व्यवसायीलाई चिनियाँ भाषा तालिम

समाधान संवाददाता २०७६ पुष ९ गते १२:११

समाधान संवाददाता
पोखरा

पोखरा चेम्बर अफ कमर्स कास्कीले व्यवसाय प्रवद्र्धनका लागि उद्योगी व्यापारीका लागि निशुल्क चिनियाँ भाषा तालिम दिएको छ । तालिममा २० उद्यागी व्यवसायी सहभागी छन् । ३ महिनासम्म सञ्चालन हुने तालिममा सहभागीलाई विश्वास पालिखेले चिनियाँ भाषा प्रशिक्षण दिनेछन् ।

पोखरा चेम्बर कास्कीका अध्यक्ष किसान सुनारले संस्थाले ७०औं वर्ष प्रवेश तथा नेपाल भ्रमण वर्ष २०२० का अवसरमा पहिलो चरणको चिनियाँ भाषा तालिम सञ्चालन गर्ने बताए । उनले अंग्रेजी लगायत अन्य भाषा तालिम चलाउने बताए ।

Advertisement

‘चिनियाँ पर्यटकसँग भाषिक सम्पर्क बढाउन र व्यवसाय प्रवद्र्धन गर्न सघाउने छ,’ अध्यक्ष सुनारले भने, ‘नेपालका लागि चिनियाँ राजदुताबाससँग सहकार्य गरी एड्भान्स तालिमसमेत चलाउने तयारी गरेका छौं ।’ उनले काठमाडौं केन्द्रित चेम्बर २०७४ सालदेखि जिल्ला तथा नगरमा शाखा विस्तार गरेको बताए । अध्यक्ष सुनारले नेपाल सरकारको आर्थिक सल्लाहकारको रुपमा रहेको चेम्बरले उद्योगी व्यापारीको हक, हित र सरकारलाई नीतिगत सल्लाह दिएको उल्लेख गरे ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्की उद्योग तर्फका उपाध्यक्ष गीता तिवारीले चिनियाँ भाषा तालिमले व्यवसायको प्रवद्र्धन र व्यक्तिगत विकासमा सहयोग पुग्ने विश्वास गरिन् । चेम्बरले महिला उद्यमीलाई आत्मनिर्भर बनाउन सिलाइ कटाइ तालिम दिएको सुनाइन् । चेम्बरका वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेलले उद्योगी व्यापारीको क्षेत्रमा काम गर्ने संस्थाले व्यवसाय प्रवद्र्धनका लागि चिनियाँ भाषा तालिम चलाएको बताए । पोखरा चेम्बरका अन्तर्राष्ट्रिय विभाग प्रमुख रविबहादुर विकले निगता इन्टरनेसनल ल्याङ्ग्वेज एन्ड टे«निङ इन्स्टिच्युट प्रालिको प्राविधिक सहयोगमा तालिम चलाएको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया