सिरकभित्रै भेटियो चिजाकाे शव

समाधान संवाददाता २०७६ पुष १० गते १२:००

सुरेशराज अधिकारी
पोखरा

माछापुच्छ्रे गाउँपालिका ५ पल्लो हुम्दी डाँडागाउँमा महिलाको हत्या भएको छ । ६३ वर्षीय चिजाकुमारी विकको रहस्यमय हत्या भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

२ दिनसम्म कतै नदेखिएपछि स्थानीयले मंगलबार चिजाको खोजी गरे । चिजाको घर अगाडि पुगेर फोन गर्दा मोबाइल बजेको सुनियो । मोबाइल बजेपछि झ्याल खोल्दा दुर्गन्ध बाहिरसम्म आयो । ढोका फोरेर मोबाइल बजेको कोठामा पुगेर हेर्दा स्थानीयले चिजाको लास भेटे । शव नजिकै रगत लागेको ढुंगा भेटियो । चिजाले लगाउने गरेका गहना पनि शवम थिएनन् ।

Advertisement

स्थानीयले हत्या भएको आशंका गरी प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीको नेतृत्वमा गएको टोलीले घटनाबारे अनुसन्धान गरेको छ । मृतकका आफन्त, स्थानीय र प्रहरीले हत्यामा चिजाकै पुरानो घरमा बस्ने छिमेकीलाई शंका गरेका छन् । घटनापछि ती छिमेकी फरार छन् ।

चिजा घरमा एक्लै बस्थिन् । उनको घरनजिकै उनकै छोराको घर र अर्काे एउटा पुरानो उनकै घर थियो । आइतबार बेलुका चिजा, उनका नाति र त्यो पुरानो घरमा बस्ने व्यक्ति चिजाकै घरमा बसेर गफ गर्दै थिए । बेलुका लगभग ९ बजे नाति आफूले पालेका माछा कुर्न भन्दै त्यहाँबाट निस्किए । चिजा र ती छिमेकी गफ गर्दै थिए ।

Advertisement

चिजाले आइतबार दिउँसो नै सोमबार छोरीको घरमा जाने योजना सुनाएकी थिइन् । तर उनी सोमबार छोरीको घरमा गइनन् । सोमबार बिहानै चिजाको घरमा बाहिरबाट नै चाबी लगाएको थियो । छोरीले चिजालाई फोन गरिन् तर फोन उठेन । आमाको फोन नउठे पनि छोरीले वास्ता गरिनन् । सोमबार न कसैले फोन गर्दा चिजासँग सम्पर्क भयो, न उनी कतै देखिइन् ।

मंगलबार दिउँसो चिजाका छिमेकी र आफन्त उनको घरमा पुगे । फोन गरे, घरभित्र चिजाको फोन बजेको सुनियो तर फोन उठेन । कोठाबाट दुर्गन्ध बाहिरसम्म आएको थियो । खराब घटना अनुमान गरेका छिमेकीले बेलुकापख ढोकाको चाबी खोले । मोबाइल बजेको कोठामा सिरक ओढेर मानिस सुतिरहेको देखियो । सिरक पन्छाउँदा शव देखियो । शवको केही ठाउँमा रगत लत्पतिएको थियो भने टाउकोमा चोट देखियो । टाउको ढुंगाले हानेको जस्तो देखिन्थ्यो भने कोठामा रगत लागेको ढुंगो पनि भेटियो । उनको शरीरमा कुनै गहना थिएनन् । आफन्तका अनुसार चिजाले कानमा र घाँटीमा गहना लगाएकी थिइन् ।

१ वर्षअघिको हत्या अझै रहस्यमै
गत वर्ष कात्तिक ११ गते राति माछापुच्छ्र‍े ८ खोरामुखकी ७९ वर्षीया कौशल्या गुरुङको हत्या थियो । गुरुङका हत्यारा प्रहरीले अझै समात्न सकेको छैन ।

चिजा र गुरुङको घटनास्थलमा धेरै समानता रहेको प्रहरी स्रोतको दाबी छ । चिजाको र गुरुङको हत्यास्थल भने करिब २ किलोमिटर टाढा छ । गुरुङको शव खाटामुनि भेटिएको थियो । दराजमा राखेको कपडा, थैली, तासीमा राखिएका भाँडाकुडा पनि छरिएका थिए । उनले लगाइका कुनै गहना भेटिएनन् । गुरुङको पोस्टमार्टम रिपोर्टमा घाँटीमा ५ औंलाको डाम र टाउकोमा चोट देखिएको छ ।
प्रहरी अनुसन्धान गरिरहेको बताउँछ । सोधपुछका लागि ३ जनालाई नियन्त्रणमा लिएर छाडिएको छ । गुरुङको हत्या भएको पनि २ दिनपछि थाहा भएको थियो ।

तपाईको प्रतिक्रिया