खानेपानी संस्थानलाई एस्काभेटर

समाधान संवाददाता २०७६ पुष ९ गते १२:१६

समाधान संवाददाता
पोखरा

जाइकाको सहयोगमा पोखरा खानेपानी शुद्धीकरण आयोजनाको काम जारी छ । खानेपानी आयोजना अन्तर्गत हाज्मा आन्दो कर्पोरेसनले २ मिनी एस्काभेटर खानेपानी संस्थान पोखरा शाखालाई हस्तान्तरण गरेको छ ।

खानेपानी संस्थान पोखरा शाखामा मंगलबार भएको कार्यक्रममा हाज्मा आन्दो कर्पोरेसनको तर्फबाट प्रोजेक्ट म्यानेजर एचएसी र याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडको तर्फबाट हिरोमी सुनोजीले खानेपानी संस्थान पोखरा शाखाका प्रमुख इन्जिनियर आशीष कार्कीलाई एस्काभेटरको चाबी प्रदान गरे ।

Advertisement

नेपाल खानेपानी संस्थानले सन् २०१९ मार्च ४ मा गरेको आग्रह अनुसार हाज्माले सहयोग गरेको हो । नेपाल सरकारसँग भएको सम्झौता अन्तर्गत नै हाज्माले पोखरा महानगरभित्र पाइप लाइन विस्तार गर्न सहज हुने गरी सहयोग गरेको संस्थानले जनाएको छ । खानेपानी संस्थान पोखरा शाखा प्रमुख कार्कीले पोखरेली उपभोक्ताको हितमा संस्थान क्रियाशील भएर लाग्ने बताए । कार्कीले महानगरभित्रका साना गल्लीमा समेत पाइप लाइन विस्तार गर्दा खन्न तथा बाटो सम्याउन एस्काभेटर प्रयोग हुने बताए ।

हाज्माले आयोजना सम्पन्न गरेसँगै भित्री बाटो तथा घरमा पाइप लाइन विस्तारमा सघाउ पुग्ने मेकानिकल इन्जिनियर प्रवीणकुमार साहले जानकारी दिए । सभामा नेपाल खानेपानी संस्थान सेतीपारी तथा प्रस्तावित विजयपुर शाखाका कार्यालय प्रमुख इन्जिनियर राकेश गोइतले उपभोक्ता हितमा सर्भिस लाइन विस्तारमा यो सहयोगले ठूलो टेवा दिने बताए । गोइतले हाज्माले पाइप लाइन विस्तार गरेसँगै खानेपानी संस्थानले क्षेत्रगत आधारमा सेवा विस्तार गरिँदै लगिने बताए । संस्थानलाई टुल्स, क्याटलग तथा डोजर र इकुमेन्ट संस्थानको स्टोरमा दाखिला भएको पोखरा शाखाका स्टोर प्रमुख विष्णुप्रसाद रेग्मीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया