पुष ८ गते १६:०२

दिवस गुरुङ

कात्तिक मसान्त । बेंसीमा धानको बाला लहलह छ । र त्यस्तै छ ।

बेसीमा पुरुषहरु धान बटुलेर कुनिऊ हाल्न व्यस्त थिए त महिलाहरु थुन्सेमा कोदो टिप्दै । छेवैमा मादी नदी सललल बगिरहेको थियो । घर छेउमै कोही भने खनजोतसगैं आलु र हिउँदे बाली लगाउनमा नै तल्लिन थिए ।

गाउँ पुगेसगैं केटाकेटी साइकलपछि पछ्याउन लागे । ‘ओइ गियर वाला साइकल, हेर्न आइजा त’ एकैछिनमा नै एक हुल बनाएँ उनीहरुले । म आउने पूर्व खबर पाएर होला १ जनाले त रोडैमा फूलमालाले मलाई स्वागत गरे । उनीहरुको न्यानो स्वागतले हराएजस्तै भो दिनभरको थकान, भोक अनि प्यास ।

ढुंगैको सिढी, ढुंगैको गारा । उस्तै सफा अनि चिटिक्क परेको बाटो । कुहिने र नकुहिने फोहोरलाई जम्मा गर्ने छुट्टै डस्टबिन बाटैमा । ‘ताङतिङ गाउँमा स्वागत छ’ लेखिएको ठुलो बोर्ड मुस्कुराइरहेको थियो । आखाँले देखुन्जेल घरैघर । मेरो आजको बास, होमस्टे सम्मै साइकल ठेल्न तछाडभछाड थिएँ उनीहरु । सगैं २÷४ वटा सेल्फी खिच्यौं । केही चकलेट दिएपछि उनीहरु आफ्नो घर लागे । होमस्टे अध्यक्ष पस माया गुरुङले अबिर अनि सयपत्री मालाले स्वागत गर्नुभयो ।

अस्ताउन लागेको सुर्यको किरणसगैं अन्नपूर्ण र लमजुङ हिमालसगैं पारि सिक्लेस गाउँ उस्तै लोभलाग्दो देखिन्थ्यो । साइकल अनि झोला बिसाउन नपाउदैं खाजा तयार भयो । मकै अनि तातो चिया । साझसगैं चिसिएको आङ नै तातो बनायो ।

ताङतिङ (१६८५ मिटर) गाउँ, करिब २ सय घर धुरी झुरुप्प भएको सुन्दर गाउँ । गुरुङको बाहुल्यता । मादी जलविद्युतले रातमा झलमल्ल गाउँ । उस्तै उज्याला र फरासिला ताङतिङे । केही समय अघिदेखि गाउँसम्म बाटो पुगेपछि गाउँले जीवन फेरिएको छ । बसमा काहुँखोलाबाट ३ घण्टाको यात्रा । बिहान ८, दिउँसो १२ अनि साझँ ४ बजे बस पाइने रहेछन् । पोखरा, चितवन र काठमाडौंबाट फर्की–फर्की घुम्न आइरहन्छन् पाहुना आजकल । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यस गाउँ घुम्न आजकल विदेशी पाहुनाको ओइरो लागेको छ ।

धार्मिक, सांस्कृतिक अनि प्राकृतिक रुपले सम्पन्न ताङतिङ गाउँ । स्याङजाको सिरुबारीबाट वि.सं २०५४ सुरुआत भएको ग्रामीण पर्यटन अर्थात् होमस्टे यहाँ २०६७ सालबाट सञ्चालन भयो । यो सगैं गाउँमा पर्यटनको क्षेत्र पनि फस्टायो । अहिले गाउँमा १६ वटा घरमा होमस्टे सञ्चालनमा छन् ।

थप ४ वटा होटलले पनि पाहुनालाई खाना बस्नको सुविधा दिइरहेका छन् । होम्स्टेमा हरेक दिनमा करिब ७०÷८०को हारहारीमा पाहुनालाई खाना बस्नको व्यवस्था हुन्छ । सबैलाई आर्थिक रुपले टेवा पुगोस् भन्ने हेतुले पालैपालो पाहुना राख्ने नियम बनाइएको छ । गाउँको अर्गानिक खाना, सिजन अनुहारको सागसब्जी, लोकल कुखुरा अनि उस्तै आतिथ्यता, विशेष लाग्छन् पाहुनालाई । फर्की–फर्की आउछन् गाउँमा पाहुना । गाउँको लोकल रक्सी (नारे पा) पनि पाहुनाले चाख्न पाउँछन् । त्यस रात मैले भने ढिडो पकाउन लगाएँ । लोकल कुखुराको झोल अनि कोदाको ढिडो, उस्तै स्वादिलो । दिनभरिको भोक मेटें ।

गाउँले खेती किसानी गर्छन् । बेसीमा कोदो, धान, आलु अनि तोरी फलाउँछन् । घर छेवैमा भने सिजन अनुसारको तरकारी र फलफुल पनि उब्जाउछन् । धेरै ब्रिटिस अनि इन्डियन लाहुरे । आजकल महिला बढी उद्यमी देखिन्छन् । विभिन्न समूहमा विभाजित उनीहरु गाउँमै फूलको बगैंचा बनाएका छन् । पाहुना स्वागत अनि सत्कारमा मात्र फूलको प्रयोग नगरी प्रति माला ५० रुपैयाँमा पोखरामा लगेर फूल बेच्छन् । महिला भांग्रा, राडी अनि बख्खु पनि बुन्छन् । पुरुष सेखु, डोको, थुन्से बेचेर पनि पैसा कमाउँछन् ।

साझँपख आमा समूहका आमा गुरुङ पोसाकमा तयार हुन्छन् । सांस्कृतिक कार्यक्रमको आयोजना हुन्छ । चिसो रातको प्रवाह नगरी अबेरसम्म पाहुना नाचगानमा रमाउँछन् । गाउँको स्थानीय भाका अनि गीत पनि पस्किन्छन् आमाहरु ।

घुम्न आउने आँखै अगाडि सेताम्ये अन्नपूर्ण श्रंखला अनि लम्जुङ हिमालको साथमा प्रसिद्ध सिक्लेस गाउँलाई धीत मरुन्जेल क्यामरामा कैद गर्छन् । गाउँबाट २ दिनमा पुगिने क्होलासोंथर गुरुङ जातिको उद्गम स्थल मानिन्छ । यहीबाट पछि उनीहरु कास्की, स्याङ्जा, तनहु हुँदै देशभर फैलिएको भन्ने बुझिन्छ ।

गाउँमा २ तले गुम्बा पनि छ । नौंचु पैगी लामा महायान बौद्ध गुम्बा । त्यहाँ गौताम बुद्ध, गुरु पद्यसम्भव र आर्य अवलोकितेश्वरका मूर्ति छन् । पर्यटक त्यहाँ पूजापाठ गर्न, बत्ती बाल्न र ध्यानमा बस्न सक्छन् ।

गाउँको सिरानमा गुरुङको कोइबा धि पनि छ । गुरुङ जाति आफ्नो जन्म मृत्यु र अन्य विशेष कार्य त्यही गर्छन् । सगैं सिजन अनुुसारको आर्कषक फूलको बगँंचा । गाउँबाट आधा घण्टा उकालो लागे नौजु डाँडा भ्यु प्वाइन्ट पुगिन्छ । बिहान पर्यटट त्यहाँबाट हिमाल अनि गाउँ हेर्दा मग्दमुग्ध हुन्छन् ।

१ दिनको बास गरेर गाउँ मज्जाले डुल्न सकिन्छ । गाउँको रीतिरिवाज, धर्म संस्कृति बुझ्न २÷४ दिन पनि पर्यटक यहीं रमाउँछन् । यहाँबाट पर्यटक हिडेरै सिक्लेस, याङ्जाकोट, मनाङ समेत पुग्छन् । गाउँको नजिकैको भिरमा भिर मौरी काटेको डकुमेन्ट्री बनाउन हरेक साल विदेशी आउँछन् । गाउँको १ मात्र भिर मौरी काट्ने नाइके अब आउने युवा पुस्ताले पनि सिकुन् भन्ने चाहन्छन् ।

हरेक साल चैते दसैं अनि ल्होसार मेलामा नजिकका गाउँ लगायत पोखराबाट पनि मेला हेर्न मानिसको घुइँचो लाग्दो रहेछ । होमस्टे अध्यक्ष पसमाया गुरुङ अझै धेरै आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन अर्गानिक खाना अनि स्थानीय नृत्यमा जोड दिन्छिन् । वर्खायाममा पनि गाउँसम्म गाडी चलाउन सकिए अझ धेरै पर्यटक भित्रिन्छन् भन्नेमा २ मत छैन । घरमा ताल्चा लागिएको छ । कति बसाइ सरेर पोखरा त काठमाडौं गइसकेका छन् । यो दर आगमी दिनमा नबढ्ला भन्न सकिन्न ।

साच्चै नै गाउँसम्मै पक्की बाटो, विदेश र शहर पलायन न्युनीकरणका साथै अर्गानिक खाना सगैं पाहुनालाई घाटु र सोरठी जस्ता स्थानीय नृत्य पस्काउन सकिए पर्यटन वर्ष २०२० मा पर्यटक फर्की–फर्की नआउलान् भन्न सकिँदैन । यसका लागि स्थानीय निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र लगायत गाउँलेको समयमै ध्यान पुर्‍याउने पो हो कि ?

अर्को दिन बिहान गाउँ एक फन्को मारेर आएँ । सुनेको र पढेको भन्दा पनि सुन्दर लाग्यो गाउँ । गाउँ अनि गाउँले परिवेशलाई धीत मरुन्जेल क्यामरामा कैद गरे । अर्गानिक खाना उस्तै मिठो । बिदाइका लागि फुलमाला र गुरुङ पोसाकमै उहाँहरु तयार हुनुहुन्थ्यो । ‘फेरि आउदैं गनुस् ल’ भनेर बिदाइसगैं म भने पोखरा लागें । मनमा भने ताङतिङको धीत भने अझै मरेको थिएन । फेरि पुग्नेछु ताङतिङ साइकलमा । म त पुगे अनि तपाईं नि ?

तपाईको प्रतिक्रिया