‘लिग भइरहे खेलमा सुधार आउँछः लाेकेश बम

समाधान संवाददाता २०७६ पुष ११ गते १४:५५

विकास रोकामगर
पोखरा

धनगढीका लोकेश बम ‘टेनिस बल’ खेल्न थाल्दा भर्खर ९ वर्षका थिए । साथीभाइसँग मिलेर ब्याटले क्रिकेट हिर्काउन पाउँदा खुसीको चुली दोब्बर अग्लिन्थ्यो । त्यतिबेलै अनुभूत गरे, ‘क्रिकेट खेल्दा त मजा हुने रहेछ । अब दिनदिनै खेल्छु ।’

बम सुरुमा क्रिकेट खेल्दा परिवारले कुनै रोकतोक गरेनन् । तर, जब क्रिकेटको रस उनीमा फैलिँदै गयो । उमेर पनि बढ्दै गयो, परिवारले निको मानेनन् । उनको परिवारलाई लाग्थ्यो, ‘दिनभरि खेलेर हुन्छ ? खेलेर के पाउँछस् ?’ उनले परिवारको सुझाव त सुने तर आफूमा लागु गरेनन्, खेलिरहे ।

Advertisement

सन् २०१४ मा जब नेपालले टि–२० विश्वकप खेल्ने मौका पायो । त्यही बेलादेखि आफू झनै क्रिकेटमा आकर्षित भएको बम सुनाउँछन् । ‘विश्वकपमा नेपाल खेल्दै गर्दा म घरमै बसेर हेरिरहेको थिएँ । त्यसपछि नै मैले पनि क्रिकेटमै लागिरहनुपर्छ भन्ने मनमा आयो,’ उनी सुनाउँछन्, ‘त्यसपछि नै हो मलाई क्रिकेटलाई पनि एउटा लक्ष्य बनाउन सकिन्छ भन्ने लागेको ।’

अहिले बम यु–१९ राष्ट्रिय टोलीबाट ‘ब्याट्सम्यान’ बनेर मैदानमा उत्रन्छन् । र यो यात्रा करिब एक वर्ष भइसकेको छ । ‘लखनाउमा इन्डिया, अफगानिस्तान लगायत देशसँग एउटा सिरिज थियो । त्यही सिरिजबाटै मेरो पहिलो राष्ट्रिय खेलको सुरुआत भयो,’ उनी सुनाउँछन् ।

Advertisement

जारी पोखरा प्रिमियर लिगमा उनी विराटनगर टाइटन्सबाट खेलिरहेका छन् । उनी आबद्ध विराटनगर टाइटन्स फाइनल यात्रा सुरक्षित गरेको छ । बिहीबार भएको खेलमा बुटवल ब्लास्टरलाई २१ रनले पछि पार्दै फाइनल प्रवेश गरेको हो । फाइनलमा उपाधिका लागि विराटनगरले चितवन राइनोजसँग भिड्ने छ ।

जारी पिपिएलमा चितवनसँग विराटनगरको भेट भने नयाँ हुने छैन । यसअघि पुस ६ गते भएको समूह चरणको खेलमा दुवै टिमले एक अर्कालाई छामिसकेका छन् । जसमा राइनोजले विराटनगरलाई १८ रनले पछि पारेको थियो । फाइनलमा फेरि दुवै टिम भिड्दै छन्, कसको प्रदर्शन कस्तो ? त्यो भने हेर्न बाँकी छ ।

पुस ६ गते भएको खेलमा युवा ब्याट्सम्यान लोकेश बमले आक्रामक ब्याटिङ गरेका थिए । ३६ बलमा अर्धसतक (६२ रन) बनाएका उनले त्यसपछि सबैको आँखामा पर्न सफल भएका थिए । उनले अर्धसतकका लागि ५ चौका र ५ छक्का प्रहार गरेका थिए ।

फ्रेन्चाइज पिपिएलमा उनको यो डेब्यु अनुभव हो । चितवन राइनोजविरुद्ध राम्रो ब्याटिङ गरेका उनले त्यसपछिका खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । ‘आफ्नो शतप्रतिशत दिइराखेको छु । तर, त्यसपछिका खेलमा राम्रो गर्न सकेको छैन,’ उनी स्वीकार्छन्, ‘यहाँ राम्रो गरें भने राष्ट्रिय टिमका लागि पनि मलाई फाइदा नै पुग्थ्यो ।’

तर, टिमको सुधारिएको पक्षमा भने बम सन्तुष्ट छन् । भन्छन्, ‘टिमका सबै खेलाडीले आफ्नो हन्ड्रेड प्रसेन्ट दिइराख्नु भएको छ । सबैको कम्बिनेसनले नै टिम फाइनलमा पुगेको हो ।’ उनी नेपालमा धेरैभन्दा धेरै लिग भए खेलाडी व्यस्त भइरहने र खेल प्रदर्शनमा पनि सुधार आउने बताउँछन् ।

तपाईको प्रतिक्रिया