अतिथिलाई रुपाको कोशेलीः काठको ठेगी, तिख्खर मह

समाधान संवाददाता २०७६ पुष १० गते १६:०९

अमृत सुवेदी
पोखरा

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा भ्रमणका क्रममा गएको कात्तिक २८ गते रुपा गाउँपालिका पनि पुगे । रुपाकोट देखिएको हिमाल र प्रकृतिले चकित हुँदै फर्किने बेला रुपा गाउँपालिकाले दिएको उपहारले राष्ट्रपति हमिदलाई नौलो अनुभूति थप्यो । राष्ट्रपति हमिदलाई गाउँपालिकाले परम्परागत ठेकी उपहार दिएको थियो ।

गाउँपालिकाले राष्ट्रपतिलाई दिने कोशेली किन ठेकी नै रोज्यो त ? अध्यक्ष नवराज ओझाले यसको गुत्थी खोले । ‘मानव सभ्यतासँगै विकास भएको पुरानो पेशमा ठेकी बनाउने पनि मानिन्छ । रुपा गाउँपालिकामा चँदरा जातीले १५ सय वर्षअघिदेखि यो पेशा गर्दै आएको पाइयो,’ अध्यक्ष ओझाले भने, ‘पहिलो त यो मौलिक र स्थानीय उत्पादन हो । अर्कोतर्फ स्थानीय उत्पादनले मूल्य र प्रोत्साहन पायो ।’

गाउँघरमा बनाइएको ठेकीको इतिहास बताएर गाउँपालिकाले उपहार दिँदा राष्ट्रपति खुसी भए । कोठामा सजाएर राख्ने बताउँदै राष्ट्रपति हमिदले सुरक्षित राख्न सहयोगीलाई अह्राए ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा भ्रमणका क्रममा

यो त एउटा उदाहरणमात्रै हो । कुनै कार्यक्रम होस् वा सभा समारोह या कुनै प्रभणमा पुग्ने अतिथि वा पाहुनालाई रुपा गाउँपालिकाले यस्तै मौलिक र स्थानीय उत्पादन कोशेली लिने चलन चलाएको छ । पाहुनाका निम्ति रुपाको कोशेली हुन्छ, कहिले ठेकी त कहिले तिख्खर मह । कहिले अनदीको चामल त कहिले गाउँमै बनाइएको घ्यू कोशेली दिइन्छ ।

सहरबाट बनिबनाउ र आयातित सामानमा लेखेर मायाको चिनो उपहार दिने चलनलाई हटाउँदै गाउँपालिकाले स्थानीय उत्पादन, मौलिक तथा माटोसँग जोडिने र परम्परा झल्किने कोशेली दिने गाउँपालिकाले नीति नै लिएको छ । गाउँपालिकाले हालै कार्यपालिकाको बैठकले स्थानीय उत्पादन र बस्तुमात्र कोशेलीका रुपमा दिने निर्णय नै गरेको छ । गाउँपालिकाको आठौं कार्यपालिका बैठकले यस्तो निर्णय गरेको अध्यक्ष ओझाले जानकारी दिए ।

गाउँदेखि सहरसम्म चलन बसिसक्यो, पाहुना वा अतिथिलाई मायाको चिनो दिने । अचेल कार्यक्रम आयोजकले दिने मायाको चिनो प्राय एउटै प्रकारको देखिन्छ । विभिन्न आकार र शैलीमा बनाइएका अधिकांश पहेंलो रङ पोतिएको फ्रेममा मायाको चिनो लेखेर दिने परम्परा नै बसिसकेको छ । झुण्डाउने वा टेबलमा राख्ने खालका मायाको चिनो आयोजकले सम्मानका साथ दिए पनि त्यो सजाउनेबाहेक रुपमा प्रयोगमाा आउँदैन ।

मायाको चिनोका रुपमा गाउँ सहरका अधिकांश कार्यक्रममा दिइने उपहार अधिकांश बाहिरबाटै आउँछन् । ‘मायाको चिनोका रुपमा दिइने सामाग्री अधिकांश चीनबाट आउँछ । सामान्य प्रेम बनाउने र लेख्ने काममात्रै यहाँ हुन्छ,’ मायाको चिनो बनाउने काम गरिराखेको पोखरा क्रियटिभ हाउसकाका रामकृष्ण पौडेलले भने, ‘प्लाइमा प्लास्टिक वा स्टिल टाँसेर पहेंलो रङ लगाइएका सामाग्री धेरै जान्छन् भने केही झुम्कावाल र हेर्दा आकर्षक देखिने सामाग्री मायाको चिनोका रुपमा दिने चलन छ ।’

यसरी सहरबाट सामान ल्याएर उपहार दिँदा उपयोगी पनि नभएको र पैसा पनि बाहिर गएको रुपा गाउँपालिकाले मनन गर्‍यो । अनि गाउँपालिकाले निर्णय गर्‍‍यो, मायाको चिनो होइन कोशेली भन्ने र त्यो स्थानीय उत्पादन नै दिने । ‘बाहिरबाट ल्याएर मायोको चिनो दिँदा प्रभावकारी देखिएन । एउटा कलश उपहार दिँदा ५ हजार रुपैयाँसम्म खर्च लाग्ने देखियो,’ अध्यक्ष ओझाले भने, ‘त्योभन्दा एउटा कलश उपहार दिने पैसाले मह उपहार दिँदा ५ जनालाई दिन पुग्ने र स्थानीयले मूल्य पनि पाउने भएपछि हामीले निर्णय नै गर्‍यौं ।’

गाउँपालिकाले २ वर्षदेखि नै स्थानीय उत्पादन उपहार दिने चलन बसाएको थियो । तर, गाउँपालिकाभित्र हुने अन्य कार्यक्रममा पनि स्थानीय उत्पादन नै कोशेली लिने परम्परा बसाल्न कार्यपालिकाले नै निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेलले जानकारी दिए ।
गाउँमा कुनै कार्यक्रम वा सभा समारोहका अतिथिलाई मह, ठेकी, चालम वा पिठो के दिने हो निधो गरेर गाउँपालिकाले गर्दा स्थानीयबाट खरिद गर्छ । आइतबार रुपा गाउँपालिकाका स्वाथ्य चौकी र ३ वटा विद्यालय मर्ज गरेर बनाइएको भवनको उद्घाटन थियो । त्यो कार्यक्रमका अतिथिलाई गाउँकै उत्पादित मह कोशेली दिइयो ।

महका लागि ख्याति कमाएको हंशपुरका किसान राजेन्द्र न्यौपाने र चित्रबहादुर घर्तीले उत्पादन गरेको मह गाउँपालिकाले खरिद गरेर उपहार दिँदा किसान पनि खुसी देखिए । ‘गाउँपालिकाले नै कार्यक्रममा मह उपहार दिन थालेपछि हामीलाई पनि राहत भएको छ । गाउँबाटै मह बिक्री हुने भयो,’ किसान राजेन्द्रले भने, ‘अर्गानिक मह भएकाले धेरैको रोजाइ पनि हुन थालेको छ ।’

सरकारका मन्त्रीदेखि नेता र र्साजनिक पद तथा ओहदामा भएका व्यक्तिहरु दिनहुँ कार्यक्रममा सहभागी हुन्छन् । कार्यक्रममा पाउने मायाको चिनो सजाउनेबाहेक अरुमा प्रयोग नहुने अवस्थामा रुपाले लिएको नीति अरुले पनि सिक्नुपर्ने संघीय सांसद खगराज अधिकारी बताउँछन् । ‘आयोजकले बडो प्रेमले मायाको चिनो दिन्छन् । त्यसलाई न लिन्न भन्न सकिन्छ न अधिकांश ल्याएर कहिल्यै उपयोगमा आउँछन् । दराज, शोकेर, घरका भित्ता भरिन्छन् । कति त पोको नै पारेर राख्नुपर्छ,’ संघीय सांसद खगराज अधिकारी भन्छन्, ‘मायाको चिनो दिने प्रचलनलाई अब परिमार्जन गर्न जरुरी छ ।’

स्थानीय सरकारले उत्पादन बढाउने र त्यसलाई बजारसँग जोड्ने काममा पनि रुपाको यो नीति उपयोगी भएको उनको भनुभव । अतिथिलाई सहयोगमा आउने, स्थानीयले उत्पादनको मूल्य पनि पाउने र थप व्यावसायिक हुन प्रोत्साहन गर्न रुपा गाउँपालिकाले यस्तो नीति लिएको हो ।

रुपा गाउँपालिकाले कार्यक्रमा लगाइने माला, खादा, ब्याजमा पनि स्थानीय उत्पादनलाई नै जोड दिने निर्णय नै गरेको छ । खादा, माला, ब्याजजस्ता आयातित बस्तुको निरुत्साहित गर्दै स्थानीय उत्पादनलाई प्रयोग गर्ने नीतिलाई आत्मसात गरिएको अध्यक्ष ओझाले बताए ।

तपाईको प्रतिक्रिया