स्कुल बसले किचेर ज्यान गुमाएकी सरीताका २ बालिकाको पालनपोषण माग

समाधान संवाददाता २०७६ पुष १० गते १३:३३

समाधान संवाददाता
पोखरा

पर्वत कुस्मा १३ घर भई हाल पोखरा १७ बिरौटामा बस्दै आएकी २६ वर्षीया सरीता पौडेल (सुवेदी) को मंगलबार गाडीले किचेर ज्यान गयो ।

बालोदय बोर्डिङ स्कुलको ग१ख २४९९ नम्बरको बसले किचेर उनको ज्यान गएको छ । २ पटकसम्म पनि वार्ता बस्दा वार्ता निस्कर्षमा पुगेको छैन । मंगलबार बेलुका र बुधबार दिउँसो बसेको वार्ता निष्कर्षमा नपुगेपछि मृतकका आफन्तले विद्यालयको गेटमा नारा जुलुस गरेका छन् ।

Advertisement

मृतकका आफन्तले पौडेलेका २ छोरीलाई निशुल्क रुपमा पढाइदिने र पालपोषण गरिदिनुपर्ने माग राख्दै आएको पौडेलका दाजु केपी शर्माले बताए । उनले वार्तामा विद्यालय पक्ष गम्भीर नभएको भन्दै आमा गुमाएका बालबालिकालाई पढाइदिने र पाल्नुपर्ने माग परिवारजनले राखेको जानकारी दिए ।

चालक र परिचालकको असावधानीले सरीताले ज्यान गुमाउनु परेको प्रत्यक्षदर्शीको भनाइ छ । प्रत्यक्षयदर्शी घनाश्याम पौडेलका अनुसार उक्त घटनामा चालकको लापरबाही थियो । बालोदय स्कुलको बसबाट झर्ने क्रममा सरीता सोही बसले किचेर घाइते भएकी थिइन् ।

Advertisement

घाइतेलाई तत्काल उपचारार्थ फेवा सिटी अस्पताल लगियो । त्यहाँबाट पुनः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानले उनलाई मृत घोषणा गरेको हो । बालोदय स्कुलका संस्थापक दुर्गा पंगेनीले पीडित परिवारका लागि विद्यालयले के गर्ने भन्नेबारे छलफल जारी रहेको बताए ।

सधैंजसो छोरीलाई बस चढाएर उसैगरी बाइ गर्दै फर्किन्थिन्, सरीता । मंगलबार बिहान भने बसबाट झर्ने क्रममा खुट्टा चिप्लियो र उनी बसतिरै पछारिइन् । बस चल्नु र सरीता पछारिनु एकै पटकजस्तो भयो । जुन बस चढाएर सरीता झर्दै थिइन्, चिप्लिएर लड्दा त्यही बसमुनि परेर उनले ज्यान गुमाइन् ।

बालोदयमा सरीताले छोरीलाई भर्ना गरेकी थिइन् । बिरौटा बस्ने भएकाले पायक पर्ने स्कुलमा छोरीलाई पढाएकी थिइन्, सरीताले । पर्वतको कुश्मा खौला लाकुँरीदेखि सन्तानलाई राम्रो शिक्षा दिन सरीता पोखरा आएकी थिइन् । २६ वर्षीया सरीताले न घरको काखे छोरीलाई देख्न पाइन् न बस चढाएकी छोरीलाई भेट्न पाइन् । बसमा च्यापिएर उनको घटनास्थलमै ज्यान गयो । प्रहरीका अनुसार सरीताका श्रीमान २ वर्षअघि दुबई गएका थिए ।

बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी धरानका रविन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । घटनाबारे प्याब्सन, एनप्याब्सन, स्थानीय, प्रहरी र आफन्तबीच मंगलबार बेलुका र बुधबार दिउँसो छलफल भई पनि कुनै निष्कर्ष ननिस्केको सरीताका आफन्त हीरामणि सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया