मुस्ताङ देखाउन पोखरामा चित्रकला प्रदर्शनी

एसके थकाली
पोखरा
लोमान्थाङ गाउँपालिका छोसेरका युवा छिरिङ फेन्जो गुरुङले नेपाल भ्रमण वर्षको अवसरमा पोखरा लेकसाइडमा बुधबार एकल चित्रकला प्रदर्शनी गरेका छन् । मुस्ताङ चिनाउने ४३ वटा चित्र ग्यालरी समावेश गरी एउटै कोठाभित्र समग्र मुस्ताङको मौलिकता छिरिङले उजागर गर्न भ्याए ।
प्रदर्शनीको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । उनले भिजिट नेपाल २०२० सन्दर्भ पारेर पर्यटन प्रवद्र्धनका लागि छिरिङले चित्रकारिताको माध्यमबाट प्रशंसनीय कार्य गरेको बताए । ‘युवा देशको समृद्धिका अनुयायी हुन् । युवाकै ऊर्जाले मुलुक समृद्धिको दिशातर्फ अघि बढ्ने हो,’ मुख्यमन्त्री गुरुङले भने, ‘अब मुस्ताङका युवा स्थानीय स्तरमै रहेर मुस्ताङको विकासमा जुट्न आवश्यक छ । विदेशिएका युवा गाउँ फर्कनुपर्छ ।’
नेपालमा राजतन्त्र हटेपनि मुस्ताङ चिनाउने ऐतिहासिक दुर्लभ राजतन्त्रको चिनारी रहेको उल्लेख गर्दे मुख्यमन्त्री गुरुङले उपल्लो मुस्ताङको ऐतिहसिक राजदरबारलाई राष्ट्रिय संम्पदाको रुपमा संरक्षण र विकास गरिनु पर्नेमा जोड दिए ।
सरकारले हिमाली क्षेत्र र तिब्बतबीचको सम्बन्ध बिस्तार गर्न चाहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले यसका लागि हिमाली क्षेत्रसँग नाका जोडिने सडक लगायतका पूर्वाधार विकासमा १ अर्ब युयान अर्थात् करिब १५ अर्ब रुपैयाँ सहयोग गरेको जानकारी दिए ।
मुख्यमन्त्री गुरुङले फरक प्रसंगमा उपल्लो मुस्ताङका लागि पर्यटन रोयल्टी घटाउन प्रदेश सरकारले केन्द्रसँग छलफल अघि बढाएको जानकारी दिए । उनले मुस्ताङमा हुने गतिविधि दुनियाँलाई प्रष्ट भएको उल्लेख गर्दे अब त्यहाँ रोयल्टी लगाउनुको कुनै अर्थ नभएको स्पष्ट पारे । उनले गण्डकी प्रदेशले दूरदराजका गाउँगाउँमा सौर्यऊर्जा, विद्युत, स्वास्थ्य, खानेपानी, शिक्षा र सिँचाइको पहुँच पु¥याउन कार्यक्रम ल्याएको बताए ।
संघीय सांसद प्रेमप्रसाद तुलाचनले मुस्ताङको समृद्धि र विकासका लागि जनप्रतिनिधि अहोरात्र जुटेको बताए । सांसद तुलाचनले सडक र नाका सञ्चालनपछि मुस्ताङमा आर्थिक स्वरोजगारका अवसर सिर्जना हुने जनाए । सांसद तुलाचनले मुस्ताङको पर्यटन विकास, कृषि र पूर्वाधार विकासका लागि संघ तथा प्रदेश सरकारबाट मनग्ये बजेट विनियोजन भई काम अघि बढेकाले युवाहरु स्वदेशमै बसेर केही गर्न सक्ने उल्लेख गरे ।
कार्यक्रममा लोमन्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टले छिरिङ फेन्जो गुरुङ उपल्लो मुस्ताङको १ उदाहरणीय प्रतिभा भएको मात्र भएको सुनाए । जिसस मुस्ताङकी प्रमुख छिरिङ ल्हामो गुरुङले मुस्ताङी युवा विदेश पलायन भइरहेकोमा चिन्ता व्यक्त गरिन् । उनले चालु वर्षमात्रै मुस्ताङमा ७ सय जनाले राहदानी बनाएको उल्लेख गर्दै युवा पलायनले जिल्लाको विकासमा क्षति पुगेको बताइन् ।
मुस्ताङको धार्मिक, सांस्कृतिक, प्राकृतिक र रहनसहन भेषभूषा मौलिक रुपमा चित्रमा उतार्न गुरुङ दख्खल छन् । उनले पुराना थुर्तेन, गुम्बा र लुङुता आदि लगायतमा पेन्ट गर्छन् भने दृश्य हेरेर सहजै ल्यान्ड स्केप चित्र कोर्न सक्छन् । यसअघि काठमाडौंमा उनले एकल चित्रकला प्रर्दशनी गरेका थिए भने उपल्लो मुस्ताङको लोमन्थाङ महोत्सवमा दोस्रो चित्रकला प्रर्दशनी गरेका थिए । पोखरामा उनको चित्रकला प्रदर्शनी शुक्रबारसम्म चल्नेछ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया