अवैध गर्भ लुकाउन शिशुको हत्या

समाधान संवाददाता २०७६ पुष ८ गते १६:०७

सुरेशराज अधिकारी
पोखरा

कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ तल्लो अस्तामकी विनीता परियार नवजात शिशु हत्या आरोपमा पक्राउ परेकी छन् । माछापुच्छ्रे गाउँपालिका ६ स्थित कर्णबहादुर परियारको तोरी बारीमा शिशुको शव फेला परेको थियो । उक्त शिशु विनीताको नै रहेको प्रहरीको दाबी छ ।

कसरी थाहा भयो घटना ?
५ गते बिहानै बाटोको नजिकै केही भागमा रगत देखिन्छ । सुरुमै देख्ने स्थानीयले गाउँमा पाडा वा अन्य जनावर काटेर खाएको शंका गर्छन् । गाउँले मासु नबाँडेको भन्दै होहल्ला गर्न थाले । त्यसपछि मासु नकाटेको निष्कर्ष त आयो तर बाटो छेउमा रगत कसरी भयो त ? स्थानीयले रगतवरपर हेर्न थाले । रगतभन्दा केही पर तोरीबारीको छेउमा खाल्डो भर्खर पुरिएको जस्तो देखिन्थो । स्थानीयले शंका गरी हेर्दा खनेर हेर्दा नवजात शिशुको शव देखे । सालनालसहित भेटिएको उक्त शिशु छोरी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

खाल्डोमा पुरिएको शिशु शव भेटिएपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरे । स्थानीयको सूचना अनुसार घटनास्थल पुगेको प्रहरीले शव भेटिएकोभन्दा लगभग १ सय मिटरमाथि घर भएकी अविवाहित युवती विनीतामाथि शंका गर्‍यो । परियार फरार थिइन् । फरार भएका कारण विनीतामाथि प्रहरीको शंका झन् बढ्यो ।

शव भेटिएको भोलिपल्ट पुस ६ गते आइतबार परियार आफैं जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर प्रहरीसमक्ष घटना स्वीकारेको प्रहरी स्रोतले बतायो । प्रहरीले नै परियारको ६ गते नै मेडिकल जाँच गरेको छ । स्रोतका अनुसार मेडिकल जाँचमा परियार सुत्केरी भएको पुष्टि भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार परियारले घटना स्वीकारेपछि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको छ ।

शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पोस्टमार्टम गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

को हो शिशुको बुबा ?
प्रहरीले अनुसन्धान अघि बढाए पनि अहिलेसम्म उक्त शिशुको बुबा को हुन् भन्ने खुलेको छैन । स्रोतका अनुसार परियारले नै बच्चाको बुबा चिन्न नसकेको बयान दिएकी छन् ।

परियार २ वर्ष पोखरा १ सिम्पानी बसेर कक्षा ११ र १२ पढेकी थिइन् । अहिले उनी घरमै बस्दै आएकी थिइन् । पोखरा बसेको बेला गर्भवती भएको परियारको बयान छ । तर गर्भ कसको हो भन्ने यकीन नभएको प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया