डिकेएस मिनरल वाटर प्रालिमा तालाबन्दी

समाधान संवाददाता २०७६ पुष १० गते १३:३९

समाधान संवाददाता
स्याङ्जा

पुतली बजार नगरपालिका १ ताताखोलास्थित डिकेएस मिनरल वाटर प्रालिमा तालाबन्दी गरिएको छ । डिकेएसबाट उत्पादित युकी ब्रान्डको पिउने पानी परीक्षण गर्दा गुणस्तर अनुरुप नभएपछि स्याङ्जा प्रशासनले कम्पनीमा ताला लगाएको हो । युकी पानीमा दिशामा हुने कोलिफोम भेटिएको प्रशासनले जानकारी दिएको छ ।

पानी गुणस्तरहीन भेटिएपछि प्रजिअ रामबहादुर कुरुबाङको निर्देशनमा प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उज्वलबहादुर बस्नेतको टोलीले ताला लगाएको हो । टोलीमा बस्नेतसहित पत्रकार, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ प्रतिनिधि, सुरक्षाकर्मी थिए ।

Advertisement

२०६८ सालमा बनेको कम्पनीबाट उत्पादित ७८ कार्टुन पानी, ६७ बन्डल खाली बोत्तल, ६ वटा खाली जार र मेसिनरी प्लान्टलाई सिल गरिएको प्रशासनले जनाएको छ । गतवर्ष कात्तिकमा हातले पानी भरेको भेटिएपछि प्रशासनले ताला लगाएको थियो । सिलपश्चात कम्पनीले बोत्तलमा ढक्कन लगाउने मेसिन ल्याएको थियो ।

कम्पनीमा सिलपश्चात कम्पनी मालिक हरिप्रसाद श्रेष्ठले कम्पनी खोल्न र पानीको पुन परीक्षण गर्न प्रशासनमा पुनरावेदन गर्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया