‘नागरिकलाई शिक्षकले सुधार्नु पर्छ’

समाधान संवाददाता २०७६ पुष ९ गते ११:५४

एसके थकाली
पोखरा

सामाजिक विकास मन्त्री नरदेवी पुनले असल समाज निर्माणमा शिक्षकको ठूलो भूमिका रहेको बताएकी छन् । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको मध्यावधि मूल्यांकन प्रतिवेदन २०१८ अन्तर्गत प्रदेश स्तरीय प्रबोधीकरण समीक्षा कार्यक्रममा मन्त्री पुनले शिक्षकलाई हौसला आवश्यक रहेको बताइन् ।

शिक्षाको गुणस्तर खस्किन थालेकामा चिन्ता व्यक्त गर्दै शिक्षकहरु पेसाप्रति जिम्मेवार रहन आग्रह गरिन् । मन्त्री पुनले शिक्षकलाई कामका आधारमा प्रोेत्साहन र दण्डको प्रावधानको नीति ल्याउन लागेको उल्लेख गरिन् ।

Advertisement

समाजमा शिक्षा क्षेत्रको सम्मान भए मात्रै समाज समृद्धि हुने मन्त्री पुनले धारणा राखिन् । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले मुलुक समृद्धि हुन भौतिक समृद्धिले मात्र पूरा नहुने बताए । उनले विद्यालयको शैक्षिक गुणस्तर उचाईमा पु¥याउन अभिभावक, शिक्षक र विद्यार्थीबीचको समन्वयकारी भूमिका महत्वपूर्ण हुने बताए ।

सरकार र अमेरिकी सहयोग नियोगको प्रारम्भिक कक्षा पढाई कार्यक्रम लोकप्रिय बन्दै गएको उल्लेख गर्दै सरकार एक्लैले कार्यक्रमलाई दिगो तुल्याउन नसक्ने बताए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका निर्देशक घनश्याम अर्याल, प्रोजेक्ट डाइरेक्टर नारायणकृष्ण श्रेष्ठ र इजिआरपि कास्की संयोजक कृष्ण खतिवडा, अभियानका अभियान्ता अभिषेक घिमिरे लगायतले बोलेका थिए ।

Advertisement

नेपालमा ६ अर्ब रुपैयाँको लगानीमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम सञ्चालन भइरहेको छ । पछिल्लो समय प्रारम्भिक कक्षा पढाई अन्तर्गत सरकारले ३ वटा पाटोबाट कार्यक्रम अघि बढाएको छ । प्रारम्भिक कक्षा पढाई हाल ३० जिल्लामा ४ चरण गरी लागु भएको छ ।

देशका विभिन्न क्षेत्रमा शैक्षिक गुणस्तर खस्किए पछि नागरिक सचेतनामार्फत् उपलब्धी हुने धारणा प्रस्तुत गरिएको थियो । ५ वर्षका लागि अमेरिकी सहयोग नियोग र सरकारले सन् २०१६ बाट यो कार्यक्रम लागु भएको छ । सन् २०१६ मा ६ जिल्ला, सन् २०१७ मा १० जिल्ला, सन् २०१८ मा ४ जिल्ला र चालु वर्ष १० जिल्ला थपिएको छ । कक्षा १ देखि ३ सम्म पढ्ने बालबालिकाका केन्द्रित नेपाली पठनसीप विकासका लागि कार्यक्रम लागु भएको हो ।

तपाईको प्रतिक्रिया